नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्षको बैशाख महिनालाई खोपको महिनाको रूपमा मनाउँदै आएको छ। अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभर खोप सप्ताहको रूपमा पनि मनाइन्छ। यो अभियानलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा समन्वय गर्दै आएको पाइन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख महिनामा खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि बृहत खोज र खोप अभियान २०८३ सञ्चालन गरेको छ। मन्त्रालयले बैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप अभियान २०८३ सञ्चालन गर्न लागेको हो।
खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि बैशाख महिनामा देशभरका सबै बालबालिकालाई, १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोपमा छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई, सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप दिने अभियान भएकाले बैशाख महिनालाई खोपको महिनाको रूपमा परिभाषित गरिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरूमा निःशुल्क रूपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि दुई वर्षभित्रका बालबालिकालाई विभिन्न घातक रोगहरू विरुद्ध खोप उपलब्ध रहेको कुरा सर्वविदितै छ।
यस्ता घातक रोगहरूबाट भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकालाई पूर्ण रूपमा बचाउनका लागि हरेक परिवारले आफ्ना बालबालिकालाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुँदासम्म अर्थात दुई वर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरूसँग बच्चालाई भेट गरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु अत्यन्तै जरुरी र महत्वपूर्ण कार्य मानिन्छ। भनिन्छ, “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस।” ठीक त्यसैको आधारमा यो कार्यलाई निकै महत्वका साथ हेरिएको छ। त्यस कारणले गर्दा हरेक स्वास्थ्य संस्थाबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संवेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा मानिन्छ। त्यसैले गर्दा यो खोप कार्यक्रमलाई ‘पी वान’ कार्यक्रम अर्थात कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ।
हरेक वर्ष बैशाख महिनामा नियमित रूपमा खोप कार्यक्रममा छुट भएका बालबालिकाहरूलाई सम्पूर्ण स्वास्थ्यकर्मीहरूले आ-आफ्ना सेवा क्षेत्रभित्रका बालबालिकाहरूका लागि सेवा क्षेत्रका गाउँहरूमा घरधुरी सर्वेक्षण गरी खोपको दिगोपना निरन्तर दिने, कतैबाट छुटेकाहरूलाई पुनः खोप केन्द्रमा बोलाई खोप लगाई दिने, पूर्ण खोप सुनिश्चित गर्ने र खोपको दिगोपना सुनिश्चित गर्ने कार्य निरन्तर गरिने भएकाले बैशाख महिनालाई खोपको महिना भनिएको हो। याद गरौं, जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन्। खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि २०८३ बैशाख महिनाको बृहत खोज र खोप अभियान सफल बनाउन आ-आफ्नो स्थानबाट लागिपरौं।
हाल नेपालमा नियमित खोप कार्यक्रम अन्तर्गत १४ वटा रोगहरू विरुद्ध खोप दिइन्छ र प्रतिरोधात्मक क्षमता विकास गरी यी रोगहरू लाग्नबाट बच्न सकिन्छ।
१. क्षयरोग
२. रोटा भाइरसबाट हुने झाडापखाला
३. पक्षघात (पोलियो)
४. निमोनिया
५. भ्यागुते रोग
६. लहरेखोकी
७. धनुष्टंकार
८. हेपाटाइटिस बी
९. हेमोफिलस इन्फ्लुएन्जा बी
१०. दादुरा
११. रुबेला
१२. टाइफाइड
१३. जापानिज इन्सेफलाइटिस
१४. पाठेघरको मुखको क्यान्सर
खोपको महत्व :
खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ। खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो। प्रत्येक पाँच जना बालबालिकाको मृत्युमध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ। खोपले जीवन बचाउँछ। खोप सबैभन्दा राम्रो लगानी हो। जनताको लागि यो निःशुल्क अधिकार हो। रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो। एक जना बच्चालाई सम्पूर्ण खोप पुरा गर्न करिब तीस हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने भनिएको छ। त्यस कारणले पनि नेपाल सरकारले बालबालिकाका लागि निःशुल्क रूपमा वितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य हो।
सरकारले निःशुल्क रूपमा सञ्चालनमा ल्याएको खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरू बाहिरी रूपमा किनेर प्रयोगमा ल्याउन हामी नेपालीहरूको क्षमता भन्दा बाहिरको विषय भएकाले आफ्ना बालबालिकालाई यी १४ वटा घातक रोगबाट बचाउन, लुलो, लंगडो, सुस्त मनस्थिति तथा बौद्धिक कमजोरीबाट जोगाउन तथा बच्चाको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकासमा असर नपरोस् भन्नका लागि यी महत्वपूर्ण खोपहरू नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा लगेर अनिवार्य रूपमा लगाऔं। आफ्ना बालबालिकाको भविष्य उज्ज्वल बनाऔं। जानेर वा नजानेर कुनै पनि अभिभावकले बालबालिकालाई खोप लगाउने प्राकृतिक अधिकारबाट वञ्चित नगरौं। हरेक वर्ष अभियानकै रूपमा सञ्चालन हुने बैशाख महिनाको खोप अभियानलाई सफल पारौं।
खोपबारे जान्नै पर्ने कुराहरू :
१. हरेक वर्ष विश्वमा झण्डै ४० लाखको जीवन खोपले बचाउँछ।
२. खोप निःशुल्क पाइन्छ, सुरक्षित हुन्छ र जीवन रक्षा गर्दछ।
३. जन्मेदेखि १५ महिनाको उमेरसम्म पाउने सबै खोपहरू समयमै पूरा गर्नुपर्छ।
४. सबै खोप पूरा गर्न कम्तीमा ७ पटक स्वास्थ्य संस्था वा खोप केन्द्रमा जानुपर्छ।
५. खोप लगाएपछि सामान्यतया ज्वरो आउने, खोप लगाएको ठाउँ दुख्ने, सुन्निने वा रातो हुने हुन सक्छ। यी लक्षणहरू केही दिनमा आफैं निको हुन्छन्। तर उच्च ज्वरो आएमा, खोप लगाएको ठाउँमा रगत बगिरहेमा, बच्चा ३ घण्टाभन्दा बढी रोइरहेमा, दूध नचुसेमा वा अचेत भएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ।
६. बच्चाको खोप कार्ड सुरक्षित राख्नुपर्छ।
७. खोप लगाउन नहुने अवस्था बाहेक आफ्ना बच्चालाई खोप नलगाएमा अभिभावक खोप ऐनअनुसार कारबाहीको भागिदार हुन सक्छन्।
८. खोप नियमित लगाए पनि सधैं सरसफाइका नियमहरू पालन गर्नुपर्छ।
९. आफ्नो स्वास्थ्य र आफ्ना बालबालिकाको जिम्मेवारी आफैं लिनुपर्छ।
-(भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)