मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल दुई वर्षअघि दसैंको नवमीका दिन परिवारसँगै रमाइरहेका थिए। मोबाइलमा कसैले ‘कल’ ग¥यो। ‘हेलो’ भन्न नपाउँदै उताबाट आवाज आयो, ‘हृदयाघात भएर एक जना बिरामीलाई अस्पताल ल्याइएको छ, तत्कालै आउनुपर्यो।’
उनी तुरुन्तै अस्पताल पुगे। बिरामीको मुटुमा बन्द भएको नसा खुलाउन स्टेन्ट राख्ने काम गरे। बिरामीको सफल उपचार भयो। ती बिरामी डा ओममूर्तिसँग नियमित स्वास्थ्य जाँच गराउने मध्येका एक थिए। शल्यक्रियापछि बिरामीसँगको कुराकानीका क्रममा चाल पाए, उनलाई अचानक हृदयाघात हुनुको कारण आफूले दिएको सुझाव कार्यान्वयन नगर्नु।
डा ओममूर्तिले ती बिरामीलाई हृदयाघात हुनुभन्दा दुई साताअघि मात्र भनेका रहेछन्, ‘चाडबाडको समय आउँदैछ। तपाईं उच्च रक्तचापको बिरामी हो। मदिरा, रातो मासु, धेरै चिल्लो नखानु। व्यायाम पनि नियमित गर्नु।’
तर, ती बिरामीले ‘चाडबाडको बेला त हो’ भन्दै दैनिकजसो मासु र मदिरा सेवन गरेका रहेछन्। मर्निङ वाक पनि जान छाडेका रहेछन्।
‘उहाँले सुझाव नमान्दा झन्डै ज्यान गुमाउनुपरेको थियो,’ डा ओममूर्तिले दुई वर्षअघिको घटना सम्झँदै भने, ‘धन्न समयमा नै अस्पताल ल्याएकाले बचाउन सफल भयौं।’ अहिले ती बिरामीले मदिरा, धूमपान र मासु चटक्कै छाडेका छन्। व्यायाम नियमित गर्छन्।
डा ओममूर्तिका अनुसार चिकित्सकीय अभ्यासका क्रममा डाक्टरको सुझाव नमानेर जटिल अवस्थामा उपचारका लागि आएका धेरै बिरामी छन्। तीमध्ये कतिले जीवन गुमाउनुपरेको छ भने कति त जटिल स्वास्थ्य अवस्थामा गुज्रनुपरेको छ। ‘खानपान र जीवनशैली सुधार गरे मात्र धेरैको स्वास्थ्य राम्रो हुन्छ। तर, चाडबाडको समयमा डाक्टरको सुझावलाई अटेरी गर्दा धेरैले जीवन नै गुमाउनुपर्दा दुःख लाग्छ,’ डा ओममूर्ति भन्छन्।
उनले जस्तै बिरामीको उपचार गरेका छन्, अर्का मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टले पनि। उनको सुझावलाई अटेरी गर्दा काठमाडौं क्षेत्रपाटीका एक बिरामी त दसैंको टीकाकै दिन अस्पतालमा भर्ना हुनुपरेको थियो। हृदयाघात भएका ती बिरामीको डा भट्टले सफल उपचार गरेर जीवन बचाए।
डा भट्ट भन्छन्, ‘मदिरा, रातो मासु र धूमपान छाडिसकेको छु भनेर मलाई ढाँट्नुभएको रहेछ। तर, हृदयाघात भएर उपचार गरेपछि उहाँले डाक्टरसा’ब तपाईंलाई त ढाँटे तर रोगलाई ढाँट्न सकिनँ भन्दै आँसु झार्नुभयो।’
शल्यक्रियापछि भने ती बिरामीको खानपान र जीवनशैली फेरिएको छ। ‘बेलैमा सुझाव मानेको भए उहाँले त्यति धेरै दुःख र खर्च गर्नुपर्ने थिएन,’ डा भट्ट भन्छन्, ‘उहाँ मात्र होइन धेरै बिरामी डाक्टरको सुझावलाई अटेर गरेकै कारण अन्तिम अवस्थामा अस्पताल आएको भेटेको छु।’ उनी डाक्टरको सुझावलाई अटेर नगरी सुरुमै खानपान र जीवनशैली सुधार गर्दै स्वस्थ जीवन बिताउन सुझाव दिन्छन्।
उच्च रक्तचाप, कोलेस्ट्रोल, ट्राइग्लिसेराइड, फ्याट्टी लिभर, युरिक एसिड, सुगर बढी भएका बिरामीले चाडबाडको समयमा सबैभन्दा बढी ख्याल गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। तर, यही समयमा बिरामीहरू नै आफ्नो स्वास्थ्यलाई झन् बढी हेलचेक्र्याइँ गर्छन्।

