काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल स्वास्थ्य क्षेत्रको अध्ययनका क्रममा छन्। न्याय तथा कानून मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएका उनले मन्त्रालयको संरचना बुझेपछि यससँग सम्बन्धित स्वास्थ्य सेवा विभाग र संघ अन्तर्गतका ठूला अस्पतालको अवलोकन गरिरहेका छन्।
यही क्रममा सोमबार अपराह्न ४ बजे वीर अस्पताल पुगे। अस्पताल अवलोकनका साथै वीर अस्पतालको वास्तविक अवस्था बारे जानकारी लिए। अस्पतालका कर्मचारीले वीर बारे जानकारी थोर दिए, धेरै अस्पताल ‘समस्याग्रस्त’ रहेको महशुस गराउनेगरी गुनासोहरु प्रस्तुत गरे।
मन्त्री ढकाललाई वीर अस्पताल बारे जानकारी गराउँदै डा विष्णुदत्त पौडेलले बजेट नभएको गुनासो गरे। मन्त्रालयले दिने अनुदानमा पनि वीर प्राथमिकतामा नपरेको बताउँदै स्वास्थ्य करकोषबाट उठ्ने १५ अर्ब मध्ये ६० करोड वीरलाई छुट्याउनुपर्ने उनको दाबी थियो। आफू क्यान्सरको विशेषज्ञ रहेकाले वीरमै क्यान्सरको उपचार गर्ने एकीकृत सेन्टर जरुरी भएको अवगत गराए।
बोल्ने पालो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टार डा सुवोध अधिकारीको आयो। उनले पनि न्याम्सका बारेमा थोरै जानकारी दिए, धेरै त्यहाँ रहेका समस्याका बारेमा बताए। त्यसमध्ये उनले जापान सरकारको सहयोग नियोग जाइकाले बनाइदिएको वीर अस्पतालको भवन सञ्चालनमा ल्याउन नसक्नुको समस्या राखे।
उनले भने, ‘जाइकाले एक सय बेडको भवन बनाएको छ। ग्याँष्ट्रो, कार्डियोलोजी र नेफ्रोलोजी सेवा दिन बनाइएको हो। तर, उपकरण र जनशक्ति अभाव भएकाले सञ्चालन गर्न सकिएन।’
उनले वीर अस्पतालमा पर्याप्त आइसियु नभएकाले समस्या भएको कुरामा पनि जोड दिए। उनले भने, ‘आइसियु बेड हुनुपर्ने भन्दो निकै न्युन छन्।’
शिक्षक र रेसिडेन्ट बस्ने होस्टेल नभएको समस्या पनि मन्त्री ढकाललाई सुनाए।
न्याम्सकी रजिष्ट्रार प्रमिला देवानले नर्सिङतर्फका समस्या सोझ्याइन्। नर्सिङ जनशक्ति निकै कम रहेकाले गुणस्तरीय उपचार सेवा प्रभावित भइरहेको जानकारी मन्त्री ढकाललाई गराइन्।
उनले भनिन्, ‘नर्सिङ जनशक्ति निकै कम छ। त्यसैले अन्तराष्ट्रिय मापदण्ड अनुरुप हुनु त परको कुरा नियमित सेवा दिन पनि हामीलाई मुश्किल परिरहेको छ।’
नर्सिङ कलेज साँघुरो ठाउँमा रहेकाले पठनपाठनमा रहेको समस्या पनि त्यही मेसोमा दर्शाइन्। देशलाई चाहिने नर्सिङ र मिडवाफ्री जनशक्ति उत्पादनका विषयलाई समेत उनले जोडिन्।
यी विषयमा सहमति जनाउँदै नर्सिङ प्रमुख गोमा निरौलाले समायोजनले समेत समस्या सिर्जना गरिरहेको उल्लेख गरिन्। ४८ जना हुनुपर्नेमा ८ जना रहेको र तीमध्ये ३ जना पढ्न गएको विषय उल्लेख गरिन्। जनशक्तिकै अभावमा सेवा बन्द गर्नुपर्ने अवस्था आएको कुरा समेत मन्त्री ढकाललाई जानकारी गराइन्।
