खबरदार!!!
सपनाको रंगिन घुम्टो ओढेर
अराजक यो सहरमा
मेडिकल पेसाको अस्मिता
हरण गर्नेहरू खबरदार।
खालमा सुताएर बिरामी
जोक्कर सत्ताको शरण
पर्नेहरु खबरदार।
हजारौं मेडिकल विद्यार्थीहरू
जुर्मुराउँदैछन्
संसदमा बसेर र्याल चुहाउने
व्यापारी सांसदहरू खबरदार।
क्षय रोगले तड्पिन्छन् बाबा,
सुत्केरी व्यथामा थलिन्छिन् आमा,
ज्वरो आउँदा
सिटामोल नपाएर
कल्कलाउँदो गुलाफ ओइलिन्छ
घाटहरूमा;
कहाँ छौ सरकार?
कतै परेवाको भुटुवा खाँदै
शान्तिको गीत त गाइरहेका छैनौ??
किन सरकार???
जीउभरि गिद्धलेझैं ठुँगिरहन्छन्
विद्यार्थीलाई यी मेडिकल माफियाहरु।
किन सरकार???
तिमी बिछ्याइरहन्छौ
तिनै माफिया हिँड्ने हरेक पाइलामा
आफ्नै मुलायम हत्केलाहरु।
साँच्चै सरकार
कतिन्जेल बध गर्छौ??
डाक्टरी पढ्ने भ्रूण सपनाहरू
आफ्नै बधशालामा।
साँच्चै सरकार
कतिन्जेल नाच्छौ??
तर्साउने मुर्कुटाको माला लगाएर
विद्यार्थीको छातीमा।
श्राप त लाग्छ लाग्छ
सेतो एप्रोनको गोजीमा
कालो धन थुपार्नेलाई!!
श्राप त लाग्छ लाग्छ
डाक्टरी सपना देखाइ
विद्यार्थीको घाँटी अठ्याउनेलाई!!
श्राप त लाग्छ लाग्छ
जाजरकोटमा झाडापखाला फैलिँदा
महलमा ह्वस्की बगाउनेलाई!!
श्राप त लाग्छ लाग्छ
बिरामी देश लुटेर
पैसामा ब्रह्मलुट गर्ने माफियाहरूलाई!!!
युद्धमा रगत बगाएर होइन
म एक थोपा रगत,
रोगीलाई जीवनदान गरेर
मृत्युसँग जुधेकालाई
अमृत रस पिलाउँदै
दुःखको घाउ सिलाउँदै;
भोकको जुलुसमा
आमरण अनसनको पेस्की थमाउँदै;
आकाशबाट खसालिने औषधिका मिसाइलहरू सँगै
म गाउँ गाउँ स्वस्थ बनाउँदै हिँड्छु!!
म टोल टोल स्वस्थ बनाउदै हिँड्छु!!
माफियाहरुका विरुद्ध लड्दै हिँड्छु!!
खबरदार!!
चोरलाई चौतारी र
साधुलाई सुली चढाउने
मतियारहरू खबरदार।
समाजवादको चोली र
मार्क्सवादको फरिया लगाएर
सिंहदरबारमा आइटम डान्स मच्चाउनेहरू
खबरदार!!
ए!माफियाको आहालमा
चुर्लुम्म डुबेको सरकार
पुरानो चस्मा बदलेर त हेर!
हजारौं मेडिकल विद्यार्थीहरू
सडकमा आइसके
सगरमाथाले विगुल फुकिसक्यो।
ए!धुस्खोरी चम्चेमाफियाहरू
जाऊ जाऊ लुक
आफ्ना दुलाहरूमा
घामले पाइला टेकिसक्यो।
०००