राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय स्तरमै किन नहोस्, औषधि उत्पादनमा प्रयोग हुने आधारभूत सामग्रीहरू प्रायः समान प्रकृतिका हुन्छन्। पछिल्लो समय भने नयाँ–नयाँ रोगहरूको पहिचानसँगै अनुसन्धानका आधारमा प्रभावकारी औषधि उत्पादन गर्ने प्रवृत्ति बढ्दै गएको छ।
कुनै पनि औषधि उत्पादन सुरु गर्नुअघि त्यसको गुणस्तर कसरी सुनिश्चित गर्ने भन्ने विषयमा उद्योगहरूले विस्तृत अध्ययन गर्ने गर्छन्। नेपाली औषधि उद्योगहरूले पनि ट्याब्लेट, लिक्विड तथा इन्जेक्सनजस्ता विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएका छन्। पछिल्ला वर्षहरूमा नेपालमा औषधि उत्पादनका लागि आवश्यक नयाँ–नयाँ प्रविधिको विकास पनि भइसकेको छ।
नेपालमा जस्तै विदेशमा पनि औषधिसम्बन्धी विभिन्न प्रकारका एक्स्पोहरू आयोजना हुने गरेका छन्। त्यस्ता कार्यक्रममा नेपालले पनि सहभागिता जनाउँदै आएको छ। त्यहाँबाट प्राप्त ज्ञान र अनुभवलाई नेपाली औषधि उद्योगहरूले आफ्ना उत्पादन तथा प्रविधिमा प्रयोग गर्ने गरेका छन्।
नेपाल औषधि उत्पादक संघको स्थापना सन् १९९० मा भएको हो र यसले तीन दशकभन्दा बढी समय पार गरिसकेको छ। मेरो कार्यकालमा पहिलो पटक ‘फार्मा एक्स्पो’ आयोजना गरिएको थियो। त्यसबेला उमेशलाल श्रेष्ठलाई एक्स्पोको प्रमुख जिम्मेवारी दिइएको थियो। त्यतिबेलादेखि नै हामी विदेशमा हुने एक्स्पोहरूमा सहभागी हुन थाल्यौँ।
पहिलो एक्स्पोको समयमा नेपालमा भविष्यमा कस्ता उद्योगहरू स्थापना गर्न सकिन्छ, औषधि उद्योग, बजार र सरकारबीच कसरी समन्वय गर्ने भन्ने विषयमा विशेष छलफल हुने गर्थ्यो। त्यसबेला नेपाली औषधि उद्योग मुख्यतः आधारभूत औषधि उत्पादनमा केन्द्रित थियो। केही उद्योगहरूले भने भारतबाट फार्मासिस्ट ल्याएर पनि औषधि उत्पादन गर्ने गरेका थिए।
त्यतिबेला नेपालमा इन्जेक्टेबल औषधि उत्पादन सुरु भएको थिएन। औषधि उत्पादन गर्ने उद्योगहरूको संख्या पनि करिब १०–१२ को हाराहारीमा मात्रै थियो।
अहिले भने अवस्था धेरै परिवर्तन भएको छ। हाल नेपालमा करिब ७० को हाराहारीमा औषधि उद्योग सञ्चालनमा छन्। अहिले नेपालमा प्रायः सबै प्रकारका औषधि उत्पादन गर्न सक्ने प्रविधिको विकास भइसकेको छ। दैनिकजसो नयाँ–नयाँ औषधि उत्पादनहरू बजारमा आउन थालेका छन्।
नेपालमा राजनीतिक अस्थिरता देखिन्छ। सरकार परिवर्तनसँगै नयाँ–नयाँ नीति बनाइन्छ। नयाँ सरकारसँगै स्वास्थ्यमन्त्री पनि परिवर्तन हुन्छन् र त्यसले कामको निरन्तरतामा असर पार्छ। यस्तो अवस्थामा औषधि उद्योगमा गरिएको लगानी पूर्ण रूपमा सुरक्षित महसुस गर्न सकिएको छैन।
अहिले पनि नेपालको अर्बौं रुपैयाँ विदेशी औषधि आयातमा, विशेषगरी भारततर्फ जाने गरेको छ। त्यसैले सरकारले सर्वप्रथम आयात घटाउनेतर्फ लक्षित नीति ल्याउन आवश्यक छ। यसको अर्थ स्वदेशी लगानीमा औषधि उत्पादन गर्ने वातावरण निर्माण गर्नु हो। यस्तो वातावरण बनेमा देशको आर्थिक अवस्थामा पनि सुधार आउन सक्छ।
औषधि उद्योगले उत्पादनबाट आम्दानी गरेर सरकारलाई कर तिर्छ। त्यसैले कर संकलन वृद्धि गर्ने दृष्टिकोणबाट पनि सरकारले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्नु आवश्यक छ। यसका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने हुन्छ।
अहिले नेपाली औषधि उद्योगले उत्पादन गर्न सक्ने केही औषधि पनि विदेशबाट आयात हुने गरेको अवस्था छ। यस्तो अवस्थालाई नियन्त्रण गर्न सरकारले स्पष्ट नीति ल्याउन आवश्यक छ।
जहाँसम्म औषधिको गुणस्तरको कुरा छ, नेपाली औषधि उद्योगले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता गरेको छैन। नेपालमा उत्पादित औषधिको गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागले कडाइका साथ परीक्षण गर्दै आएको छ।
हामीले उत्पादन गर्ने औषधिहरूमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको जिएमपी मापदण्ड पनि पालना गरिएको हुन्छ, जसले नेपाली औषधिको गुणस्तरलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने आधार प्रदान गरेको छ।
-(प्रदीपमान वैद्य नेपाल औषधि उत्पादक संघका संस्थापक अध्यक्ष हुन्।)


