काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालले पाएकी छिन्। मन्त्रालयले पछिल्लो समय गरेको प्रशासनिक हेरफेरका क्रममा अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
मन्त्रालयको प्रवक्ताका रूपमा कार्यरत डा. प्रकाश बुढाथोकीको वीर अस्पतालमा सरुवा भएसँगै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख रहेकी अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रशासन महाशाखा प्रमुख दिवश आचार्यले जानकारी दिए।
अर्याल पनि हालै मात्र मन्त्रालयमा सरुवा भएर आएकी थिइन्। स्वास्थ्य तालिम केन्द्रबाट अर्याललाई समन्वय महाशाखामा सरुवा गरेर ल्याइएको थियो। उनले सोमबारदेखि मन्त्रालयमा महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेकी हुन्।
विगतमा समन्वय महाशाखा प्रमुख नै मन्त्रालयको प्रवक्ता हुँदै आइरहेका थिए। अर्यालले यसअघि पनि उक्त महाशाखाको प्रमुखका रुपमा काम गरेकी छिन्।