माननीय स्वास्थ्य मन्त्रीज्यू,
कागजमा लेखिएका नीति र भाषणका शब्दहरूभन्दा धेरै फरक हुन्छ, एक बिरामीको छटपटाहट, कुरुवाको थकित ज्यान, र आशा बोकेर लाइनमा उभिएको त्यो साधारण नागरिकको प्रतीक्षा। जबसम्म तपाईं आफैं कुनै सरकारी अस्पतालमा आफ्नो परिचय लुकाएर, कुनै सहयोग वा सिफारिस बिना, एक सामान्य सेवाग्राहीझैँ सेवा लिनुहुन्न, त्यो वास्तविकता तपाईंले महशुस गर्न सक्नुहुन्न।
एक दिन होइन, एक–दुई दिनका लागि आउनुहोस्। भीडभाडको बीचमा उभिनुहोस्। बिहानैदेखि लाइन बस्नुहोस्। डाक्टर भेट्न पालो कुर्नुहोस्। जाँच गराउनुहोस्, रिपोर्ट कुर्नुहोस्, अनि फेरि त्यो रिपोर्ट देखाउन अर्को लाइनमा बस्नुहोस्। त्यो थकान, त्यो अन्योल, त्यो प्रतीक्षामा लुकेको पीडा, एकपटक आफैं महसुस गर्नुहोस्।
त्यहाँ तपाईंले केवल बिरामीहरू मात्र देख्नुहुने छैन, तपाईंले सपना देख्नुहुनेछ, जीवन बचाउने आशामा टाढा–टाढाबाट आएका मानिसहरूको। रुकुम, रोल्पा जस्ता दुर्गम ठाउँबाट राजधानीसम्म आइपुगेका ती अनुहारहरूलाई नजिकबाट हेर्नुहोस्। उनीहरू किन यहाँ आउन बाध्य भए? उनीहरूका कुरुवाहरूले कस्तो संघर्ष गरिरहेका छन्? एउटा अपरेशनका लागि महिनौँ कुर्नुपर्ने बाध्यता किन छ? जाँच र रिपोर्टका लागि यति धेरै समय किन लाग्छ?
किन बिरामीहरू निराश हुँदै गएका छन्? किन आफ्नै देशमा सम्भव उपचार हुँदाहुँदै पनि भारत वा सिंगापुर जान बाध्य छन्? किन सरकारी अस्पतालप्रति विश्वास घट्दै निजी अस्पतालतिर धकेलिएका छन्? र सबैभन्दा गहिरो प्रश्न- पैसा नभएका बिरामीले आफ्नो जीवन कसरी जोगाइरहेका छन्?
यी प्रश्नहरूको उत्तर कागजमा भेटिँदैन, मन्त्रीज्यू। यी उत्तरहरू त केवल अनुभूतिमा भेटिन्छ, त्यो अनुभूति, जसले हृदयलाई हल्लाउँछ, आँखालाई भिजाउँछ, र परिवर्तनको आवश्यकता आत्माबाट महसुस गराउँछ।
जब तपाईंले त्यो पीडा, त्यो आशा, त्यो संघर्ष आफैंले देख्नुहुन्छ- त्यसपछि मात्र स्पष्ट हुन्छ, कहाँ सुधार गर्नुपर्छ, के थप्नुपर्छ, र के परिवर्तन गर्नुपर्छ। नीति आवश्यक छ, तर अनुभूति अझ ठूलो सत्य हो। सेवा केवल उपलब्ध हुनु पर्याप्त हुँदैन, त्यो समयमै, सरल र सम्मानजनक पनि हुनुपर्छ।
सहानुभूति बिना सेवा अधूरो हुन्छ। जवाफदेहिता बिना विश्वास मर्छ। र प्रभावकारी व्यवस्थापन बिना प्रणाली केवल संरचना मात्र बन्छ, जीवन बचाउने माध्यम होइन।
माननीय मन्त्रीज्यू, यदि तपाईं साँच्चिकै परिवर्तन चाहनुहुन्छ भने, पहिले त्यो यथार्थलाई आफैंले भोग्नुहोस्। एक दिनको अनुभवले वर्षौंदेखि नबदलिएको सोच परिवर्तन गर्न सक्छ। त्यही अनुभवले १०० प्रतिशत होइन, १००० प्रतिशत परिवर्तन सम्भव बनाउँछ।
सायद त्यो एक दिनले, वर्षौंदेखि नबदलिएको नियत र नीति दुवै बदल्न सक्छ।
सादर,
एक जिम्मेवार नागरिक
डा. दिपक मल्ल