इटहरी- एउटै बाबुआमाका सन्तान हुन्, अस्मिता, अर्पणा र अनिमा चौधरी। पहिले निक्कै फुर्तिलो देखिने उनीहरूको अनुहार अहिले निन्याउरो बनेको छ। इटहरीकै पञ्चायत आधारभूत विद्यालको क्रमशः ३, ४ र ५ कक्षामा पढ्छन् उनीहरु।
उनीहरूका बाबु ३ वर्ष अघि वैदेशिक रोजगारीका लागि कतार गएका थिए। बाबु विदेश गएको ७ महिना पनि पूरा हुन नपाउँदै आमाले दास्रो बिहे गरिन्। छिमेकका अर्कै पुरुषसँग दोस्रो बिहे भएकोले केही दिन छोरीहरूलाई सँगै राखेर हेरचाह पनि गरिन् उनले। तर दास्रो श्रीमानले उनीहरूलाई आफ्नै घरमा लगेर छाड्न भनेपछि उनले पनि त्यसै गरिदिइन्।
त्यसपछि बेसहारा बनेका छन् उनीहरू। कहिलेकाहीँ गाउँलेले खानेकुरा त दिए। तर सन्तुलित खानाको अभावमा तीनै जना कुपोषित हुन पुगेका छन्।
१ वर्ष अगाडि बाबु पनि विदेशबाट फर्किए। तर उनले पनि छोरीहरूको ख्याल गरेनन्। बरु दास्रो बिहे गरेर छुट्टै बस्न थाले। सौतेनी आमाले हेरचाह नगर्ने भएपछि कुपोषित बालिकाहरू बेसाहारा छन्।
उनीहरू ३ जनालाई यसअघि नै कुपोषणको औषधि खुवाई सकिएको शिक्षक निरकुमार अधिकारीले सुनाए।
बाच्न सक्ने अवस्था नभएपछि औसधि र भिटामिन खुवाउनु परेको उनी बताउँछन्। ‘बाबुले अर्की बिहे गरे। आमाको पनि अरुसँगै सम्बन्ध रहेछ,’ शिक्षक अधिकारीले भने, ‘पछि स्याहार नपुगेर कुपोषित भए।’
‘उनीहरूको मात्र होइन। यो स्कुलमा पढ्ने अधिकांश बालबालिकाको अवस्था यस्तै छ। कसैको आमाले दोस्रो बिहे गरेर गएका छन् भने कसैको बाबुले दोस्रो बिहे गरेका छन्। कसैको दुबैजनाले दोस्रो बिहे गरेर बच्चालाई छाडेका छन्,’ उनले भने, ‘सामाजिक बेमेलले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परेको छ। यहाँको अवस्था धेरै बिकराल छ।’
सोही विद्यालयको कक्षा ४ मा पढ्ने निशा चौधरी र उनका भाइ निखिलको पनि अवस्था उस्तै छ। उनीहरू पनि स्याहारका अभावमा कुपोषित बन्दै गएका छन्। ७० वर्षीया हजुरआमासँगै बस्दै आएका उनीहरूको दैनिक भोजनमै समस्या हुने गरेको छ।
उनीहरूका बाबु अर्की आमासँग इटहरी-२ तरहरा बजारमा बस्छन्। आमाले पनि दोस्रो बिहे गरिछन्। हजुरआमा पनि रोगी भएकोले घरको सम्पूर्ण काम उनै दिदिभाइका काँधमा आएको छ।
२ वर्षअघि उनीहरूका बाबु विदेश गएका रहेछन्। बाबु विदेश गएको ६ महिनामै आमाले दोस्रो बिहे गरेकी रहिछन्। १ वर्षपछि बाबु पनि घर फर्किए। घर आएको ६ महिनामा उनले पनि अर्की महिलासँग बिहे गरे। हाल उनी बजारमा बस्छन्।
निशा र निखिल दुःखमा पनि हाँस्न बानीको विकास भएको छ। दुवै जनाको अनुहारमा कुनै निराशापन देखिँदैन। ‘बुबा विदेश नपुग्दै आमा पोइला हिँडिन्, खान लाउन पुग्दैन। कसले देला रिन,’ निशाले भनिन्, ‘हामीलाई हजुरआमाले सिकाउनु भाको।’
५ जना शिक्षक र २५ जना विद्यार्थी रहेको विद्यालय 'भुतबंगला'जस्तो देखिन्छ। भर्ना भएका २५ मा १० मात्र नियमित विद्यार्थी छन्।