काठमाडौं – डा रोजी थपलियाले कर्णालीबारे सुनेकी मात्रै थिइन्। त्यहाँको अभाव, अशिक्षा र रुग्ण स्वास्थ्य सेवाका बारेमा उनले पढेकी थिइन्। सर्लाहीमा जन्मेहुर्केकी उनको त्यो भुगोलसँग यसै नाता जोडिने कुरा भएन।
नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहँदा भने उनले कर्णालीका ‘केस’हरु हेर्न पाइन्। शिक्षाको अभावले झन् जिर्ण भएको स्वास्थ्य अवस्थालाई लिएर त्यहाँका बिरामी आइरहन्थे। चिकित्सकप्रतिको हार्दिकता, समस्या र समाधानलाई लिएर उनीहरुमा देखिने अवोधपनले डा रोजी प्रभावित थिइन्।
एमबीबीएसका पाँच वर्ष यसै–त्यसै बितिगए। उनले नेपाल सरकारको दुई वर्षे करार सेवा विभिन्न ठाउँ पुगेर सेवा दिइन्। त्यसक्रममा भक्तपुर अस्पतालको आइसियु विभागमा समेत काम गरिन्। जहाँ उनलाई आफूले पढेको ‘अर्थ महशुस’ भइरहन्थ्यो।
दुई वर्षे करार अवधि सकिएपछि उनले विशेषज्ञता (पीजी)का लागि परीक्षा दिइन्। तयारी त्यति धेरै होइन, छात्रवृत्तिमै पढ्ने गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाम निस्क्यो। उनको भागमा अहिलेका धेरै युवाचिकित्सकको रोजाइमा पर्ने विषय ‘डम्र्याटोलोजी –यौन तथा छालारोग विशेषज्ञ’ पर्यो। रुपरङलाई प्राथमिकता दिने जमाना छ। त्यसैले डर्म्याटोलोजी अहिले रोज्जाको विषय भएको छ। तर, डा रोजीलाई सुरुदेखि नै एकप्रकारको उकुसमुकुस महशुस भयो

सौन्दर्यलाई प्राथमिकतामा राखेर त उनलाई पढ्नै मन थिएन। उनको एउटा मान्यता छ– मान्छे प्राकृतिक रुपमै सुन्दर हुन्छ। यौन तथा छालासँग सम्बन्धित समस्याको उपचार पनि जरुरी त हुन्छ। त्यसमा रहेकाहरुलाई उनी सम्मान नै गर्छिन् । तर, उनलाई भने त्यो भन्दा फरक गर्नु थियो । त्यसैले पढाइमा मन त्यति गइरहेको थिएन।
कर्णाली एउटा सपना
कर्णाली पुगेर स्वास्थ्य सेवा दिने उनको सपना थियो। त्यसैले कर्णाली प्रदेश लोकसेवामा जाँच दिएकी थिइन्। नतिजा आयो, मेडिकल अधिकृतमा नाम निस्कियो। पीजी पढिरहेकी उनलाई एकदिन पनि दोधार भएन। उनले पीजी हापिन्, कर्णाली रोजिन्।
हाल डोल्पा जिल्ला अस्पतालमा मेडिकल अधिकृतका रुपमा काम गरिरहेकी छिन्। बाल्यकालदेखि नै जिज्ञासु, प्रकृतिप्रेमी, केही फरक गर्ने हुटहुटी उनमा थियो। डोल्पा पुगेपछि उनलाई महशुस भयो– मैले चाहेको नै यही थियो। उनले थपिन्, ‘मनमा लामो समयदेखि रहेको छट्पट्ीले निकास पाएजस्तो भयो।’
तराई जन्मेहुर्केकी उनले यसअघि पहाड र हिमाललाई यति नजिकैबाट नियाल्न पाएकी थिइनन् । त्यहाँको सेरोफेरो र जनजीवनसँग यसरी अभ्यस्त हुन पाएकी थिइनन्। उनी भन्छिन्, ‘यहाँँ पुगेपछि भुगोल र निर्दाेष र अवोध बिरामीसँगको नाता गहिरो हुँदै गयो। मसँग रहेको वेचैनी अहिले चैनमा बदलिँदै गएको छ।

