भान्सामै औषधी

कोभिड महामारी र नेपाली खाना

केशव दाहाल  

विश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न धेरै देशले आफ्ना स्रोत-साधन, मानविय संयन्त्र, क्षमता र रणनीतिहरु अबलम्वन गर्दै आएका छन्। नेपालमा पनि कोरोना भाइरसबाट बच्न सरकारी तथा निजी क्षेत्रले आफ्नो क्षमता अनुसार प्रयत्न गर्दै आएका छन्।

अन्य देशको तुलनामा नेपालमा कोरोना भाइरसबाट संक्रमित संख्या तथा मानवीय क्षतिको दर कम नै रहेको पाइन्छ। यो सकारात्मक कुरा हो। हाम्रा धर्म, संस्कृति रीतिरिवाज, चालचलनमा आफ्नै किसिमका विशेषता छन्।

नेपालमा अघिल्ला दशकमा पनि कोरोना भाइरस जस्तै विभिन्न किसिमका महामारी तथा सरुवा रोगका प्रकोपहरु थिए। अस्पताल र औषधि कम मात्रामा  थिए। तर पनि हाम्रा अघिल्ला पुस्ता औलो, हैजा, विफर, दादुरा जस्ता माहामारीसँग लडेर आएका थिए। यस्तो बेलामा अहिलेको लकडाउन जस्तो एक गाउँबाट अर्को गाँउ जान प्रतिबन्ध गरिएको अघिल्ला पुस्ताबाट पनि सुन्दै आएका छौं। 

नेपालको भौगोलिक बनावट र सो अनुसारका संस्कृति, परम्परा, खानपान, हावापानी, पेसा यी सबै कुरा अहिले हाम्रा महत्वका विषय बनेका छन्। रोग प्रतिरोधात्मक क्षमता बढाउन नेपाली खानपानका शैलीले सघाएका तौरतरिकालाई सरल रुपमा बुझ्न निम्न पाँच बुँदामा वर्गीकरण गर्न सकिन्छ।  

१) घर, भान्सा र वरपरको सरसफाइलाई उच्च प्राथमिकता
नेपाली संस्कृति अनुसार ताजा खाना खानुपर्छ भन्ने मान्यता रहेको छ। अलग राखिएको चुल्हो, खाना पकाइसकेपछि पकाइएका भाँडा सफा गर्ने, जुत्ता-चप्पल घरभित्र लैजान निषेध गरिएको हुन्छ। 

घर परिवारभित्र पनि निश्चित उद्देश्यविना एकले अर्कोलाई छुन निषेध हुने गर्छ। यो स्वास्थ्य र अनुशासनको दृष्टिले गरिएको हो। भोजभत्तेर कम गर्ने, त्यसमा पनि निश्चित मानिसलाई बोलाउने, विश्वासिलो मानिसलाई खाना बनाउने र खाना बाँड्ने जिम्वेवारी दिने चलन अहिले पनि गाउँघरमा रहँदै आएको छ, जुन सरसफाइ तथा सामाजिक दूरी कायम गर्ने विषयसँग सम्बन्धित रहने गर्छ। 

२) सफा र शुध्द खानेपानीमा जोड
खानेपानीका मुहान सुरक्षित राख्ने, ट्याङ्कीमा धेरै दिनदेखि जम्मा गरेको पानीभन्दा पनि ताजा र स्वस्थ पानी पिउने कुरा प्राथमिकतामा पर्छन्। अधिकांश गाउँवस्तीमा आलोपालो गरेर जलाधार क्षेत्र, मुहान, वितरण प्रणाली र सार्वजनिक धारा वा कुवाको जिर्णोदार र सरसफाइलाई सामाजिक अभ्यासकै अंग बनाएको पाइन्छ। यो प्रथासँगै जोडिएका केही भेदभाव र छवाछुत जस्ता विकृतिलाई हटाउन सके यो परम्पराले नेपाली समाजलाई पानीजन्य कारणले उत्पन्न हुने कैयौं रोगबाट बच्न मद्दत गरिरहने कुरामा शंका रहँदैन। 

३) ताजा खानालाई उच्च प्राथमिकता
नेपालमा केही स्वास्थ्य विज्ञका अनुसार कोरोनाबाट मृत्यु हुने दर कम हुनुमा हाम्रो खाना खाने संस्कृति पनि हो भनी समाचारमा सुन्ने गरिएको छ। सामाजिक दूरी, खाना पकाउने शैली, भान्सामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने किसिमका औषधिजन्य मसला जस्तैः लसुन, अदुवा, कागती, पिप्ला, तुलसीको पात, बेसार, टिमुर, ल्वाङ, मह, दूध, दही, घ्यू उपयोग गर्ने गर्दछांै। 

