उनलाई आफ्नो नाम एउटी नर्सले उपहार दिएकी थिइन्। बुबाआमाले राखिदिएको नाम थियो– अक्कल लामा । यही नाम लिएर साथीभाइ र आफन्तले बोलाउँथे उनलाई।
यही नाम राखेर उनी सानोमा कविता लेख्थे। पत्रिकामा छपाउँदा कवितासँगै आफ्नो नाम पनि छापिएर आउँथ्यो। उनी दंग पर्थे। कविता लेख्छ भनेर थाहा पाउनेहरूले ‘फुच्चे कवि’ भनेर बोलाउँथे पनि। तर, आफ्नो नाम र उपनामबाट त्यति परिचित नहुँदै उनले अर्को नाम पाए– ईश्वर।
निजी अस्पतालको मानसिक वार्ड बसाइकै क्रममा एक जना नर्सले उनलाई यो नाम उपहार दिएकी थिइन्। उपहार पाएको नाम सम्झेरै उनले अस्पताल बसाइका तीता अनुभव थोरै समयका लागि नै भए पनि भुलिदिन्थे।
अहिले उनलाई सबैले ईश्वर थोकरको रुपमा चिन्छन्। उनी कविता पनि यही नामले लेख्छन्। प्रकाशन पनि यही नामबाट गर्छन्।
ईश्वर छोटा र चोटिला कविता लेख्नमा माहिर छन्। कविता लेखेकै कारण धेरैको माया र सहानुभूति जितेका छन्। उनका अधिकांश कविता नर्सहरूप्रति समर्पित छन्।
‘जसले मलाई नाम दिए, जीवन दिए र आत्मविश्वास दिए, ती नर्सहरू हुन्। जसलाई म आमा र भगवानको रुप ठान्छु। त्यसैले मेरो कविता सधैं नर्सप्रति समर्पित छन्,’ ईश्वर मुस्कुराउँदै भन्छन्।
०००
ईश्वरको जन्म काभ्रेको तेमालमा भयो। उनका बुबा भक्तपुर बस्थे। उनी पनि सानैदेखि बुबासँगै भक्तपुर बस्न थाले। जेठी बहिनी पनि सँगै बस्थिन्। बाल्यकालमा ईश्वरको बालसखा उनै बिहिनी थिइन्। बहिनीलाई उनी अगाध माया गर्थे।
तर, सात वर्षको उमेरमा अचानक बहिनीको निधन भयो। उनको मृत्युले ईश्वरको बालमस्तिष्कमा आघात पुग्यो। बहिनी बित्दा उनी ९ वर्षका मात्र थिए। त्यही बेलादेखि उनी साथीबिहीन भए।
बहिनी गुमाएपछि ईश्वरको बाल्यकाल कहिल्यै सुखद् रहेन। उनी हरक्षण रुन्थे र एकान्तमा टोलाएर बस्थे।
घटना यति मात्रमा सीमित भएन। फेरि अर्को पीडाले उनको बाल्यकाल निरस र त्रासदीपूर्ण बनायो।
०५४/०५५ तिरको जनयुद्धकाल। त्यो समय माओवादी भूमिगत भएका थिए। बुबाले कम्युनिस्टलाई ‘सेल्टर’ दिएका थिए। यसैकारण प्रहरी र सेनाका नजरमा बुबा माओवादी ठहरिए। बुबालाई आफ्नै घर असुक्षित हुन थाल्यो। चारैतिर उनको खोजी हुन थाल्यो। बुबा भूमिगत भए। माओवादीलाई सेल्टर दिएकै कारण लुकी–लुकी हिँड्नुपर्यो।
बुबा भूमिगत भएपछि ईश्वरले भक्तपुर छाड्नुपर्ने अवस्था आयो। आफू चंगा भएर हुर्किएको ठाउँ छाडेर जानुपर्दा उनमा अर्को चोट थपियो। त्यसमाथि बुबाले महसुस गरेको डरले उनी पनि भयभीत भए। यही डर, त्रास र पीडामा बाल्यकाल बिताउनु परेपछि ईश्वर खुसी हुन सकेनन्।
दिन, हप्ता, महिना र वर्ष हुँदै विस्तारै ईश्वरमा अनौठा समस्या देखिन थाले। निराश र उदास हुने, एक्लै बसिरहने, कोहीसँग नबोल्ने स्वभाव बन्न थाल्यो उनको। परिवारले उनमा समस्या भएको अनुभव गर्यो।
