काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। शनिबार पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि ‘एनेक्स–१’ को शय्या नम्बर ५०१ मा उनी उपचार गराइरहेका छन्।
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंका अनुसार चिकित्सकको २४ घन्टा निगरानीमा उनको उपचार भइरहेको छ। उनमा उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी,मिर्गौलासम्बन्धी समस्या (पिसाब जम्नेर सुन्निने), पित्तथैलीमा पत्थरी र मुटुको धड्कन बढ्ने समस्या एकसाथ देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ। ठूलो आकारको पत्थरी भएको अवस्थामा पनि चिकित्सकहरुले शल्यक्रियाकालागि योजना बनाइ नसकेको बताएका छन्।
शल्यक्रिया किन गरिएन?
उनको पत्थरीको शल्यक्रियाका लागि चिकित्सकहरुको छलफलपश्चात् मात्रै निर्णयमा पुगिने सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए।
शल्यक्रिया व्यक्ति शारीरिक तथा मानसिक रुपमा तयार भएको अवस्थामा मात्रै गरिने उनले जानकारी दिए। ‘उहाँले म शल्यक्रिया गर्छु भनेर तयार भएको बताएमा मात्रै शल्यक्रिया गरिने हो,’ रोस्याराले भने ‘शल्यक्रियाका क्रममा आउन सक्ने जोखिम वहन गर्न सक्छु भन्नेपछि मात्रै शल्यक्रिया हुन्छ।’ यसबारे ओलीले अहिलेसम्म केही प्रतिक्रिया नदिएको उनले जानकारी दिए।
मुटुको धड्कन, उमेर सीमा लगायतका समस्याका कारण शल्यक्रियाबारे योजना नबनाइएको उनी बताउँछन्। शल्यक्रिया गर्नैपर्ने अवस्था भएपनि तत्काल अन्य स्वास्थ्य जटिलताका कारण शल्यक्रियाको निर्णय लिइएको छैन ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि उनलाई नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले शनिबार उनकै निवासबाट पक्राउ गरेको थियो।
आन्दोलन सम्बन्धित अनुसन्धानका क्रममा घरमा भेटिएको जलेको रकमको विषयमा छानबिन गर्नका लागि पक्राउ गरिएका कांग्रेस नेता तथा पूर्व उर्जा मन्त्री दीपक खड्का पनि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। निरन्तर झाडापखाला र वान्ता भएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।