काठमाडौं – सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरू सडकमा उत्रिएका छन्।
माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएकोलगायत विभिन्न मागसहित दबाब दिएका छन्।
न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरूको भनाई छ।
‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन्।
गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।
