नेपालमा औषधि उद्योगको इतिहास करिब चार दशक लामो भइसकेको छ। करिब ३५–४० वर्षको यो यात्रामा नेपाली औषधि उद्योगहरूले केवल स्वास्थ्य सेवामा मात्र नभई मुलुकको अर्थतन्त्रमा पनि उल्लेख्य योगदान पुर्याउँदै आएका छन्। हाल यो क्षेत्रले प्रत्यक्ष रूपमा १५ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको छ भने ७० अर्ब रुपैयाँभन्दा बढीको बैंकिङ ऋण परिचालन गरेर वित्तीय क्षेत्रलाई समेत चलायमान बनाइरहेको छ। उद्योगीको मुनाफाबाट प्राप्त हुने राजस्व र वितरण शृङ्खलामार्फत सिर्जना हुने हजारौँ रोजगारीका कारण अन्य क्षेत्रको तुलनामा औषधि उद्योगले अर्थतन्त्रमा धेरै ठूलो हिस्सा ओगटेको छ। यही महत्त्वलाई बुझेर नेपाल सरकार र राष्ट्र बैंकले पनि यसलाई प्रवद्र्धन गर्नुपर्ने 'टप ५' उद्योगको सूचीमा राखेका छन्।
बजारको अवस्था र नेपाली उद्योगको उपस्थिति
नेपालमा औषधिको समग्र वार्षिक बजार १ खर्ब रुपैयाँभन्दा बढीको रहेको अनुमान छ। यसमध्ये भ्याक्सिन र सर्जिकल सामग्री बाहेकको औषधिको मात्र बजार करिब ७० अर्ब रुपैयाँ बराबरको छ, जसमा नेपाली उद्योगहरूले ५० प्रतिशत हिस्सा ओगट्न सफल भएका छन्। यद्यपि, नेपाली उद्योगहरूले धेरै प्रकारका औषधि उत्पादन गरिरहेको भए पनि कतिपय जटिल र नयाँ प्रविधिका औषधिहरू अझै उत्पादन हुन सकेका छैनन्। राज्यले उपयुक्त वातावरण र सहयोग उपलब्ध गराउने हो भने नेपाली उद्योगीहरू त्यस्ता जटिल औषधिहरू पनि सहजै बनाउन सक्ने क्षमता राख्दछन्।
नीतिगत सुधार र सरकारी सहयोगको आवश्यकता
स्वदेशी उद्योगको ५० प्रतिशत बजार हिस्सालाई अझै विस्तार गरी ८० प्रतिशतसम्म पुर्याउन सरकारले केही ठोस नीतिगत कदम चाल्न आवश्यक छ। सबैभन्दा महत्त्वपूर्ण विषय 'कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ' (करार उत्पादन) को प्रणाली लागू गर्नु हो। यो व्यवस्था हुनासाथ विदेशबाट आयात भइरहेका धेरै औषधिहरू नेपालमै बन्न थाल्नेछन्, जसले प्रविधि हस्तान्तरणमा समेत ठूलो मद्दत पुर्याउनेछ।
यसका साथै, नेपाली औषधिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार-सरकारबीच (जिटूजी) छलफल र वाणिज्य सन्धिहरू हुन जरुरी छ। निर्यातमा प्रोत्साहन, अत्याधुनिक ल्याब निर्माण, विद्युत् महसुलमा सहुलियत र सस्तो ब्याजदरमा ऋण जस्ता सुविधाहरूले यो क्षेत्रलाई थप ऊर्जा दिनेछन्। तत्कालका लागि सरकारले 'औषधि औद्योगिक क्षेत्र' (फार्मा पार्क) घोषणा गरेर बिजुली तथा यातायातको विशेष व्यवस्था गरिदिने हो भने उद्योगहरूको कार्यक्षमतामा आमूल परिवर्तन आउने निश्चित छ।
उत्पादनको जटिलता र दायित्व
औषधि उत्पादन आफैँमा एक संवेदनशील र लामो प्रक्रिया हो। एउटा औषधि तयार पार्न १८ देखि २० प्रकारका कच्चा पदार्थ, प्याकिङ सामग्री र रासायनिक वस्तुहरू आवश्यक पर्छन्। उत्पादन भइसकेपछि पनि यसको 'एक्सपायरी डेट' नसकिँदासम्म प्रत्येक तीन-तीन महिनामा गुणस्तर परीक्षण गरिरहनुपर्ने दायित्व र खर्च उद्योगले नै बेहोर्नुपर्छ। बजारमा पठाएदेखि म्याद सकिएर नष्ट गर्दासम्मको सम्पूर्ण आर्थिक भार उद्योगकै हुन्छ।
नेपालमा हाल प्याकिङ उद्योगहरू खुल्न थाले पनि कच्चा पदार्थ (एपिआई) उत्पादन गर्ने उद्योगहरू आउन सकेका छैनन्। यदि सरकारले कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ र उपयुक्त औद्योगिक वातावरण सुनिश्चित गरिदिने हो भने भविष्यमा कच्चा पदार्थकै उद्योगहरू पनि स्थापना हुन सक्छन्। यसले नयाँ बजार र ठूलो मात्रामा रोजगारी सिर्जना गर्दै नेपाललाई औषधिमा आत्मनिर्भर मात्र बनाउने छैन, बरु वैदेशिक मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोतका रूपमा स्थापित गर्नेछ।
-(नेपाल औषधि उत्पादक संघ महासचिव सन्तोष बरालसँगको कुराकानीमा आधारित)
