काठमाडौं - गर्भपतनका क्रममा महिलाको मृत्यु भएको घटनामा उपचारमा लापरबाही गर्ने मेडिकललाई सञ्चालनमा रोक लगाइने भएको छ। गर्भपतन गराउँदा पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको गत वैशाख ६ गते मृत्यु भएको थियो।
घटनाबारे छानबिन गर्न नेपाल मेडिकल काउन्सिलले काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा प्रा.डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र नागरिक समाजका तर्फबाट पत्रकार दिनेश पाण्डे सदस्य थिए।
छानबिन समितिले घटना चिकित्सकीय नियमविपरीत भएको निष्कर्ष निकालेपछि उपचारमा संलग्न डा. सतिश रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरिएको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिश देवले बताए।
‘घटनाबारे अनुसन्धान गर्न गठित ६ सदस्यीय छानबिन समितिले चिकित्सकीय नियमविपरीत अभ्यास भएको निष्कर्ष निकालेको छ,’ रजिस्ट्रार डा. देवले भने, ‘अन्य बिरामीलाई पनि खतरा हुन सक्ने आकलनसहित काउन्सिलले चिकित्सकलाई निलम्बन र संस्थालाई सिल गर्ने निर्णय गरेको हो।’
प्रहरी प्रशासनको सहयोगमा गलत चिकित्सकीय अभ्यास गर्ने उक्त संस्थालाई सिल गरिने डा. देवले जानकारी दिए।
के थियो घटना?
मृतकका श्रीमान् प्रकाश पाण्डेका अनुसार १२ हप्ताको गर्भ रहेकी गीता नियमित परीक्षणका लागि चैत २७ गते खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँ भिडियो एक्सरे गर्दा भ्रूण असामान्य देखिएको भन्दै स्वास्थ्यकर्मीले गर्भपतनको सल्लाह दिएका थिए। सोहीअनुसार वैशाख ५ गते उनीहरू नर्सिङ होम पुगेका थिए। तर, त्यहाँबाट उनीहरूलाई औषधि खरिद र थप प्रक्रियाका लागि लोकेसन कार्ड दिएर जोनल फार्मेसीमा पठाइएको थियो।
जोनल फार्मेसीमा १६ हजार शुल्क लाग्ने भन्दै दुई हजार बैना लिएर गर्भपतनका लागि औषधि दिइएको थियो। औषधि सेवनपछि स्वास्थ्य अवस्था जटिल बनेकी गीतालाई इन्दुलेखा क्लिनिक पुर्याइएको थियो, जहाँ उनी अचेत भइन्। अचेत अवस्थामै लुम्बिनी सिटी अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मेडिकल काउन्सिलले छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेपछि मात्रै परिवारले शव बुझेका थिए।