४) भान्सामा औषधिजन्य जडिबुटीको अनिवार्यता 
नेपालीको भान्सामा ४० देखि ४५ जातका औषधिजन्य जडिबुटी प्रयोग गरिन्छ। नेवार, ब्राह्मण, थारु, राई, गुरुङ, तामाङ लगायत अन्य जातजातिले विभिन्न रीतिरिवाज, चाडपर्वको समयमा समेत विभिन्न औषधिजन्य रोग प्रतिरोधी शक्ति वृद्धि गर्ने खालका खाना खाने गर्छन्। केही धार्मिक पुस्तकहरुमा पनि खानपान उपचार पद्धति र दैनिक उपयोग गर्ने वस्तुहरुलाई व्यवस्थित नियम संगत तवरले उपयोग गर्न सुझाइएको पाइन्छ। हिन्दुहरुको धार्मिक ग्रन्थहरुमा चार वेदमध्ये अथर्ववेद र अमरकोषमा पनि औषधिजन्य जडिबुटीको नाम उल्लेख गरिएको पाइन्छ। योग, ध्यान, व्यायाम गर्ने कुराहरु हामीले सुन्दै र गर्दै आएका छौं। 

५) पोषिला परम्परागत फास्टफुड (खाजाका परिकार)
खानपानमा पछिल्ला दशकमा नेपालमा पनि परिवर्तनहरु आएका छन्। विगतमा हामी स्वास्थ्यवर्धक खाना मकै, जौ, चामल, कोदो, फापर, आलु खान्थ्यौं। घरमा उत्पादन गरेका तरकारी, दूध, दही, घ्यू दैनिक रुपमा खान्थ्यौं। खाना पनि समुदाय अनुसार फरकफरक स्वाद र तरिका अनुसार बनाइन्थ्यो भने धेरैजसो स्वयंपाक्य हुने गर्थे। खाना खाँदा भुईंमा बसेर खाने, खाजा पनि प्रायः घरमै बनाइन्छ, जुन गुणात्मक रुपमा धेरै राम्रो हुने गर्छ। जस्तै मकै, भटमास, दहिचिउरा आदि। चामलको पिठो, मकैको पिठोको प्रयोग बढी हुन्थ्यो भने मैदाको प्रयोग हँुदैनथ्यो। परम्परागत मिठाई बनाउँदा चिनी रङ मिसाइँदैन जसको महत्व अहिले पनि उत्तिकै छ, जस्तैः खुवा, कुराउनी आदि।

पछिल्लो समय आर्थिक, सामाजिक तथा वातावरणीय परिवर्तनले पाक कलामा पनि उल्लेखनीय परिवर्र्तन आएको छ। पुलाउ, पनिर र मासुजन्य परिकारले पनि धेरै प्राथमिकता पाएका छन्। त्यसैले हाम्रो भान्सामा पनि बाहिरी संस्कृतिले प्रभाव पारेको देखिन्छ। बहुराष्ट्रिय कम्पनीहरुले सरल तर अस्वस्थ जंक खाना, जसले हाम्रो स्वास्थ्यलाई प्रतिकुल असर पार्छ, जुन खाना सजिलै बजारमा प्राप्त हुन्छ। यस्ता खानामा हाम्रो शरीरलाई चाहिने आवश्यक तत्वहरु कार्बोहाइड्रेट, प्रोटिन, मिनिरल्स जस्ता तत्वहरु पाइँदैनन्।

सारसंक्षेप
माथि चर्चा गरिएका विषयवस्तुलाई अहिलेको विद्यालयमा शिक्षा तथा घरपरिवारमा नेपाली धर्म संस्कृति जडिबुटीको उपयोग र फाइदाको बारेमा व्यावहारिक रुपमा सिकाउनु पनि आवश्यक रहेको छ। कोभिड–१९ सँगसँगै हाम्रा असल संस्कारलाई अभ्यासमा परिणत गर्ने र निरन्तरता दिने अवसर पनि हो। माथि चर्चा गरिएका विषयवस्तुहरुलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गरिएको छ। 
-    हाम्रा केही धर्म, संस्कृति, रितिरिवाज, चालचलन अहिलेको संकटसँग सामना गर्न योग्य र वैज्ञानिक किसिमका छन्, जसलाई अझ व्यवस्थित र व्यावहारिक बनाउन सकिन्छ। 
-    पश्चिमाहरुको संस्कृति, चालचलन अपनाउनु नराम्रो होइन तर आफ्ना संस्कृतिलाई जोगाउनु धेरै राम्रो हो। 
-    विद्यालय शिक्षामा केटाकेटीलाई आफ्नाआफ्ना देशका धर्म, संंस्कृति र स्रोत–साधनबारे जानकार बनाउनु आवश्यक छ। 
-    हात मिलाउने, अंकमाल गर्नेभन्दा नमस्कार गर्ने, मान्यजनलाई गोडामा ढोग्ने संस्कृति धेरै स्वास्थ्यवर्धक मानिन्छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने