इनरुवा- ७० वर्षीय मोतीलाल यादव औषधि लिन यताउता दगुरिरहेका छन्। सोही क्रममा उनी कोठा नम्बर १२ मा पुग्छन्, औषधि फार्मेसीमा। यादवले त्यहाँ आफ्नो कागजमा लेखिएको औषधि माग्छन्।
तर, पाउँदैनन्।
फार्मेसी अधिकृतले ‘बिमाको औषधि बाहिर पाइन्छ’ भनेर पठाउँछन्। अधिकृतले भनेबमोजिम उनी त्यतैतर्फ लाग्छन्।
बाहिर इनरुवा अस्पताल फार्मेसी लेखिएको ठाउँमा पुग्छन्। त्यहाँ एक युवा कर्मचारी मोबाइलमा तास खेलिरहेका हुन्छन्। त्यहीबेला यादवले डाक्टरले लेखेको कागज ती युवा कर्मचारीलाई दिन्छन्।

ती कर्मचारीले सरसर्ती हेर्छन्।
‘यहाँ कुनै औषधि पाइँदैन। बाहिर गएर किन्नस्,’ उनले यादवलाई अह्राउँछन्।
यादव निराश देखिन्छन्। आफ्नो र श्रीमती दुखनी देवीको औषधी लिन आएका उनी अलमलमा पर्छन्। निराश मुद्रामा यादव युवा कर्मचारीलाई प्रतिप्रश्न गर्छन्, ‘हैन, एक लाखको बिमा गरेको। त्यो औषधि कहाँ पाइन्छ त?’
‘अहिले औषधी सकिएको छ। आएपछि पाइन्छ,’ कर्मचारीले सिधा जवाफ दिन्छन्।
चिन्तित हुँदै उनी त्यहाँबाट बाहिरिन्छन् र डाक्टरकोमा पुग्छन्। डाक्टरले पनि बाहिर क्लिनिकमा गएर किन्न सुझाउँछन्।
यादव आफूसँग पैसा नभएको र भएभरको पैसा स्वास्थ्य बिमामा दिएको बताउँछन्।
‘एक लाखको बिमा गरेको छु। अनि औषधिचाहिँ कहाँ पाइन्छ त?,’
उनी पुनः थप्छन्, ‘सित्तैमा दबाइ पाइन्छ भनेर पो बिमा गरेको त। हैन यो नपाइने दबाइ किन लेखेको?’
०००
१५ वर्षीय सागर दास पेट दुखेर औषधि लिन अस्पतालमा पुग्छन्। डाक्टरले केही औषधिको नाम लेख्छन्। उनी त्यही कागज बोकेर फार्मेसीमा पुग्छन्। तर, औषधिको कम्पोजिसन लेख्नुपर्नेमा नाम लेखेकोले फार्मेसी अधिकृत सृजना थापाले बुझ्न सक्दिनन्।
धेरैबेर हेरेर औषधि ठम्याउँछिन्। तर, सागरलाई डाक्टरले रिफर गरेको औषधी पाइँदैन। उनी पनि बाहिरको निजी क्लिनिकमा गएर औषधि किन्छन्।
सुनसरीको इनरुवा अस्पतालमा पुगेका अधिकांश बिरामीको स्वास्थ्य बिमा छ। तर, उनीहरू निजी क्लिनिकमा गएर औषधि किन्न बाध्य छन्। नेपाल सरकारले उपलब्ध गराउने ७० प्रकारका औषधि समेत अस्पतालमा पाइँदैन।
निःशुल्क पाउन त परै जाओस् बिमा गरेको औषधि पनि नपाउने भएपछि बिरामीहरू समस्यामा परेका छन्।
अस्तव्यस्त व्यस्त भौतिक संरचनाका बीच इनरुवा अस्पतालको व्यवस्थापन झनै दयनीय देखिन्छ। फार्मेसी अधिकृत थापा आफू आएदेखि अस्पतालमा औषधि अभाव भएको सुनाउँछिन्। जिल्ला जनस्वास्थ्य कार्यालयबाट औषधि ल्याउनुपर्ने भएकोले आफूले बारम्बार कुरा गर्दासमेत औषधि नआएको उनको भनाइ छ।

सरकारले निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि उपलब्ध नहुँदा बिरामीहरू खाली हात फर्कने गरेको उनको भनाइ छ।
आफूभन्दा पहिला काम गर्ने अधिकृतहरूले रिपोर्ट नबुझाएको भन्दै जनस्वास्थ्यले औषधि दिन आनाकानी गरिरहेको उनी बताउँछिन्।