‘चाडबाडका बेला खानपिनमा ध्यान नदिँदा स्वस्थ मान्छे त बिरामी पर्ने गर्छन्, झन् पहिल्यै रोग लागेकाहरूमा थप जटिल समस्या भएर अस्पताल आउने गर्छन्,’ वीर अस्पतालमा कार्यरत वरिष्ठ पेटरोग विशेषज्ञ डा भूपेन्द्रकुमार बस्नेत भन्छन्। उनका अनुसार चाडबाडका समयमा मुटु र मुधेमहसँगै पेटका बिरामी पनि ह्वात्तै बढ्ने गरेका छन्।
गत वर्षको दसैंमा टीकाको दिन अस्पताल पुग्ने मध्येकी एक हुन्, १८ वर्षीया दीपिका खड्का। सानैदेखि मासु भनेपछि हुरुक्कै हुने दीपिकाको दसैं गतवर्ष अस्पतालको शय्यामा बित्यो। ‘मासु र भात अनि अन्य परिकार टन्नै खाएको थिएँ, एक्कासि भोमिट हुने, रिँगटा लाग्ने समस्या देखियो,’ उनले विगत सम्झँदै भनिन्, ‘परिवारका सबै सदस्यले आत्तिँदै अस्पताल पु¥याउनुभयो। मलाई त फुड पोइजन भएको रहेछ। त्यो दसैं अस्पतालमा नै बिताउनुपर्दा मेरो र परिवारका सबैको दसैं खल्लो भयो।’
डाक्टरको सल्लाह नमानेकै कारण दसैंमा अस्पतालको शय्यामा पुग्नेमा टीकाथलीका आशिष श्रेष्ठ पनि पर्छन्। २९ वर्षीय आशिषको युरिक एसिड बढेर ‘बोर्डर’ लाइनमा पुगेको थियो। डा भूपेन्द्र बस्नेतले उनलाई निकै सम्झाएका पनि थिए। तर, चाडबाड त हो भन्दै मुख बारेनन्। टीकाको भोलिपल्ट नै उनलाई युरिक एसिडले हान्यो। सहन नसक्ने गरी दुखाइ भएपछि उनी पाटन अस्पतालमा उपचारका लागि पुगे।
चाडबाडको समयमा डाक्टर, डाइटिसियन र स्वास्थ्यकर्मीको सुझाव नसुनेर अस्पतालको शय्यामा पुग्नेको संख्या पछिल्लो समय बढ्दै गइरहेको कलेजो रोग विशेषज्ञ डा दिलीप शर्मा बताउँछन्। ‘फेरिँदो जीवनशैली र चाडबाडको नाममा फुक्काफाल खाने चलनले गर्दा अस्पतालमा नै चाडबाड मनाउने बिरामीको संख्या केही वर्षयता बढ्दै गइरहेको छ,’ उनले भने, ‘त्यसमाथि दसैं र तिहारलाई खानपानकै चाडका रूपमा चिनिन्छ र यो समयमा ‘डाक्टरको काम भन्ने त हो’ भन्दै जथाभावी खाइदिँदा रोग बल्झाउने बढेका हुन्।’
दसैंमा खासगरी मासु बढी खाने चलन छ। यो समयमा मदिरा पनि उत्तिकै खपत हुन्छ। साकाहारी भोजन गर्नेहरू पनि यो समयमा मस्त मिठाई खाइदिन्छन्। मासु, मदिरा र मिठाई नै त्यस्ता खानेकुरा हुन्, जसको अत्यधिक सेवन रोगको घर हो।

डाक्टरहरूका अनुसार अस्वस्थ र राम्ररी नपकाइएको मासुले रोग ओसार्छ। त्यसमा पनि छालासहितको र काँचो मासुबाट बनाइने परिकार त खानै नहुने उनीहरूको सल्लाह छ।
वरिष्ठ फिजिसियन डा ध्रुवप्रसाद सिंहका अनुसार पशुपन्छीका छालामा ‘फोहोरका अवशेष’ र काँचो मासुमा ब्याक्टेरिया संक्रमणको जोखिम धेरै हुन्छ। रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग मात्र होइन, जनावरलाई लागेका रोगसमेत सर्ने सम्भावना भएको उनी बताउँछन्।
उनका अनुसार बजारमा पाइने अस्वस्थकर मासुका कारण टाइफाइड, झाडापखाला, आउँ, पेट फुल्ने, मिर्गौला रोग, फुड पोइजनिङ लगायतका बिरामी बढ्ने गरेका छन्। दसैंमा एकैपटक धेरै मासु काटेर लगातार चार–पाँच दिन खाइरहने चलन छ। डिपफ्रिजमा राम्ररी चिस्याइएको छैन भने बासी मासुले स्वास्थ्यमा समस्या ल्याउने डा सिंह बताउँछन्। धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको र धेरै तेल–मसला हालेको मासु स्वास्थ्यका लागि हानिकारक हुने उनी बताउँछन्।
मिर्गौला रोग विशेषज्ञ डा शक्तिकुमार बस्नेतका अनुसार मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरूले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना नै बढी हुन्छ। रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ। रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्ने डा बस्नेत बताउँछन्।

