मेदान्तामा मेरो अन्तिम रोबोटिक सर्जरी मंगलबार सम्पन्न भयो। अपरेशन थिएटरबाट बाहिरिँदा हात स्थिर थिए, तर मन भने अलि भारी थियो।
विश्वस्तरीय अस्पताल, अत्याधुनिक प्रविधि, अनुभवी टिम र सुनिश्चित भविष्य, यी सबै छोड्ने निर्णय सजिलो हुँदैन। यहाँ बिताएको समयले मलाई केवल दक्ष सर्जन मात्र बनाएको छैन, यसले सेवाको गहिरो अर्थ पनि सिकाएको छ।
तर पछिल्ला केही वर्षदेखि मनमा एउटा प्रश्न निरन्तर उठिरह्यो- हामीले सिकेको ज्ञान र सीप आफ्नै देशका लागि प्रयोग भएन भने त्यसको मूल्य के रहन्छ?
त्यही प्रश्नले मलाई आजको निर्णयसम्म ल्याएको हो।
म अब नेपाल फर्किंदैछु, सिर्फ फर्किन होइन, फर्केर केही गर्ने प्रतिबद्धतासहित। गुणस्तरीय, विश्वस्तरीय स्वास्थ्य सेवा आफ्नै देशमै उपलब्ध गराउने प्रयासका साथ।
नेपालको स्वास्थ्य प्रणाली अझै धेरै चुनौतीहरूसँग जुधिरहेको छ। धेरै बिरामीहरू सामान्य उपचारका लागि पनि विदेश जान बाध्य छन्। आर्थिक भार, मानसिक तनाव र पारिवारिक पीडा- यी सबै हामीले नजिकबाट नियालेका यथार्थ हुन्।
तर यो तस्वीर बदल्न सकिन्छ। र, त्यसको सुरुवात हामी आफैंबाट हुनुपर्छ। महोत्तरी जिल्लाबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुगेको छ। रोबोटिक हिस्टेरेक्टोमी गर्ने नेपाली स्त्री रोग विशेषज्ञ तथा स्त्रीरोग क्यान्सर सर्जन बन्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो। तर त्यो उपलब्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जब यसको लाभ आफ्नै देशका सेवाग्राहीहरूले पाउँछन्।
आरामदायी जीवन रोज्नु सजिलो हुन्छ। तर सही बाटो सधैं सजिलो हुँदैन। कहिलेकाहीँ कठिन निर्णयहरू नै भविष्यका ठूला परिवर्तनका आधार बन्छन्।
मलाई थाहा छ- यो यात्रा चुनौतीपूर्ण हुनेछ। पूर्वाधार, प्रविधि, प्रणाली- सबै कुरामा सीमितता हुनेछ। तर सम्भावनाहरू पनि उत्तिकै छन्। यदि हामीले इच्छाशक्ति, इमानदारी र निरन्तर प्रयास राख्यौं भने, परिवर्तन अवश्य सम्भव छ।
म विश्वास गर्छु- यदि हामी सबैले आफ्नो स्थानबाट सानो साहस देखाउन सक्यौं भने, एक दिन नेपालमै पनि बिरामीहरूले उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ।
आज एउटा अध्याय बन्द भएको छ। तर यो अन्त्य होइन, यो त सेवाको नयाँ सुरुवात हो।
आफ्नो माटोप्रति सम्मान, आफ्ना मानिसहरूप्रति जिम्मेवारी र देशप्रतिको विश्वासका साथ अबको यात्रा नेपालका लागि।