स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील छ। स्वास्थ्यका पठनपाठन अत्यन्त जटिल छन्। पढ्दा र अभ्यास गर्दा प्रयास र मिहिनेत अथाह गर्नुपर्छ। स्वास्थ्यकर्मीले आफ्ना जीवनका महत्वपूर्ण क्षणलाई पनि समय नदिई कर्मथलोमा खटिनुपर्ने बाध्यता छ।
हरेक कामका फाइदासँगसँगै बेफाइदा पनि हुन्छन्। औषधिका इफेक्ट हुन्छन् भने साइड इफेक्ट पनि हुन्छन्। स्वास्थ्यकर्मीले गरेका सबै उपचार सफल नै हुन्छन् भन्ने पनि छैन। कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीले आफूले गरेको उपचार असफल होस् भन्ने चाहँदैनन्।
जीवनको ऊर्जाशील समयमा किताबका ठेली समातेर दिनरातको मिहिनेतपछि सफलता प्राप्त गरेको एउटा डाक्टरले बिरामीको जीवन बचाउन सकियोस् भन्ने नै चाहन्छ। बिरामीको सफल उपचार गर्न लागिपरेको डाक्टर कसैको मृत्युको कामना गर्न सक्दैन।
पछिल्लो समय उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अस्पताल तोडफोड गर्ने र डाक्टरमाथि नै हातपात गर्ने घटनाक्रम बढेर गएका छन्। वास्तविकता नै नबुझी यस्ता खालका हिंसामा उत्रिनु कदापि कानुनसम्मत् हुन सक्दैन।
कहिंकतै डाक्टर वा स्वास्थ्यकर्मीबाट गल्ती भएकै रहेछ भने कानुनी उपचार खोज्ने हो, हिंसा होइन। मरेर गएको आत्माले पनि आफ्ना कारणले हिंसा र तोडफोड होस् भन्ने चाहँदैन होला।
स्वास्थ्यकर्मीको लापरबाही मुत्युको कारण हो भने कानुनी लडार्इं लड्ने अधिकार सबैमा छ। साँच्चै गल्ती गरेकै रहेछ भने स्वास्थ्यकर्मी पनि सजायको भागिदार हुनै पर्छ। अस्पताल तोडफोड गरेर अरु धेरै बिरामीलाई उपचार पाउनबाट बञ्चित गर्नु अपराध होइन र?
मुलुकमा व्याप्त कुशासन, अन्याय, कानुनको कमजोर कार्यान्वयन र नेतृत्वको पछौटे मानसिकताका कारण दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढ्दै छ। मान्छे मार्ने सवारी चालकलाई छुट अनि बिरामी बचाउन प्रयास गर्ने स्वास्थ्यकर्मीलाई अपराधी सावित गर्न खोज्ने वातावरण कसैलाई पनि मान्य हुँदैन।
उपचार हुँदाहुँदै आफन्त गुमाउनुपर्दाको पीडा आफ्नो ठाउँमा छ तर बिरामीको मृत्युको कारण नै नबुझी स्वास्थ्यकर्मीलाई दोष लगाउनु ठिक होइन। यस्ता घटनामा कानुनी उपचार खोज्नु ठिक होला।
यस्तै वातावरण रहिरहने हो भने सामान्य रुघाखोकी र ज्वरोको उपचार बाहेक चरफार तथा जटिल रोगका उपचार कुनै पनि चिकित्सकले गर्ने छैनन्। धेरैभन्दा धेरै दक्ष जनशक्ति विदेसिने छन्। अनि एउटा सामान्य शल्यक्रियाका लागि पनि विदेश धाउनुपर्ने बाध्यता नआउला भन्न सकिँदैन।
-(बगाले यति हेल्थ साइन्स एकेडेमीकी लेक्चरर हुन्)