चिकित्सकहरूका अनुसार रक्सीको अत्यधिक सेवनले कलेजो, मस्तिष्क, मुटुरोग, क्यान्सर, दुर्घटना, आत्महत्या र पागलपनसम्म पु¥याउँछ। रक्सीले रक्तचाप बढाउने र मस्तिष्कघात (स्ट्रोक, प्यारालाइसिस), मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ। त्यसकारण मधुमेह, मुटुरोग, मिर्गौला लगायतका रोग लागेका बिरामीले मदिरालई छुन पनि नहुने चिकित्सकहरू बताउँछन्।
‘स्वास्थ्यको ख्याल राख्ने हो भने गाँजर, मूला, काँक्रो, काजु, बदामसँग थोरै मात्रामा मात्र रक्सी खाँदा राम्रो मानिन्छ। दीर्घरोगीले सकेसम्म मदिरा नछोएकै राम्रो,’ उनी भन्छन्।
डाइटिसियनहरूका अनुसार नेपालीहरूको खान्की सन्तुलित छैन। खानपानमा सागसब्जी र फलफूलको मात्रा निकै कम छ। चाडपर्वमा वा पछि मधुमेहका बिरामी, कोलेस्ट्रोल बढ्ने, झाडापखाला, फुड प्वाइजन, कब्जियत, कलेजो सिरोसिस जस्ता समस्या बढ्छन्। खानेकुरा समयमा नखाने, खाँदा एकैचोटि खानाले खानपिनमा कार्बोहाइडे«ट, प्रोटिन, फाइबरको सन्तुलन मिल्न नपुग्दा समस्या बढिरहेको अल्का अस्पतालकी डाइटिसियन विनिता पन्त बताउँछिन्।
‘चाडपर्वमा अरू बेलाभन्दा चिल्लो र गुलियोको मात्रा बढ्छ, त्यसैले एउटा खानेकुरा अलि बढी खाँदा अर्को घटाएर खानुपर्छ,’ उनी भन्छिन्, ‘सबथोक एकचोटि धेरै मात्रामा खाँदा स्वास्थ्यमा गडबडी आउन सक्छ। मासु भनेपछि मासु मात्र खाने र अरू चिज कम खायो भने पेट बिग्रिहाल्छ। शरीरका अन्य अंगमा पनि असर देखिन थाल्छ।’
डाइटिसियनहरूका अनुसार मानिसको शरीरको उचाइ, तौल र कार्य प्रकृतिका अनुसार उसलाई कति क्यालोरी चाहिन्छ भन्ने हुन्छ। अन्न, तरकारी, मासु र दूधजन्य खानेकुरा दैनिक खानपिनमा समावेश हुनुपर्ने उनीहरू बताउँछन्।
बालबालिकामा ठूलो मान्छेभन्दा पाचन शक्ति कम हुन्छ। उनीहरूलाई जथाभावी खुवाउँदा झाडापखाला र कब्जियतको समस्या देखिन्छ। कान्ति बाल अस्पतालकी वरिष्ठ डाइटिसियन रेखा अधिकारीका अनुसार बालबालिकालाई पच्न सक्ने खालका खानेकुरा मात्रै दिनुपर्छ। उनका अनुसार दसैं–तिहारमा बढीजसो झाडापखालाका समस्या लिएर बालबालिका आउने गरेका छन्। उनीहरूलाई सकेसम्म बाहिरका खानेकुराबाट टाढा राख्न, मसालेदार कम खान दिन उनी सुझाउँछिन्।
‘बाथरोगको बिरामी धेरै प्रकारका भएका हुनाले सबै रोगमा खानेुकरा बार्नैपर्छ भन्ने छैन,’ नेसनल बाथरोग सेन्टरकी डाइटिसियन प्रज्ज्वला प्रजापति भन्छिन्, ‘तर, खानेकुरामा ख्याल भने गर्नैपर्छ। यस रोगमा तौलको महत्व हुन्छ, तौल सन्तुलनमा राख्नुपर्ने हुन्छ।’
एउटा मान्छेलाई दिनमा ४ चियाचम्चा तेल र २० देखि ३० ग्राम फाइबर, ३ सयदेखि ५ सय ग्राम तरकारी दैनिक खानपिनमा समावेश हुुनुपर्ने बताउँछिन्, डाइटिसियन पन्त। ‘भुटेर तारेर खाने गर्छन् तर खानामा सागसब्जी नै हुन्न। १० ग्रामजति पनि फाइबर खाएको देखिँदैन, यसो हुँदा रगतमा चिल्लोको मात्रा बढ्ने, मोटोपन र कोलेस्ट्रोल बढ्ने हुन्छ,’ उनी भन्छिन्।
चाडबाडमा ध्यान नपुर्याउँदा सुगरको मात्रा बढ्ने, हाइपर टेन्सन हुने, प्रेसर बढी हुने देखिन्छ। दसैं–तिहारलगत्तै चिसो सिजन सुरु हुनाले कार्डियाक एरेस्ट र चिल्लो जम्मा भइराखेको हुनाले हर्टअट्याकको समस्या लिएर बिरामी आउने गरेको उनी बताउँछिन्।