‘त्यो बेला मलाई अर्कै ‘फिल’ हुन्थ्यो। निद्रा लाग्दैनथ्यो। रातमा एकदम कम सुत्थेँ। उपयोगी नहुने खालका कामहरू गरेर बस्थेँ। हरक्षण उदास मात्र हुन्थेँ,’ ईश्वर सुनाउँछन्।
आफूजतिको कसैलाई नठान्ने, एकदम चिटिक्क भएर हिँड्ने, धेरै सक्रिय हुन खोज्ने, सुत्दै नसुत्ने, उदास हुनेलगायतका लक्षण उनमा देखा पर्न थाले।
तर, आफूलाई केही भएजस्तै ठान्दैनथे ईश्वर। आफूले गरेका हरेक काम याद हुन्थ्यो। उनी कसैलाई नसोधी जहाँ पनि हिँडिदिन्थे। उनी परिवारलाई थाहै नदिई धेरै पटक बाहिर गए।
प्रायः मन्दिर, पाटी वा घाटमा जान्थे उनी। पाटी र मन्दिरभन्दा घाटमा सुत्दा उनलाई बढी आनन्द आउँथ्यो। किनकि, त्यहाँ त आगो ताप्न पाइन्थ्यो। घाटमा गएर उनी घन्टौं हराएका छन्। रात बिताएका छन्।
यस्ता लक्षण देखिँदा उनी १३ वर्षका मात्र थिए। कक्षा ६ मा पढ्दै थिए। भाइबहिनी सानै थिए। भएको जेठो छोराले समाजमा पनि अस्वभाविक व्यवहार देखाउन थालेपछि आमा चिन्तित देखिन थालिन्। ईश्वर बिरामी भएको चाल पाएर आमाले बुबालाई खबर गरिन्। थाहा पाएकै दिन बुबा गाउँ गए।
बुबाले उनलाई चेकअपका लागि काठमाडौं लगे। रिपोर्ट आएपछि थाहा भयो, ईश्वरलाई मेनिया (एक किसिमको मानसिक रोग) भएको रहेछ। उनी अस्वभाविक रुपमा जे–जे गरिरहेका थिए, त्यो सबै मेनियाको कारण रहेछ। ‘त्यतिबेला नै अहिलेजस्तो मनोविद् भेटेको भए मैले जिन्दगीभर औषधिको बैसाखी टेकेर हिँड्नु पर्दैनथ्यो,’ ईश्वर गम्भीर हुँदै भन्छन्।
नर्सप्रति प्रेम
काठमाडौंको एक प्राइभेट अस्पतालमा पहिलो पटक भर्ना हुँदाको अनुभूति ईश्वरसँग ताजै छ। मानसिक रोगको उपचार गरिने त्यस अस्पतालमा उनी तीन महिना बसे।
अस्पताल बस्दाको सुखद् अनुभूति विरलै हुन्छ। यद्यपि, ३ महिना बिताएको त्यो मानसिक वार्ड ईश्वरका निम्ति अविस्मरणीय रह्यो। ईश्वरलाई अस्पतालमा भेटिएकी पहिलो नर्सको नाम याद छैन। तर उनको मायालु व्यवहार र हँसिलो अनुहार अझै सम्झनामा आउँछ।
सुरुमा कसैसँग पनि खुल्दैनथे उनी। अस्पतालमा अफ्ठेरो मात्र अनुभव हुन्थ्यो। तर, विस्तारै उनमा परिवर्तन आउन थाल्यो। नर्सहरूले बोल्ने हरेक शब्द, उनीहरूको हरेक व्यवहार र सामीप्यताले ईश्वर चकित भए।
एक पटक ईश्वरलाई बेजोडसँग घरको याद आयोे। उनी वार्डभित्रै रुन थालेछन्। उनी रोएको एक जना नर्सले थाहा पाइछन्। प्रेमपूर्वक ‘केयर’ गर्ने ती नर्स ईश्वरको नजिक आएर भनिन्– तिमी किन रोएको? उनले बरर.. आँसुमात्र झारिरहे।
नर्सले मायालु पाराले सुम्सुम्याउँदै भावुक भएर भनिन्, ‘यसरी रुनु हुन्छ त।’
त्यही घटना सम्झेर कविहृदयका ईश्वरले एउटा कविता लेखे–
म रोएको देखेलगत्तै
आफ्नो रुमालले मेरो आँसु पुछ्दै तिमी भन्थ्यौ–
रुनु हुन्छ र!
