काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा स्वास्थ्य क्षेत्रको मेरुदण्ड मानिएको 'स्वास्थ्य बीमा' नपरेपछि समाजिक सञ्जालदेखि स्वास्थ्य मन्त्रालयमा यस विषयमा प्रश्न उठ्न थालेको छ।
स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण र तत्काल सुधार गर्नुपर्ने यो विषयलाई सरकारको प्राथमिकताको सूचीमा नदेख्दा स्वास्थ्य बीमाका कर्मचारीदेखि स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले आश्चर्य व्यक्त गरेका छन्।
नेपालको स्वास्थ्य प्रणालीमा स्वास्थ्य बीमा कार्यक्रमले ठुलो आशा जगाए पनि पछिल्लो समय यसको प्रभावकारिता र व्यवस्थापनमा गम्भीर प्रश्न उठ्दै आएको छ। सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा अन्य प्रशासनिक र सुशासनका कुरा समेटिए पनि आम नागरिकसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य बीमाको विषय नहुनुले यो कार्यक्रम थप अन्योलमा पर्ने त होइन भन्ने आशंका जन्माएको छ।
यसै सन्दर्भमा स्वास्थ्यखबरले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सरकारको सय कार्यसूचीमा स्वास्थ्य बीमा किन परेन? भनी प्रश्न गरेको छ।
मन्त्री मेहताले स्वास्थ्य बीमाको विषय सरकारको प्राथमिकतामा भए पनि हतारमा भन्दा अध्ययन गरेर मात्र ठोस योजना ल्याउने तयारी भइरहेको बताइन्।
'बीमाको विषय पनि आउँछ, त्यसमा काम भइरहेको छ,' मन्त्री मेहताले भनिन्, 'हामी हतारिएर भन्दा पनि विस्तारै तर ठोस र राम्रो काम गर्ने कुरामा विश्वास गर्छौं।'
उनले स्वास्थ्य बीमाका विविध पक्षमा सूक्ष्म अध्ययन भइरहेको जानकारी दिइन्।
यस्तो छ स्वास्थ्यखबरको जिज्ञासामा मन्त्री मेहताले दिएको जानकारी:
स्वास्थ्य बीमाको विषय पनि आउँछ, त्यसमा पनि काम हुँदैछ। हामी हतारिनुभन्दा पनि काम ढिलो भए पनि राम्रो होस् भन्नेमा विश्वास गर्छौँ। त्यसैले अध्ययनबिना यसमा अगाडि बढ्न मिल्दैन। अहिले स्वास्थ्य बीमाका विषयमा अध्ययन भइरहेको छ, त्यसपछि यो विषय आउँछ।