कठिन भुगोल छ। रुख्खासुख्खा जमिनमा सिमित उब्जनी हुन्छ। बेरोजगारी छ, अशिक्षा छ र अभाव छ । तर, त्यो अभावमा उनले ‘प्रेमभाव’ अथाह पाएकी छिन्।
उनी भन्छिन्, ‘उपचारका लागि आउने कतिपय बिरामी डाक्टरहरुका लागि भन्दै अस्पतालमै कोशेली लिएर आउने गर्छन् । त्यहाँ स्याउ, ओखरजस्ता खानेकुरा र फलफूल बिरामीले मायाले ल्याइदिन्छन्।’
पीजी पढ्न छाडिरहँदा दोधार नभएपनि मनमा एकप्रकारको सन्देह थियो । बिरामीलाई आफ्नो दक्षता प्रयोग गर्न पाउनुका साथै उनीहरुले दिने माया र आर्शिवार्दले सही निर्णयमा पुगेको महशुस उनलाई हरेकपल्ट भइरहन्छ।
आँखामा नाचिरहने ती बालक
डा रोजीको अहिलेसम्मको अनुभवमा बिरामीहरु सामान्य समस्या हुँदा अस्पताल पुगिहाल्ने गर्दैनन् । उनीहरु घरमै निको हुने÷गराउने प्रयास गर्छन्। देउता, धामी र झाँक्रीलाई देखाउँछन्। त्यहाँ भएन वा ‘देउताले अस्पताल जान आदेश’ दिएपछि आउँछन्। सवै ठाउँमा बाटो पुगेको छैन, एम्बुलेन्स जाँदैन । स्ट्रेचरमा बिरामी बोकेर हिँडिरहेको दृष्य आमजस्तै छ। उनले भनिन्, ‘गाउँमा युवा पनि छैनन्। बोकेर बिरामीलाई अस्पताल पुर्याउनुपर्ने हुन्छ । घण्टौं काँधमा बोकाएर बिरामी अस्पताल पु¥याउनुपर्छ । त्यसरी बोक्ने काँध किन्दा नै उपचारका लाजि जोहो गरेको रकम सकिन्छ।’
धामी झाँक्रीको विश्वास गरेर अन्तिम चरणमा अस्पताल ल्याइएको ९ वर्षिया एकबालकको तस्बिर उनको आँखा वरिपरि अहिले पनि आइरहन्छ।
रुघाखोकीबाट सुरु हुने सामान्य रोगमा धामीझाँक्रीको विश्वास गरी अन्तिममा अस्पताल ल्याइएका थिए ती बालक।
‘निफ्राइटिक सिन्ड्रोम भएका ती बालकको शरीर फुलेको तथा पिसाब रोकिएको थियो,मुटु समेत सुन्नेर केही गर्न नसक्ने अवस्था भएपछि बालकलाई अस्पताल ल्याइएको थियो,’ उनले उक्त घटना सम्झिइन्।
कतिपय बिरामीले बाटोमै ज्यान गुमाइसक्छन्, आइपुग्ने पनि धेरै अन्तिम अवस्थामा आइपुग्छन्। जसलाई जिल्ला अस्पतालमा ‘म्यानेज’ गर्न सकिन्छ तर निको बनाउन रिफर नै गर्नुपर्छ। त्यतिखेर भने डा रोजीको मन कटक्क खान्छ । उनीहरु मध्ये धेरैको जवाफ हुन्छ– मरे यहीँ मर्छु । उपचार गरिदिनु, बाहिर लैजान पैसा छैन।’
जिल्ला अस्पतालले त्यहीँ भएका सेवासुविधाको अधिकतम गरिरहेको छ । तर, शल्यक्रिया नै गर्नुपर्नेलगायतका बिरामी रेफरल सेन्टरमा नपठाइ धरै छैन।

उनले त्यहाँ अहिले समस्याकै रुपमा देखेको सानै उमेरमा विवाह हो । उनले देखेकी छिन्, ‘आमाको नागरिकता बनाउनुअघि सन्तानको जन्मदर्ता बन्छ।’ कतिपय त १४–१५ वर्षमै गर्भवती तथा सुत्केरी भएर अस्पताल आउने गरेको उनले पाएकी छिन्। जबकी नागरिकता १६ वर्ष पुगेपछि मात्रै बन्छ।
