भक्तपुर जिल्ला भौगोलिक रूपमा सानो भए पनि स्वास्थ्य पूर्वाधारको दृष्टिकोणले मुलुककै सबैभन्दा घनत्व भएको क्षेत्रमा पर्छ। यहाँ भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, नगरपालिका अस्पतालहरू (ख्वप अस्पताल, चाँगुनारायण अस्पताल, नेपाल–कोरिया मैत्री अस्पताल तथा सूर्यविनायक अस्पताल)जस्ता सार्वजनिक संस्थाहरूले सेवा प्रदान गरिरहेका छन्। यसका अतिरिक्त संघीय तहबाट वीर अस्पतालको विस्तारित संरचना दुवाकोटमा निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। अन्य अस्पतालहरूमा सिद्धि स्मृति, इवामुरा, मध्यपुर तथा नागरिक अस्पताल लगायत छन्। कतिपय त एक किलोमिटरभन्दा पनि कम दूरीमा रहेका छन्। यसले एउटा गम्भीर प्रश्न उठाउँछ- के यो विस्तारले वास्तवमै गुणस्तरीय सेवा सुनिश्चित गरेको छ, वा अस्पतालहरू संरचना विस्तारमै सीमित भएका छन्?
अस्पतालको संरचनात्मक विस्तार र सेवा गुणस्तरबीच अन्तर
पछिल्ला वर्षहरूमा तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीय तह)ले स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकता दिएका छन्। अस्पताल निर्माण, भवन विस्तार, उपकरण खरिदजस्ता क्षेत्रमा ठूलो लगानी भएको देखिन्छ। तर स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्र भवन र उपकरणले मात्र निर्धारण गर्दैन। मानव स्रोत, व्यवस्थापन, सेवा प्रणाली र उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छन्।
भक्तपुरका अधिकांश अस्पतालमा देखिएको साझा समस्या भनेको “अन्डर युटिलाइजेसन” हो। बेड संख्या पर्याप्त भए पनि बिरामीको चाप अपेक्षित स्तरमा छैन। यसको मुख्य कारणहरू हुन्- विशेषज्ञ चिकित्सकको अभाव, सेवा गुणस्तरमा जनविश्वास कम हुनु, आधुनिक उपकरणको प्रयोगमा कमी, र व्यवस्थापनमा कमजोर समन्वय। फलस्वरूप बिरामीहरू अझै पनि पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालजस्ता केन्द्रीय अस्पतालमा जान बाध्य छन्।
“रिफरल संस्कृतिको” समस्या
भक्तपुरका अस्पतालहरूमा देखिने अर्को प्रमुख प्रवृत्ति हो “रिफरल संस्कृति”। जटिल रोग त परै जाओस्, सामान्य वा मध्यम जटिलताका केसहरू समेत राजधानीका ठूला अस्पतालमा रिफर गर्ने चलन छ। यसले सेवाग्राही बिरामीको आर्थिक र मानसिक तनाव बढाउनुका साथै केन्द्रीय अस्पतालहरूमा अनावश्यक चाप सिर्जना गरेको छ। साथै स्थानीय अस्पतालहरूप्रति जनविश्वास घटाउने काम पनि गरेको छ। जिल्लामा रहेका विशेषज्ञ अस्पतालहरू (जस्तै क्यान्सर वा मानव अंग प्रत्यारोपण केन्द्र) समेत आफ्नो पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। यो प्राविधिकभन्दा बढी व्यवस्थापकीय समस्या हो।
तीन तहका सरकारबीच समन्वयको अभाव