बयोमेडिक इञ्जिनियरको कमी हुँदा सेवा प्रवाहमा समस्या परेको बताउँदै खरीद इकाइकी भगवती थपलियाले वीर अस्पतालअघिको फोहर व्यवस्थापन सम्मका विषयमा गुनासो पोखिन्।
उनको गुनासो थियो, ‘फोहरमैला व्यवस्थापन भएन। व्यक्तिलाई यो काम दिइएको छ। उसले कहिले गाडी बिग्य्रो भन्छ, कहिले स्टाफ आउँदैन भन्छ वीरअघि फोहर थुप्रिन्छ। महानगरसँग समन्वय गरेर दिनदिनै फोहर उठाउने वातावरण बनाउनुपर्यो।’
वीर अस्पताल अघिको खाल्टो नपुरिँदा अस्पतालको सौन्दर्यमा कमी आएकोदेखि वर्खायाममा महाबौद्धदेखिको ढल आएर हुने समस्यासम्म दर्शाइन्।
धेरैले वीर अस्पताल भनेर चिन्ने ठाउँभित्र तीनटा संरचना छन्। वीर अस्पताल भइहाल्यो, डाक्टर र नर्स उत्पादन गर्ने प्राज्ञिक थलो न्याम्स र केही वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टर जोडिएर आउँछन्।
एकआपसमा उनीहरुका समस्या छन्। एकै छानोमूनि काम गरिरहेका कर्मचारीहरुले विभेदको महशुस गरिरहेको कुरा समेत मन्त्री ढकालले जानकारी पाए।
न्याम्सकी कानूनी सल्लाहकार पूर्णिमा गुरागाईंले प्रतिष्ठान अन्तर्गत भर्ना भएका कर्मचारी र स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीबीच ठूलो विभेद रहेको खुलाइन्। उनले प्रतिष्ठानका कर्मचारीको वृत्तिविकास नभएको गुनासो पोखिन्। मन्त्रालय अन्तर्गतका कर्मचारीका अघि प्रतिष्ठानकाले ‘ह्यमुलेसन’ महशुस गर्नुपर्ने अवस्था रहेकोसम्म बताइन्। यी विभेद कारणले अस्पतालको सेवा राम्रो नभएकोसम्म भनिदिइन्। प्रतिष्ठानको सिनेट नबेसको विषय समेत उठाइन्।
ट्रमा सेन्टर खाशगरी दुर्घटनामा घाइते भएका बिरामी लक्षित छ। त्यहाँ उनीहरुको घाउको उपचार मात्रै होइन, अन्य स्वास्थ्य समस्या समेत जाँच गर्नुपर्ने हुन्छ। तर, सवै रोगका विशेषज्ञ त्यहाँ उपलब्ध छैनन्। वीरमा छन् तर उनीहरुको सरसहयोग त्यति नहुने हुनाले परामर्शमा समस्या रहेको विषय डा भोजराज अधिकारीले उठाए। मुटुको विषयमा परामर्श लिन झन् समस्या रहेको उनले बताए।
वीरमा मिर्गौला प्रत्यारोपणको विषय ओझेल परेको विषयमा डा रजनी हाडाले कुरा उप्काइन्। सन् २००८देखि नै मिर्गौला प्रत्यारोपण थालिए पनि भौति संरचना अभाव खेपिरहेको विषयमा जानकारी गराउँदै भनिन्, ‘मिर्गौला प्रत्यारोपणको जनरल वार्ड बारेर काम चलाउनु परेको छ।’
पारामेडिक्स पाण्डव बरालले इमर्जेन्सी उपचारको समस्या अघि सारे। अस्पतालले एम्बुलेन्ससँगै पारामेडिक्स पठाइदिए बिरामीको ज्यान जोगाउन सकिने विषयमा आफूले लबिङ गरिरहेको उल्लेख गरे। उनले भने, ‘अस्पतालमा एकसय बिरामी आउने बेलाको दरबन्दी छ, अहिले हरेक दिन ३००० बिरामी आउँछन्।’
सामाजिक सेवा इकाइको समस्या सम्बन्धित कर्मचारीले राखे। फार्मेसीलगायतका समस्या राख्न एक कर्मचारी हात उठाउँदै थिए, समय पाएनन्।
भिसीको कर्मचारीप्रति गुनासो
