काठमाडौं– गण्डकी प्रदेशको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचन विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल)को दक्षिण एशियातर्फको सहअध्यक्षमा निर्वाचित भएका छन्। भारतको बेंगलुरुमा सम्पन्न दक्षिण एशिया सम्मेलनबाट डाक्टर गौचन सहअध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
विश्वभरीका एमडिजिपी चिकित्सकहरुकोे संस्था विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल)को सहअध्यक्षमा नेपालबाटै पहिलोपटक दक्षिण एशिया क्षेत्रको सहअध्यक्षमा डा गौचन चयन भएका हुन्। अर्को सहअध्यक्षमा श्रीलंकाका डा गोविथ रत्नम निर्वाचित भएका छन्।
यसअघि एकजना मात्र अध्यक्ष रहने व्यास्था भएपनि यसपटकबाट दुईजना सह अध्यक्ष रहने व्यावस्था (वन्का रुरल)ले गरेको छ । डा गौचन विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल)को हाल लेखा समिति सदस्य समेत हुन्। लेखा समिति सदस्यमा दक्षिण एशियाबाट एकजना मात्रै सदस्य चयन हुने व्यावस्था छ।
डाक्टर गौचनले बिगत ९ वर्षदेखि वन्का रुरलको कार्यकारिणी समितिमा रहेर काम गरिहेका थिए। दुर्गम क्षेत्रको स्वास्थ्य सेवालाई सबल र सुदृढिकरण गर्ने संगठित संस्थाका रुपमा (वन्का रुरल )लाई लिने गरिन्छ।
नेपालको स्वास्थ्य क्षेत्रमा भने एमडिजिपी डाक्टरहरको भुमिका बढी प्रभावकारी देखिन्छ । प्राय दुर्गम क्षेत्रमा अन्य बिशेषज्ञ डाक्टर कम बस्ने भएका कारण नेपालमा एमडिजिपी मोडललाई विकास गरिएको हो । जिपी डाक्टरले प्राय आकस्मिक सेवाका साथै प्रसुती शल्यक्रिया र अन्य सामान्य तथा जटिल शल्यक्रियाका सेवा समेत दिने गरेका छन्।
नेपालको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै प्राथमिक स्वास्थ्यलाई बलियो बनाउन समेत हाल एमडिजिपी चिकित्सकहरुको भूमिका ठूला छ।
को हुन् सहअध्यक्षमा निर्वाचित डाक्टर गौचन?
२०४० सालमा मुस्ताङको लेतेमा जन्मेका विकास गौचन गण्डकी प्रदेशको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा विगत ४ वर्षदेखि कार्यरत छन्। डा गौचनले जीवनको महत्वपूर्ण एक दशक सुदूर पहाडको अछाम जिल्लामा स्वास्थ्य सेवा दिएका थिए। २०६४ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस सकाएर डाक्टर गौचन अछाम पुगेर बयालपाटा अस्पतालमा यस क्षेत्रका नागरिकलाई सेवा दिन सुरु गरेका थिए। बयालपाटामा रहदाँका बखत नै २०७१ श्रावणमा डाक्टर गौचनले एमडीजीपी पूरा गरेका थिए।
दुर्गम क्षेत्रमै जन्म हुर्केका डा गौचनलाई स्वास्थ्यमा दुर्गमका जनताको पहुँचको जटिलता, सेवा पाउनुका कठिनाई देखेका कारण दुर्गममा बसेर जनताको सेवा गर्नुपर्छ भन्ने सोचले उनले एमडीजीपी रोजेका थिए।
दुर्गमको स्वास्थ्य समस्यालाई नजिकबाट चिनेका डाक्टर गौचले सो क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने दृढ ईच्छाशक्ति लिएर सो बिषय अध्ययन पुरा गरे पश्चात महत्वपूर्ण एक दशक दुर्गम ठाउँकै स्वास्थ्य सुधारमा नेतृत्वदायी भूमिका सहित तथा उपचारात्मक सेवा दिएका थिए।
हाल पोखरामै रहेर पनि डा गौचनले त्यहाँका अस्पतालको स्वास्थ्य सेवा सुधार र गुणस्तरिय बनाउन प्रभावकारी भुमिका निर्वाह गरिरहेका छन्। नीति निर्माणको प्रक्रियामा समेत सहभागी भएर दुर्गमको स्वास्थ्य सुधारमा उनी प्रयत्नशील रहेका छन्। कोभिड १९ को महामारीकै बेला डाक्टर गौचनले सरुवा तथा संक्रामक रोग अस्पतालको सेवा सुधार संगै प्रत्यक्ष आफैँ संलग्न भएर बिरामीलाई समेत स्वास्थ्य सेवा दिएका थिए।
सहअध्यक्षमा निर्वाचित भएपछि स्वास्थ्यखबरलाई प्रतिक्रिया दिँदै डाक्टर गौचनले दुर्गम क्षेत्रका नागरिकहरुले स्वास्थ्य सेवा पाउन कठिनाईका साथै आर्थिक भार व्यहोरिरहेका कारण यसलाई न्युनकिरण गरि निशुल्क रुपमा सेवा पाउने गरी सबै क्षेत्रबाट लाग्नुपर्ने धारणा व्यक्त गरे। दक्षिण एसियाका सबै देशहरुमा वन्का रुरलको रााष्ट्रिय कार्यकारीणी समिति गठन गरी दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य सेवाहरुको चुनौतीलाई सवलीकरण गर्न सहजिकरण गर्ने प्रतिबद्धता जनाएका छन्।