नेपालको जनसंख्या करिब तीन करोड भनिए पनि वास्तविक सक्रिय उपभोक्ता संख्या त्योभन्दा कम छ। करिब ८० लाख नेपाली विदेशमा छन्। जनसंख्या पलायनले घरेलु बजार अझ सानो हुँदै गएको छ। यस्तो अवस्थामा बजार विस्तार नगरी उद्योग संख्या बढाउनु दीर्घकालीन रूपमा घातक हुन्छ।
नेपाल अहिले फेरि एउटा राजनीतिक मोडमा उभिएको छ। नयाँ निर्वाचनपछि नयाँ सरकार गठन हुने प्रक्रियाले देशभरि एउटा आशा पनि जगाएको छ- अब विकासका मुद्दाहरूले प्राथमिकता पाउलान् कि भन्ने आशा। लामो समयदेखि नेपालको विकासलाई पछाडि धकेल्ने प्रमुख कारण राजनीतिक अस्थिरता नै रह्यो। सरकार परिवर्तनको निरन्तर श्रृंखला, नीतिगत अस्पष्टता, दीर्घकालीन आर्थिक दृष्टिकोणको अभाव र प्रशासनिक जडताले देशका धेरै उद्योगहरूलाई कमजोर बनाएको छ। यीमध्ये औषधि उद्योग पनि एक हो, जसले अहिले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ।
म लामो समयदेखि औषधि उद्योगसँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्ति हुँ। यस क्षेत्रको वास्तविक अवस्था नजिकबाट देख्ने अवसर पनि मलाई प्राप्त भएको छ। त्यसैले आजको सन्दर्भमा मैले एउटा मूल प्रश्न उठाउन चाहन्छु- नेपालको औषधि उद्योगलाई देशको अर्थतन्त्रको ‘संजीवनी बुटी’ कसरी बनाउन सकिन्छ?
व्यवस्थाको स्थिरताका लागि आर्थिक आधार
कुनै पनि राज्य व्यवस्था (चाहे त्यो लोकतन्त्र होस्, गणतन्त्र होस् वा अन्य कुनै शासन प्रणाली) आर्थिक रूपमा सबल नभएसम्म स्थिर रहन सक्दैन। सरकार चलाउन स्रोत चाहिन्छ, राजस्व चाहिन्छ, पूँजी परिचालन गर्न सक्ने क्षमता चाहिन्छ। जबसम्म अर्थतन्त्र मजबुत हुँदैन, तबसम्म राजनीतिक स्थायित्व पनि दीर्घकालीन हुन सक्दैन।
नेपालमा समस्या यहीँबाट सुरु भएको छ। हाम्रो राजनीतिक बहसमा आर्थिक विकासको प्रश्न प्राथमिकतामा कहिल्यै परेन। परिणामस्वरूप उद्योग, उत्पादन र लगानीका क्षेत्रहरू कमजोर भए। औषधि उद्योग पनि यही अवस्थाको एउटा उदाहरण हो।
औषधि उद्योग किन संकटमा?
आज नेपालको औषधि उद्योग डगमगाइरहेको छ। यसको कारण के हो?
