नेपालगन्ज- नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण प्रयासमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
अस्पतालले बुधबार सार्वजनिक सूचना जारी गर्दै एक जना पक्राउ परेपछि अस्पतालका सेवा सुचारु गर्ने जनाएको छ। कानुनी प्रक्रिया अघि बढेको अवस्थामा स्वास्थ्यकर्मीहरू नियमित काममा फर्किन थालेको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज, धम्की तथा भौतिक आक्रमण प्रयास भएको घटनापछि उत्पन्न तनावबीच जिल्ला प्रशासन कार्यालयमार्फत एक जना संलग्न व्यक्ति पक्राउ गरिएको हो।
अस्पतालले घटनामा संलग्न अन्य पनि पक्राउ पर्नुपर्ने लगायतका माग भने यथावत नै राखेको छ। आफ्ना मागहरू पूरा नभए पुनः आन्दोलनमा उत्रिने पनि अस्पताल प्रशासनले दिएको छ।
प्रमुख मागहरूमा स्वास्थ्यकर्मी सुरक्षा ऐनअनुसार कडा कारबाही, अन्य संलग्न व्यक्तिको २४ घण्टाभित्र पक्राउ, सामाजिक सञ्जालमा फैलाइएका अपमानजनक सामग्री हटाउने तथा अस्पतालभित्र फोटो–भिडियो खिच्न कडाइ गर्ने व्यवस्था समावेश छन्।