कर्मचारीहरुले आफ्ना गुनासो सुनाए। कर्मचारीको गुनासोको विरुद्ध गुनासो गरे– न्याम्सका उपकुलपति डा डिएन शाहले। उनले कर्मचारीहरु समयमै अस्पताल नआउने र पूर्ण समय नबस्ने गरेको बताए। आफैंबाट परिवर्तन सुरु गर्ने बताउँदै समयमै आउने र पूर्ण समय अस्पतालमा उपलब्ध हुने ताली बजाएर प्रतिबद्धता जनाउन लगाए।
वीर अस्पतालको लाइनप्रति स्वास्थ्य राज्यमन्त्रीको चिन्ता
वीर अस्पतालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीलाई सेवा दिइरहेको बताउँदै प्रशंसा गरे स्वास्थ्य राज्य मन्त्री नवराज रावतले। तर, उनलाई अस्पतालमा पालो पर्खिनुपर्ने समयले भने पिरोलेको रहेछ। उनले वक्तव्य राख्ने क्रममा भने, ‘अस्पतालमा दुईदेखि तीन महिना लाइन बस्नुपर्ने रहेछ। दार्चुलाबाट आएको बिरामीले लाइन बस्नुभन्दा निजीमा उपचार गराउँदा सस्तो पर्छ।’
ओपिडिमा हरेक डाक्टर दैनिक भेटिनुपर्ने उनको बुझाइ थियो। हप्तामा दुईदिन मात्रै ओपिडीमा डाक्टर भेटिने भएकाले सेवा लिन समस्या परेको उल्लेख गरे। उनले डाक्टर अस्पतालमै दुई दिन मात्रै हाजिर हुने रुपमा बुझेका रहेछन्। त्यसलाई भने त्यहाँ उपस्थित चिकित्सकले सच्याए। आफू दिनदिनै आउने तर ओपिडि पालो दुईदिन पर्ने उल्लेख गरे।
जनताको हवाला दिएर स्वास्थ्य मन्त्री ढकालको गुनासो
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफू अस्पतालका समस्या बुझ्न आइपुगेको उल्लेख गरे। सवै लड्न अभ्यासबाट आएकाले लडाकु स्वभाव गइनसकेको बताउँदै देशको विकास र समृद्धिको जिम्मा आफूहरुको काँधमा रहेको बताए। बिरामीसँग हरेक दिन हुने भएकाले उनीहरुका समस्याका बारेमा अस्पतालका कर्मचारी नै बढी जानकार हुने बताउँदै सरकारका तर्फबाट हुने सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जाहेर गरे।
ऋाफू सकेसम्म राम्रो गर्ने कोशिसमा रहेको बताउँदै भने, ‘म पदको दुरुपयोग र निष्ठालाई धरौटी राखेर काम गर्दिनँ।’ कर्मचारीले राखेका समस्यालाई सम्बोधन गर्र्दै आफूलाई ती विषयमा ‘कन्भिन्स्ड’ गर्न आग्रह गरे। आफू कन्भिन्स्ड भए राज्यलाई मनाउन सकिने बताए। काममा हातेमालो गरेर अघि बढ्ने बताउँदै बुझ्ने क्रममै रहेको दोहो¥याए। स्वास्थ्य मन्त्रालय अन्तर्गतका हरेक निकायका आफ्नै खालका समस्या रहेको जानकारी पाएको बताउँदै समाधान खोज्न सकिने बताए।
अन्तिममा उनले ‘जनताको गुनासो’ भन्दा केही प्रश्न गरे। त्यसमध्ये पहिलो थियो, ‘यहीँ काम गर्ने डाक्टरको क्लिनिक पाँचतारे होटेल जस्तो हुन्छ तर सरकारी अस्पताल किन यस्तो?’
अर्को थियो, ‘यति ठूलो सरकारी अस्पताल चलिराखेको छ तर ट्वाइलेट किन गरिब हुन्छ?’
उनले कर्मचारी समयमै नआउने र पूर्ण समय नबस्ने विषयमा भिसीले महशुस भएर बताएका हुने सक्ने बताउँदै ठीक समय नै नेपाली समय रहेको हेक्का राख्नुपर्ने बताए।