काठमाडौं- कर्णाली प्रादेशिक अस्पताल सुर्खेतले खरिद गर्न थालेको एमआरईका विषयमा सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ।
एमआरआई खरिदमा अनियमितता भएको आशंकामा कर्णाली प्रदेश सभाको सार्वजानिक लेखा समितिले छानबिन थालेको हो।
सरकारका दुई अस्पतालमा एउटै कम्पनीबाट एकै क्षमताको एमआरई मेसिन खरिदका क्रममा ७ करोड रुपैयाँ फरक परेपछि छानबिन थालेको समितिका सभापती करविर शाहीले जानकारी दिए।
'विभिन्न संचार माध्यममा एकै क्षमताको एमआरई मेसिन खरिदका क्रममा ७ करोड रुपैयाँ फरक परेको समाचार आएपछि छानबिन थालेका छौ,' शाहीले भने, 'यस विषयमा कसरी फरक पर्यो भनेर डकुमेन्ट पेश गर्न भनेका छौ, डकुमेनट आएपछि थप अनुसन्धान गर्छो।'
अस्पतालसँग कागजनात मागेर प्राविधिक टिम सहित छानबिन थालेको उनको भनाई छ। उनका अनुसार सार्वजानिक लेखा समितिले उपकरण खरिदका सम्बन्धनमा जानकारी गराउन ३ दिनको समय दिएको छ।
सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानबिन थालेको हो।
एमआरआई खरिदमा अनियमिता हुन थालेको समाचार स्वास्थ्य खबरले यसअघि प्रकाशित गरेको थियो।
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
सरकारका दुई अस्पताल निजामती (सभिल सर्भिस अस्पताल) र सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालले खरिद गर्ने निर्णय गरेका एमआरई मेसिन एकै क्षमताका हुन्। दुवै अस्पतालले एउटै कम्पनीबाट उस्तै एमआरआई मेसिन खरिद गर्ने भनेर बोलपत्र स्वीकृत समेत गरेर प्रक्रिया अगाडि बढाइसकेका छन्। दुवै अस्पतालले थ्री टेस्ला क्षमताका एमआरआई खरिद प्रक्रिया अगाडि बढाएका हुन्।
निजामती अस्पतालले त्यही क्षमताको एमआरई १७ लाख २२ हजार ९ सय डलर अर्थात २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ। निजामती अस्पतालले जेठ २५ गते थ्री टेस्ला क्षमताको एमआरई खरिदको जिम्मा ईष्ट वेस्ट कन्सर्न प्रालीलाई दिने निर्णय गरेको छ।
यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेतले पनि थ्री टेस्ला क्षमताकै एमआरआई मेसिन खरिदको जिम्मा ईष्ट वेस्ट कन्सर्न प्रालीलाई नै दिएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक अस्पतालले उक्त कम्पनीलाई २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ रुपैयाँमा खरिद गर्न जिम्मा दिएको छ।
ईष्ट वेस्ट कन्सर्नले सिमेन्स कम्पनीको एमआरआई नेपालमा ल्याउने गरेको छ।
दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरु समान छन्। यहाँसम्मकी विवरणमा एउटा अस्पतालले नम्बरहरु राख्ने क्रममा गरेको गल्ती अर्को अस्पताललमा पनि त्यस्तै छ। स्पेसिफिकेसनका भाषाहरु पनि उस्तै छन्।
दुवै अस्पतालले साना र ठूला गरी तीन सयभन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन्। सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रुपमा स्पेसिफिकेसन बनाएका छन्। जसमा अधिकांश बुँदाहरु एक अर्कामा हुबहु सारिएका छन्। केही नम्बरका बुँदाहरु तलमाथि गरिएका छन् भने बुँदालाई फरक देखाउन केहीमा अंग्रेजी अक्षरको ठूलो भएकामा सानो र सानो भएकामा ठूलो मात्र बनाइएको छ।
तीन सयभन्दा बढी बुँदाका स्पेसिफिकेसनमा झुक्याउनका लागि आरएफ च्यानल फरक देखाउन खोजिएको छ। सुर्खेतको एमआरआईमा ६४ अथवा त्योभन्दा बढी आरएफ च्यानल भनिएको छ भने सिभिलकोमा ३२ अथवा त्योभन्दा बढी भनिएको छ। तर उक्त बुँदामा दुवै अस्पतालमा एमआरआईको 'बीड' भने समान राखिएको छ। दुवै अस्पतालको बीट फ्रिक्वेन्सी ३२ हुनुपर्ने स्पेसिफिकेसनमा उल्लेख छ। यो भनेको जति च्यानलको आरएफ भए पनि एमआरआईले दिने चित्र (इमेज) उस्तै हुने एक बायोमेडिकल इन्जिनियर बताउँछन्।