पहिलो कारण हो- नीतिगत स्पष्टताको अभाव। सरकारले औषधि उद्योगलाई प्रबर्द्धन गर्ने कुनै स्पष्ट नीति बनाएको छैन। यदि कसैले सरकारसँग 'औषधि उद्योग विकास गर्ने नीति कहाँ छ?' भनेर सोध्यो भने देखाउन मिल्ने एउटा पानाको दस्तावेजसमेत छैन।
दोस्रो, समस्या बजार व्यवस्थापनसँग जोडिएको छ। अहिले सरकार नयाँ–नयाँ औषधि उद्योगलाई लाइसेन्स दिइरहेको छ। तर बजार विस्तार गर्ने कुनै रणनीति छैन। कुनै पनि व्यवसायमा माग र आपूर्तिको सन्तुलन बिग्रियो भने समस्या आउँछ नै। नेपाल जस्तो सानो बजारमा निरन्तर नयाँ कम्पनी थपिँदा प्रतिस्पर्धा अस्वस्थ हुने अवस्था बनेको छ।
नेपालको जनसंख्या करिब तीन करोड भनिए पनि वास्तविक सक्रिय उपभोक्ता संख्या त्योभन्दा कम छ। करिब ८० लाख नेपाली विदेशमा छन्। जनसंख्या पलायनले घरेलु बजार अझ सानो हुँदै गएको छ। यस्तो अवस्थामा बजार विस्तार नगरी उद्योग संख्या बढाउनु दीर्घकालीन रूपमा घातक हुन्छ।
लक्ष्य बिना विकास असम्भव
नेपालमा विकासको अर्को ठूलो समस्या के छ भने सरकारसँग स्पष्ट लक्ष्य नै हुँदैन। यदि हामी औषधि उद्योगलाई वास्तवमै विकास गर्न चाहन्छौं भने सबैभन्दा पहिले एउटा संस्थागत संरचना आवश्यक छ। मेरो सुझाव के हो भने 'औषधि प्रवर्द्धन बोर्ड' गठन गरिनुपर्छ।
अहिले अनुमानित रूपमा नेपाली औषधि उद्योगले बजारको ४५–५० प्रतिशत हिस्सा ओगटेको छ। यदि सरकारले स्पष्ट लक्ष्य निर्धारण गरेर पाँच वर्षभित्र यसलाई ६५–७० प्रतिशत पुर्याउने योजना बनायो भने यो सम्भव छ।
यसरी बजार हिस्सा बढ्यो भने कम्तीमा पनि १५ देखि २० अर्ब रुपैयाँ बराबरको बजार विस्तार हुनेछ। यसले उद्योगहरूलाई आर्थिक रूपमा स्वस्थ बनाउनेछ। उत्पादन बढेपछि रोजगारी बढ्छ, कर्मचारीको संख्या बढ्छ, त्यससँगै सरकारको राजस्व पनि बढ्छ।
सरकारले राजस्व बढाउने सबैभन्दा प्रभावकारी उपाय भनेकै उद्योग र व्यवसायलाई बढ्न दिनु हो। व्यवसाय बढ्यो भने कर आफै बढ्छ।
मानसिकता परिवर्तन र मेडिकल टुरिजम
हाम्रो अर्को ठूलो समस्या मानसिकता हो। हामी प्रायः नेपाललाई सानो बजार भएको देश भनेर निराश हुन्छौं। तर वास्तविकता के हो भने नेपाल सानो बजार मात्र होइन, ठूलो क्षेत्रीय बजारको केन्द्र पनि हो।
नेपाल तीनतिरबाट भारतले घेरिएको छ। बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल र उत्तराखण्ड, यी चार राज्य मात्र हेर्ने हो भने त्यहाँको जनसंख्या करिब ५० करोड पुग्छ। यो हाम्रो सम्भावित बजार हो।
प्रश्न उठ्छ- हामीले यसलाई कसरी उपयोग गर्ने?
नेपालको स्वास्थ्य सेवा प्रणाली धेरै क्षेत्रमा छिमेकी भारतीय राज्यहरूको तुलनामा राम्रो छ। विशेष गरी आँखाको उपचार जस्ता क्षेत्रमा भारतबाट ठूलो संख्यामा बिरामी नेपाल आउने गरेका छन्।
यदि सरकारले सही नीति बनायो भने मेडिकल टुरिजम नेपालका लागि ठूलो अवसर बन्न सक्छ।
कल्पना गरौं- यदि भारतका ती ५० करोड जनसंख्यामध्ये वर्षमा दुई करोड मानिसलाई स्वास्थ्य सेवाका लागि नेपाल ल्याउन सकियो भने के होला?