तिमीले मलाई यति भनुन्जेलसम्ममा
तिम्रो आँखा पनि पत्तै नपाई
टम्म भइसकेका हुन्थे
मेरो आँखाजस्तै
मानसिक वार्डमा ईश्वर सबैभन्दा कम उमेरका बिरामी थिए। ‘त्यसैले होला, नर्सहरूले मलाई धेरै माया गरेजस्तो लाग्थ्यो,’ उनी भन्छन्। उनी वार्डभित्रै कविता लेख्थे। नर्सहरूलाई सुनाउँथे। उनीहरू खुसी हुँदै ईश्वरलाई अंकमाल गर्थे। पुस्तकहरू पढ्न रुचि लाग्थ्यो। नर्सहरूले नै कविताका किताब ल्याइदिन्थे। कतिपयले डायरीमा केही न केही लेख्न लगाउँथे। उनी कविता लेखिदिन्थे। उनीहरू खुसी हुन्थे।
‘नर्सका डायरीका कविता मात्रै संकलन गर्ने हो भने मेरा दुई ठेली किताब बन्छन्,’ ईश्वरले ठट्यौली गरे। आफूले नर्सको डायरीमा कविता लेखेको क्षण सम्झँदै ईश्वरले पछि एउटा कविता लेखे–
तिमीले मलाई तिम्रो डायरीमा
केही कुरा लेख, प्रेमले लेख भन्यौ
मैले मेरा थरथर काँपिरहेका औंलाहरूले लेखिदिएँ
यति लेखिदिएँ,
म तिमीलाई माया गर्छु
कलिला ईश्वर नर्सहरूका आडमा बसेर रमाउँथे, उनीहरूकै हेरचाहमा पुल्पुलिन्थे। उसो त वार्डभित्रका बिरामी साथीले पनि माया गर्थे उनलाई। अस्पतालमा ३ महिना बिताएपछि ईश्वर ठिक भएर घर फर्किए। पुनः विद्यालय जान सुरु गरे। औषधि भने नियमित खानुपथ्र्यो। फलोअपमा अस्पताल गइरहनुपथ्र्यो।
‘पागल’को उपनाम
तीन महिना अस्पताल बसाइपछि घर जाँदा उनलाई लागेको थियो– अब म ठिक छु। तर, त्यो अनुभूति उनले गाउँ गएपछि गर्न पाएनन्। उनलाई साथीहरूले ‘पागल’को उपनाम दिए। अरुको साथ चाहिने बेला साथीहरूबाट समेत एक्लिनुको पीडाले उनलाई गाँज्दै लग्यो। स्कुलमा उनी एक्लै बेन्चमा बस्नुपथ्र्याे। सबै साथीहरू आफूसँग टाढिएर बस्न रुचाउँथे। ‘पागलसँग को बस्छ ?’ ईश्वरसँग नबस्ने साथीहरूको मनसाय थियो त्यो।
टिफिन समयमा खाजा एक्लै खानुपथ्र्यो। खेल्ने साथी हुन्नथे। बोल्ने साथी हुन्नथे। बरु उल्टै ‘पागल’ भनेर लखेट्थे।
एक्लो भएपछि उनका आँखामा विस्मयका आँसु बग्थे। ‘उस्तै मान्छे हो भने त्यतिबेलै आत्महत्या गरिसक्थ्यो होला,’ कहालीलाग्दा ती दिन सम्झँदै ईश्वर भन्छन्। घरबाट स्कुल र स्कुलबाट घर जाने बेला उनले ठूलो चुनौतीको सामना गर्नुपथ्र्यो। जब ईश्वरलाई गाउँमा मान्छेहरूले देख्थे, अनि परैबाट भन्न थाल्थे, ‘पागल आयो पागल...’
ठूलै मान्छेहरूको लवज र व्यवहारबाट उनले कयौंपटक यस्ता अपमानित शब्द सुने। गाउँमा नयाँ मान्छे आउँदा उनको नाम ईश्वर भनेर परिचय दिन्नथे। भन्थे– यो पागल हो।
बुबाआमाले त ईश्वरलाई कहिल्यै विभेद गरेनन्। तर, साथीभाइ र गाउँलेको अपमान उनको निम्ति असह्य र भारी भयो। अन्ततः २० वर्षको उमेरमा उनी फेरि अस्पतालमा भर्ना हुनुप¥यो। त्यही तनाव र पीडाको कारण उनको समस्या बल्झियो।
फेरि अस्पताल
२० वर्षको उमेरमा उनी तिलगंगानजिकै रहेको एक प्राइभेट अस्पताल गए। त्यहाँ उनले ६ महिना बिताए। अस्पताल बसाइमा उनले उदास हुने समय नै पाउँदैनथे। त्यहाँ एक्लिनु पर्दैनथ्योे। कारण, आफ्नो सेवामा अहोरात्र खट्ने नर्ससँगको सामीप्यताले चंगा बनाउँथ्यो ईश्वरलाई।
पहिलो अस्पताल बसाइभन्दा भिन्न थियो दोस्रो बसाइ। उनी जवान भइसकेका थिए। अस्पतालमा पाएका यातना त कठोर थिए। यद्यपि, नर्सहरू थिए, उनका साथी। जसलाई उनी धेरै कुरा निर्धक्क सेयर गर्न सक्थे। कविता लेखन र अध्ययनमा सधैं प्रोत्साहन पाउँथे।
अस्पताल बसाइमा उनले गाउँमा आफूले भोगेको पीडा नर्सलाई बताउँथे। ईश्वरको कुरा सुनेपछि उनीहरू भन्ने गर्थे, ‘तिमी कहाँ पागल हौ र। तिमी त हाम्रो प्रिय कवि हौ कवि।’
यो कुराले ईश्वर निकै उत्साहित हुन्थे। दिनानुदिन एक्लिँदै गएका ईश्वरलाई नर्सहरूको व्यवहारले झन् खुलाउँदै लग्यो। ती दिन सम्झँदै पछि उनले अर्को कविता लेखे–
अरुले मलाई पागल भन्छन्
अरु पनि भन्छन्
के के भन्छन् भन्छन्
तिमीले मात्र तिमीले भनेनौ–आवार
सम्झिरहने नोरी भुजू
ईश्वरले सधैं सम्झिरहने एउटी नर्स हुन्– नोरी भुजू।
आफूले बाँचिरहेको जीवनलाई दोस्रो जीवन ठान्छन् उनी। र, त्यो दोस्रो जीवनको श्रेय नोरी भुजूलाई दिन्छन्। नोरी जतिकै सम्झने अर्को नाम हो मातृकाप्रसाद देवकोटा।
उनीहरूलाई सधैं सम्झिरहनुको विशेष कारण छ ईश्वरसँग। २० वर्षको हँुदा ईश्वरलाई लागेको थियो– मेरो यो जीवनको अन्तिम अवस्था हो।
केही सिप नलागेपछि डाक्टरले बुबालाई भनिदिएका थिए, ‘यसको उपचार अब सम्भव हुँदैन। उपचार गर्नु नै व्यर्थ हुन्छ।’ डाक्टरको भनाइबाट बुबा निराश हुँदै ईश्वरलाई भक्तपुर लगेका थिए।
नोरी भूजु नर्स थिइन्। उनी भक्तपुरमा बस्थिन्। ईश्वरलाई नजिकबाट चिन्थिन्। डाक्टरले उपचार सम्भव छैन भनेपछि चिन्तित भएको बुबालाई उनले सम्झाइन्, ‘यो निको हुन्छ’ भनेर।
नोरी भूजुले मनोसामाजिक स्वास्थ्य अधिकारकर्मी मातृका सरलाई चिनेकी थिइन्। नोरीमार्फत उनी ईश्वरको बुबालाई भेट्न आए।
तर, मातृका सरसँग बुबाआमा र अंकलले रिसाउँदै भने, ‘डाक्टरले उपचार हुँदैन भन्छन्। तपाईं किन आउनुभएको बेकारमा ?’ त्यो निराशालाई आशामा बदल्दै त्यतिबेला मातृका सरले भने, ‘छोराको उपचार हुन्छ। उपचार नहुने भएको भए म यसरी आउने थिइनँ।’
मातृका सरका कुराले बुबाआमामा विलिन भएको आशा पुनः पलायो। त्यसपछि नोरी र मातृका सरको सहयोगमा ईश्वर साँखुस्थित एक अस्पताल पुगे। यो अस्पताल आउनुअघि डाक्टरले ईश्वरलाई प्रत्येक दिन ३३ ट्याब्लेट औषधि खुवाउन लगाएका थिए। त्यो औषधिले उनलाई निकै पीडा दिएको थियो। पछि साँखुमा आएको केही महिनापछि उनी ३ ट्याब्लेटमा झरे। त्यहाँ केही समयको उपचारपश्चात् ईश्वर ठिक भएर घर फर्किए। ‘त्यतिबेला मलाई उहाँहरूले साथ नदिनुभएको भए म रहन्न थिएँ सायद,’ ईश्वर भन्छन्। पछि उनले नोरी भुजूको नाममा संस्मरण नै निकाले।
अस्पताल यात्रा ०७० सालमा पुनः दोहोरियो। यसपछि भने उनी अस्पताल बस्नु परेको छैन। ‘अहिले आत्मबल बढेको छ। कार्यव्यस्तताले पनि होला,’ उनी भन्छन्, ‘०७० सालसम्म मेरो व्यस्त हुने ठाउँ थिएन। तर अहिले म व्यस्त छु। जीवनभरि स्वस्थ हुन हामी व्यस्त हुनुपर्दो रहेछ।’
बाल्यकालमा लामो समय विभेद भोगेका उनले पछिल्लो समय भने सबैबाट माया र सद्भाव पाउन थालेका छन्। कवितामा उनको दख्खल हुँदै गयो। उनलाई सम्मान गर्नेहरू बढ्दै गए।
उसो त मानसिक वार्डमा हुँदा नै उनले निकै कविता लेखेका थिए। उनी निराशाको कुरा गर्थे। नर्सहरू आशाको कुरा गर्थे। कविताको कुरा गर्दा ईश्वरलाई सधैं नर्सहरू सम्झनामा आउँछन्, जसले निराशा त्यागेर आशाको जिन्दगी बाँच्न सिकाए।
बदलिए ईश्वर
ईश्वरलाई बाल्यकालमा पागल भन्ने साथीहरू अहिले बदलिएका छन्। उनीप्रति आशा मार्नेहरू पनि चकित छन्। कारण, उनमा कविता चेत छ, लेखनकला छ।
ईश्वरका विभिन्न पत्रपत्रिकामा आर्टिकल प्रकाशित भइरहन्छन्। एकदिनको घटना उनी लयबद्ध सुनाउँछन्, ‘बाल्यकालमा ‘पागल’ भन्ने साथीले एक दिन पत्रिकामा आएको मेरोे आर्टिकल पढेछ। त्यसपछि भेटमा ऊ अंगालो हालेर भक्कानिएर रोयो, ‘तिमी ठूलो मान्छे भएछौ। हामीलाई थाहा भएन। हाम्रो गल्ती भयो।’
‘बाल्यकालमा पनि म त्यति बेस्सरी रोएको थिइनँ होला, जसरी उसले मेरो अंगालो हाल्दा म रोएको थिएँ,’ ईश्वर भावुक हुँदै भन्छन्। ०७१ सालयता ईश्वर काममा व्यस्त छन्। कोसिस नामक संस्थामा उनी कोषाध्यक्ष छन्।
लेखनमा सक्रिय ईश्वरको तामाङ भाषामा एउटा संस्मरण प्रकाशित छ। ईश्वरले दिवंगत बहिनीका नाममा ‘प्लिक्सी’ कविता संग्रह प्रकाशन गरेका छन्। ‘ल्हुइला गोङमा’ तामाङ भाषामा उनको संस्मरण हालै प्रकाशित भएको छ। त्यसैगरी पिङ्गाई (गजलसंग्रह, २०६८), नोरी (कवितासंग्रह, २०७४) रल्हुइलागोङमा (संस्मरण सग्रह, २०७६) प्रकाशित छन्। समग्र नर्सहरूलाई समर्पित गर्दै उनले नयाँ कविता संग्रहको पनि तयारी गर्दैछन्। ‘नर्स’ कविता संग्रह उनको प्रकाशनको तयारीमा छ।
‘यो कविता संग्रह संसारभरकैै नर्सहरुको सम्मानमा लेखिएको कविता सङ्ग्रह हो,’ उनी भन्छन्, ‘मैले समर्पण पनि संसारभरिकै नर्सहरुलाई गरेको छु। मलाई लाग्छ, ‘नर्सहरुको कुनै भूगोल हुँदैन।’
०००
कवि ईश्वर नर्सहरूबारे सधैं सकारात्मक छन्। उनलाई थाहा छ, अस्पतालले यातना शिविर जसरी यातना दिँदा पनि उनलाई नर्सले प्रेम र स्याहार गर्न छाडेनन्।
नर्सबारे कसैले नराम्रो भन्दा उनको मन चसक्क हुन्छ। नर्सहरू कविताजस्तै सरल र सुन्दर हुने कुरामा उनी विश्वास राख्छन्। नर्सका दुःखलाई ईश्वरले नजिकैबाट नियालेका छन्। ‘काम सप्रियो भने डाक्टरलाई श्रेय जान्छ, बिग्रियो भने नर्सलाई। दिनभर/रातभर थकान र प्रेसर हुन्छ नर्सलाई,’ उनी नर्सको पीडाबारे बोल्छन्।
नर्सहरूको संगतबाट उनले धेरै कुरा सिकेका छन् जीवनमा। ‘संसारमा जति पनि प्राणी छन्, सकेसम्म सबैलाई प्रेम गर्नुपर्छ,’ उनी भन्छन्, ‘प्रेमले नै मान्छेलाई हाँस्न र बाँच्न सिकाउने हो।’