उनको अनुभवमा घरमै सुत्केरी हुने चलन समेत कम भएको छैन। घरमा सुत्केरी हुनै नसक्दा वा साल ननिस्किदा मात्रै अस्पताल पु¥याउन खोजिन्छ । जसको उपचार त्यहीँ सम्भव नहुँदा हेलिकोप्टरमार्फत् अन्य सेन्टरमा पठाउनुपर्ने अवस्था छ ।
डोल्पामा विशेषज्ञ चिकित्सक तथा शल्यक्रिया सेवा पुग्न पुग्नुपर्नेमा उनी जोड दिन्छिन्। ५० हजारको शल्यक्रियाका लागि त्यहाँका जनताले १० लाख खर्च गर्नुपर्ने अवस्थाको अन्त्यउ हुनुपर्ने बताइन्।
दुर्गम एउटा भाष्य र दु:ख
डा थपलियाले डोल्पा पुग्नुअघि त्यहाँको परिवेश एकदमै दुर्गम होला भन्ने सोचेकी थिइन् । ‘ठाउँ दुर्गम भएपनि जति प्रचारमा ल्याइएको छ ,त्यति अभाव भएको ठाउँ कर्णाली होइन रहेछ’, उनले भनिन् ।
यद्यपि बिरामीको नजरबाट हेर्नुपर्दाे भने त्यहाँ धेरै दुःख रहेको उनी बताउँछिन् । त्यहाँका मानिसहरुको चेतना स्तर एकदमै कमजोर भएको उनी बताउँछिन् ।
बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ भन्ने चेतना नरहेको उनले बताइन्। भर्खर जन्मेको बच्चालाई पानी, लिटोपिठो खुवाइदिने, अन्न खुवाइदिने, धुवाँमा राखेर सेक्ने जस्ता अहिले पनि रहेको उल्लेख गरिन्। त्यसैले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य सचेतना गाउँमा पुर्याउनुपर्ने उनले देखेकी छिन्।

अहेब बुबाको प्रेरणाले डाक्टर
उनका बुवा अहेब थिए, सानैदेखि अहेब बुवाले भएर बिरामीको सेवा गरेको देख्दा उनको बाल मानसपटलमा धेरै पढेर डाक्टर बन्ने इच्छा जागेको थियो ।
उनी सानै हुँदा बुवााले डा उपेन्द्र देवकोटालगायत ठुलाठुला चिकित्सकहरुको कुरा गर्थे। उनी त्योबेला मनमनै जसरी पनि डाक्टर बन्ने अठोट गर्थिन् ।
पढ्नमा सानैदेखि तेज थिइन्। त्यसैले चिकित्सक बन्ने सपनामा उनले कहिल्यै अवरोध खेप्नुपरेन । दृढ इच्छाशक्ति भएपछि कसैले रोक्न नसक्ने उनको बुझाइ छ।
गाउँमा छ खाँचो, बढ्दो छ पलायन
नेपालमा पछिल्लो समय चिकित्सक पलायन बढ्दो छ । नेपालमा पर्याप्त मात्रामा लोकसेवा नखुल्ने, पिजी अध्ययनका सिट सीमित हुने तथा चिकित्सकहरुको प्राज्ञिक विकास समेत नहुनाले चिकित्सक पलायन हुने गरेको उनी बताउँछिन्।
यो चिकित्सकका रहर र बाध्यता दुवै भएको उनको राय छ। कर्णालीका जनताको स्वास्थ्यमा पहुँच एकदमै न्युन रहेको उनको अनुभव छ। पहिलेको तुलनामा कर्णालीमा चिकित्सकहरु पुगेपनि त्यहाँ टिक्न सक्ने अवस्था निर्माण भइनसकेको उनले बुझेकी छिन्। सरकारले त्यहाँ काम गर्ने डाक्टरका लागि विशेष व्यवस्था गरेसँगै पहिलेको तुलनामा अवस्था केही परिवर्तन देखिएको उनले बताइन्। देशका अन्य क्षेत्रमा पनि सरकारले यस्तो व्यवस्था गर्न सक्ने चिकित्सक पलायनको स्थितिलाई केही हदसम्म रोक्न सकिने उनको उनको भनाइ छ।