ती बिरामीहरू यहाँ उपचार गर्न आउँछन्। उनीहरू अस्पतालमा बस्छन्, होटलमा बस्छन्, खाना खान्छन्, यातायात प्रयोग गर्छन्। यसको प्रभाव केवल अस्पताल वा औषधि उद्योगमा मात्र होइन, समग्र अर्थतन्त्रमा पर्छ।
मेडिकल टुरिजमको विकासले औषधिको माग पनि स्वाभाविक रूपमा बढाउँछ। भारतमा प्रत्येक वर्ष लाखौं विद्यार्थीले एमबीबीएस प्रवेश परीक्षा दिन्छन्। तर तीमध्ये सीमित संख्याले मात्र अध्ययनको अवसर पाउँछन्। नेपालले यदि आफ्नो मेडिकल शिक्षालाई व्यवस्थित रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सक्यो भने त्यो आफैंमा ठूलो आर्थिक स्रोत बन्न सक्छ।
मूल्य नियन्त्रण नीति
औषधि उद्योगलाई कमजोर बनाउने अर्को ठूलो कारण मूल्य नियन्त्रण नीति हो। नेपालमा करिब दुई दशकअघि औषधिको मूल्य नियन्त्रण गरिएको थियो। तर त्यसपछि त्यो नीति कहिल्यै समीक्षा गरिएन।
२० वर्षअघि निर्धारण गरिएको मूल्यमा आज पनि औषधि बेच्नुपर्ने अवस्था उद्योगका लागि असहज छ। उत्पादन लागत, कच्चा पदार्थ, ऊर्जा, श्रम—सबै खर्च बढिसकेको छ। तर मूल्य उही छ भने उद्योग कसरी टिक्न सक्छ?
सरकारले गुणस्तरमा कडाइ गर्नुपर्छ, तर मूल्य व्यवस्थापनलाई यथार्थपरक बनाउनु आवश्यक छ।
नयाँ प्रविधि र उत्पादन
नेपालमा अहिले धेरै कम्पनीहरू एउटै प्रकारका औषधि उत्पादनमा केन्द्रित छन्। यसले बजारलाई थप संकुचित बनाएको छ। सरकारले उद्योगलाई नयाँ क्षेत्रमा प्रवेश गर्न प्रोत्साहित गर्नुपर्छ। जस्तै, भ्याक्सिन, बायोलोजिकल उत्पादन आदि।
यदि सरकारले बजार सुनिश्चित गरिदियो भने निजी क्षेत्र लगानी गर्न तयार छ। आवश्यक परे विदेशी प्राविधिक सहकार्य पनि ल्याउन सकिन्छ।
लगानी वातावरण सुधार र प्रवासी नेपालीको पूँजी
नेपालमा लगानी सम्मेलनहरू धेरै हुन्छन्। तर वास्तविक लगानी किन आउँदैन? किनभने यहाँ भित्रै रहेका लगानीकर्ताहरू नै विश्वस्त छैनन्। यदि देशभित्रका उद्यमीहरूलाई विश्वास छैन भने विदेशी लगानीकर्ताले किन विश्वास गर्ने? सबैभन्दा पहिले सरकारले आफ्नै नागरिकमा लगानी गर्ने आत्मविश्वास जगाउनुपर्छ।
आज करिब ८० लाख नेपाली विदेशमा छन्। उनीहरू धेरै ठूलो धनाढ्य नहुन सक्छन्, तर उनीहरूसँग अनुभव, पूँजी र लगानी गर्ने क्षमता छ। यदि सरकारले स्पष्ट नीति बनाएर उनीहरूलाई नेपालमा लगानी गर्न सुरक्षित वातावरण दियो भने देशको आर्थिक संरचना परिवर्तन हुन सक्छ।
निष्कर्ष
नेपालमा समस्या मात्र छैन, सम्भावना पनि प्रशस्त छन्। हाम्रो भौगोलिक अवस्थिति, जनशक्ति, स्वास्थ्य सेवा र क्षेत्रीय बजार, यी सबै हाम्रो बलिया पक्ष हुन्। तर यी अवसरहरूलाई उपयोग गर्न स्पष्ट दृष्टिकोण, दीर्घकालीन नीति र स्थिर नेतृत्व आवश्यक छ।
औषधि उद्योगलाई प्रबर्द्धन गर्ने नीति, मेडिकल टुरिजमको विकास, मूल्य नियन्त्रण नीतिको पुनरावलोकन, नयाँ प्रविधिमा लगानी र लगानीकर्तामा विश्वास जगाउने वातावरण, यी कदम चाल्न सके नेपालले औषधि उद्योगलाई आर्थिक विकासको महत्वपूर्ण आधार बनाउन सक्छ।
यदि सही नीति र प्रतिबद्धता भए भने औषधि उद्योग केवल एउटा औद्योगिक क्षेत्र मात्र होइन, नेपालको अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार बन्न सक्छ।
-(सुधीर प्रकाश मास्के म्याग्नस फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हुन्।)
सिफारिस

