काठमाडौं- ‘नेपाल मेडिकल तथा ल्याब एक्स्पो–२०२६’ आगामी वैशाख १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। तीन दिनसम्म चल्ने यस प्रदर्शनीको नवौं संस्करण एसडी प्रोमो मिडियाले केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाल (केमसान)सँगको सहकार्यमा गर्न लागेको हो।
आयोजकका अनुसार एक्स्पोमा नेपालसहित भारत र अन्य विभिन्न देशका गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अत्याधुनिक प्रविधि, उपकरण, उत्पादन र नवीन आविष्कारहरू प्रस्तुत गरिनेछ। साथै, विश्वस्तरका मेडिकल टेक्नोलोजी, डायग्नोस्टिक प्रणाली तथा प्रयोगशाला सेवासम्बन्धी सामग्रीहरू पनि अवलोकन गर्न पाइनेछ। करिब ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र एक हजारभन्दा बढी उत्पादन तथा सेवाहरू एकै स्थानमा प्रदर्शित हुने जनाइएको छ।
केमसानका अध्यक्ष भक्त हमालका अनुसार एक्स्पोले स्वास्थ्य सेवा, औषधि उद्योग तथा अनुसन्धान संस्थाहरूले प्रयोग गर्दै आएका सामग्रीबारे जानकारी दिनेछ। “यसले नयाँ प्रविधि र उत्पादनबारे जानकारी दिने मात्र होइन, खरीदकर्ता र आपूर्तिकर्ताबीच व्यापार विस्तारको अवसर पनि सिर्जना गर्छ,” उनले भने। उनका अनुसार प्रदर्शनीले स्वास्थ्य क्षेत्रका पेशाकर्मीहरू—अस्पताल सञ्चालक, चिकित्सक, नर्स तथा अनुसन्धानकर्ताहरू—लाई एकआपसमा चिनिने र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ।
एचडी प्रोमो मिडिया प्रालिका परियोजना प्रमुख अनुरोध परासरले यसपटकको संस्करण अघिल्ला वर्षभन्दा ठूलो र फरक हुने बताए। उनका अनुसार विभिन्न मूल्यका नवीन उपकरण तथा सेवाहरूलाई देशभरका सम्भावित ग्राहकसम्म पुर्याउने लक्ष्य राखिएको छ। 'यो प्लेटफर्मले साना र ठूला कम्पनीबीच सहकार्य बढाउने र आफ्ना उत्पादन तथा सेवाहरूलाई व्यापक रूपमा चिनाउने अवसर दिन्छ,' उनले भने।
प्रदर्शनीमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मो फिसर साइन्टिफिक, ह्युमन डायाग्नोस्टिक, स्निबे, ड्रागर र सीटीके बायोटेक लगायत विश्वप्रसिद्ध ब्रान्डहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
नेपालमा औषधि बाहेक केमिकल, मेडिकल उपकरण तथा प्रयोगशाला सामग्रीहरूको वार्षिक कारोबार २० अर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ। यस्तो अवस्थामा यस किसिमको प्रदर्शनीले स्वास्थ्य क्षेत्रको प्रविधि विकास र व्यापार प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।