३ महिना अघि कालिकोट जिल्ला अस्पतालमा एक गर्भवती महिला गर्भजाँच र भिडियो एक्स–रे गर्न आइन। उनलाई गाउँपालिकाको अस्पतालले रिफर गरेको कागज थियो। जाँच गर्दा गर्भ १८–२० हप्ताको देखियो। भिडियो एक्स–रेमा बच्चाको टाउकोको विकास नभएको अवस्था भेटियो, जसलाई चिकित्सकीय भाषामा अनन्सेफाली भनिन्छ।
गर्भवती महिला र उनका दिदीलाई हालको अवस्था, भ्रूणको स्थिति तथा अबको उपचार र व्यवस्थापनका लागि नजिकको ठूलो अस्पताल जानुपर्ने सल्लाह दिइयो। तर उनीहरू जान सक्ने अवस्था थिएन। हामीले अस्पतालमा भर्ना भएर बस्न र बाँकी सहयोगको व्यवस्था गर्ने भनेपछि पनि बस्न नमानी घर फर्किए। “जसरी पनि फेरि आउनु” भनेर सल्लाह दिइयो।
समय बित्दै गयो। ती गर्भवती अस्पताल फर्किएनन्। पक्कै पनि जुम्ला वा सुर्खेत/नेपालगन्ज गएर गर्भपतन गराइहाले भन्ने लागेको थियो।
तर तीन महिनापछि एक्कासि आमा, सासू र देवरसहित ती गर्भवती फेरि अस्पताल आइन्। भिडियो एक्स–रे गर्दा भ्रूणको अवस्था उही, टाउकोको अस्वाभाविक विकास, अनन्सेफाली।
सासूले भनिन्- 'बच्चा फाल्न लागेका थियौँ, हामीले फाल्न दिएनौँ। अब अहिले कस्तो छ भनिदिनुस्।'
गर्भवती र उनका आफन्तहरूलाई राखेर पुनः विस्तृत परामर्श गरियो र रगतको खोजी सुरु गरियो। देवरसँग रगत समूह मिल्यो, उनले रक्तदान गर्न पनि माने। तर सासूले रगत नदिने अडान लिएपछि समस्या थप जटिल बन्यो।
भर्ना भएकी गर्भवतीसँग बसेर कुरा गर्दा उनले जे सुनाइन्, त्यसले मेरा रौं नै काडा पारिदियो। ६–७ महिना अघि भारतमा वैदेशिक रोजगारीको क्रममा उनका श्रीमानले झुन्डिएर आत्महत्या गरेका रहेछन्। “मेरो छोरा टोक्यो” भन्दै सासू दिन–रात गर्भवतीलाई दोषारोपण गर्थिन्। श्रीमानको मृत्युको पीडामा डुबिरहेकी गर्भवतीलाई पटक–पटक दोष दिएर घाउमा नुन छर्किँदै आएका रहेछन्। त्यसमा पेटको बच्चा फाल्नुपर्छ, टाउको बनेको छैन भन्ने कुरा कोही मान्न तयारै थिएनन्।
आफ्ना बेदना सुनाउँदै, आँसु बगाउँदै गर्भवती सुतिन्।
जेनतेन नेपाल आर्मीको सहयोगमा रगतको व्यवस्था गरियो।
बच्चा निकालियो। जन्मेको केही सेकेन्डमै शिशुको मुटुको धड्कन बन्द भयो। सबै परीक्षणले नवजात मृत अवस्था पुष्टि भयो। टाउको उचित विकास नभएको र हेर्दा भ्यागुताको जस्तो आँखा देखिने अवस्था थियो।
सासू, देवर सबैलाई शिशुको अवस्था बारे पुनः जानकारी गरियो।
मेडिकल शिक्षा पढ्दै गर्दा कयौँ पटक पुस्तकमा पढेको, तर कहिल्यै नदेखेको यो अवस्थालाई अनन्सेफाली भनिन्छ- अत्यन्त दुर्लभ र गम्भीर जन्मजात अवस्था।
अनन्सेफाली एक दुर्लभ तर गम्भीर जन्मजात अवस्था हो, जहाँ भ्रूणको मष्तिष्क र खोपडीको माथिल्लो भाग पूर्ण रूपमा विकास हुँदैन। यो न्युरल ट्युब डिफेक्टको एक प्रकार हो। यस्तो अवस्था भएका शिशुहरू प्रायः जन्मेपछि बाँच्न नसक्ने हुन्छन्, त्यसैले यसको रोकथाम नै सबैभन्दा महत्वपूर्ण पक्ष हो।