नेपालको संघीय संरचनामा स्वास्थ्य सेवा तीन तहमा विभाजित गरिएको छ। तर व्यवहारमा समन्वयको कमी स्पष्ट देखिन्छ। संघीय सरकारले ठूलो लगानी गरी संरचना निर्माण गर्ने, तर दीर्घकालीन सञ्चालनको योजना कमजोर हुने देखिन्छ। प्रदेश सरकारको भूमिका प्रादेशिक अस्पताल विकासमा अस्पष्ट छ भने जनशक्ति व्यवस्थापनमा कमजोरी देखिन्छ। स्थानीय सरकार आफ्नै अस्पताल बनाउने प्रतिस्पर्धामा लाग्छन्, तर गुणस्तर सुनिश्चित गर्ने क्षमतामा सीमित हुन्छन्। यसले “डुप्लिकेसन” (दोहोरो लगानी) को समस्या निम्त्याएको छ र स्रोतको विखण्डन भएको छ।
नीतिगत कमजोरीहरू
भक्तपुरको उदाहरणले नेपालको स्वास्थ्य नीतिका केही आधारभूत कमजोरीहरू उजागर गर्छ। डाक्टर, नर्स र प्राविधिक जनशक्तिको दीर्घकालीन योजना स्पष्ट नहुँदा भवन बने पनि सेवा प्रभावकारी हुन सक्दैन। अस्पतालको सेवा स्तर मापन गर्ने बलियो प्रणालीको अभाव छ। जनसंख्या, रोगको भार वा पहुँचको आधारभन्दा पनि राजनीतिक प्रभावका आधारमा अस्पताल निर्माण हुने प्रवृत्ति देखिन्छ। साथै सेवा प्रतिफल कमजोर भए पनि उत्तरदायित्व वहन गर्ने संयन्त्र कमजोर छ।
समाधानका रणनीतिक उपायहरू
अब प्रश्न उठ्छ- के गर्ने?
- प्रत्येक अस्पतालको स्पष्ट भूमिका निर्धारण गरी सेवा विभाजन र विशेषज्ञता विकास गर्नुपर्छ।
- सबै अस्पताललाई एउटै डिजिटल नेटवर्कमा जोडेर बिरामीको रेकर्ड साझा गर्ने र अनावश्यक रिफरल कम गर्नुपर्छ।
- विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन, स्थायित्व र निरन्तर तालिमको व्यवस्था गर्नुपर्छ।
- सार्वजनिक–निजी साझेदारी (PPP मोडेल) मार्फत सेवा विस्तार, लागत न्यूनीकरण र गुणस्तर सुधार गर्न सकिन्छ।
भक्तपुरका नव-निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको भूमिका
भक्तपुरबाट निर्वाचित सांसदहरूले अब “नयाँ अस्पताल बनाउनेभन्दा भएका अस्पताल सुधार्ने” एजेन्डा लिनु आवश्यक छ। गुणस्तर मापनका मापदण्ड अनिवार्य लागू गराउने, एकीकृत स्वास्थ्यसम्बन्धी कानुन निर्माणमा पहल गर्ने, र बजेटको प्रभावकारी परिचालनमार्फत सेवा सुधारमा ध्यान दिनुपर्छ। तीनै तहका सरकारबीच समन्वय गरी दोहोरो लगानी रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।
सेवाग्राही भनेका जनता हुन्। उनीहरूको स्वास्थ्यमा समुचित पहुँच सुनिश्चित गर्न अस्पतालको कार्यसम्पादन सार्वजनिक गर्ने र जनगुनासो सुन्ने संयन्त्र विकास गर्न आवश्यक छ। यसले भक्तपुरलाई विशेषज्ञ सेवाको नमूना “मोडेल हेल्थ डिस्ट्रिक्ट” बनाउन सहयोग पुर्याउनेछ।
निष्कर्ष
अस्पतालहरूको संख्यात्मक हिसाबले भक्तपुर जिल्ला प्रभावशाली छ। तर यो संख्यात्मक वृद्धि गुणस्तरीय सेवामा रूपान्तरण हुन सकेन भने राज्यको लगानीले उचित प्रतिफल दिएको मान्न सकिँदैन। आजको आवश्यकता पूर्वाधार विस्तार होइन, सेवा प्रणाली सुधार हो। समन्वय, उत्तरदायित्व र दीर्घकालीन सोचका साथ काम गर्न सके भक्तपुर स्वास्थ्य सेवाको नमूना जिल्ला बन्न सक्छ—नत्र अस्पतालहरू भवनमै सीमित हुनेछन्, जहाँ बिरामीभन्दा संरचना बढी देखिनेछ।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत हुन्)