अनन्सेफाली बच्चा जन्मिने प्रमुख कारणहरू
अनन्सेफाली एक मात्रै कारणले हुँदैन। विभिन्न जोखिमहरू मिलेर यसको सम्भावना बढ्न सक्छ। केही जोखिमहरु:
१. फोलिक एसिडको कमी:
गर्भधारण हुनु अघि र प्रारम्भिक ३ महिनामा महिलाको शरीरमा फोलिक एसिड कम हुनु अनन्सेफालीको सबैभन्दा ठूलो कारण मानिन्छ।
२. आनुवंशिक:
परिवारमा पहिले न्युरल ट्युब डिफेक्ट भएका शिशु जन्मिएको भए पुनः दोहोरिने सम्भावना बढ्न सक्छ।
३. औषधि र वातावरणीय कारक :
गर्भवती अवस्थामा केही एन्टिकनभल्सन्ट औषधिहरूको प्रयोग पनि कारण हुनसक्छ।
४. अत्यधिक तातोमा काम गर्ने वा शरीर धेरै तातिने अवस्था
५.कीटनाशक, भारी धातु, वा अन्य हानिकारक रसायनको लामो समयको सम्पर्क पनि कारण तत्व मान्न सकिन्छ।
४. मधुमेह राम्रो नियन्त्रणमा नहुनु :
मधुमेह भएका गर्भवती महिलामा जोखिम बढी देखिन्छ।
५. मोटोपन:
अत्यधिक तौलले यस्ता अवस्थाको जोखिम केही बढाउँछ।
अनन्सेफाली रोकथामका उपायहरू:
अनन्सेफाली धेरै हदसम्म रोकथाम योग्य अवस्था हो। विशेषत: फोलिक एसिडले यसको सम्भावना निकै घटाउँछ।
१. गर्भधारण अघि नै फोलिक एसिड सुरु गर्ने
दैनिक ४०० एमसीजी फोलिक एसिड खाने
पहिले यस्तै अवस्था भएको शिशु जन्मिएको छ भने—डाक्टरको सल्लाहमा उच्च मात्रामा फोलिक एसिड लिनुपर्छ।
२. सन्तुलित आहार
हरियो सागसब्जी
कागती परिवारका फलफूल
दुध, दाल, अण्डा
फोलिक एसिडयुक्त अन्नपदार्थ
३. रोगको राम्रो नियन्त्रण
मधुमेह रहेको महिलामा गर्भधारण अघि र गर्भावस्थामा सुगर लेबल नियन्त्रणमा राख्नु।
४. जोखिमयुक्त औषधिबारे डाक्टरसँग परामर्श
नियमित खाने औषधि वा दीर्घ रोग भए गर्भधारण अघि नै चिकित्सकीय परामर्श अनिवार्य लिनु पर्छ।
अनन्सेफालीको उपचार कसरी हुन्छ?
मष्तिष्कको संरचना नै बनेर नआउने भएकाले अनन्सेफालीको पूर्ण उपचार सम्भव छैन, त्यसैले व्यवस्थापनका उपायहरू यसप्रकार छन्:
गर्भावस्थामा नै पहिचान:
भिडियो एक्स-रे द्वारा प्रायः ११-१४ हप्ता बाटनै यश अवस्थाको पहिचान हुन्छ।
परामर्श मार्फत परिवारलाई अवस्था, जोखिम र विकल्पहरूबारे जानकारी दिनुपर्छ।
गर्भपतन वा गर्भ जारी राख्नेबारे निर्णय:
चिकित्सकको सल्लाह र परिवारको निर्णय अनुसार व्यवस्थापन फरक हुन सक्छ।
जन्मपछि सहायक हेरचाह:
शिशुको अवस्था दीर्घकालीन टिकाउ हुँदैन, त्यसैले आरामदायी हेरचाह मात्र सम्भव हुन्छ।
अन्तिममा
अनन्सेफाली एक गम्भीर तर रोकथाम गर्न सकिने जन्मजात विकृति हो। सबै महिलाले गर्भधारण अघि र सुरुआती गर्भावस्थामा फोलिक एसिड नियमित खानु, स्वस्थ जीवनशैली अपनाउनु, र चिकित्सकसँग सही समयमा परामर्श लिनु अत्यन्त महत्वपूर्ण हुन्छ। समुदायस्तरमा सचेतना फैलिएमा अनन्सेफालीको घटनामा उल्लेखनीय कमी ल्याउन सकिन्छ।
(डा पाण्डे कालिकोट अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत छन्)