काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीमाथि कुनै पनि प्रकारको भेदभाव नगर्न निर्देशन दिएको छ। बोर्डले जारी गरेको परिपत्रमा सेवा प्रवाहका क्रममा देखिएका अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नियमविपरीत कार्य नगर्न सचेत गराएको हो।
बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमित सेवाग्राहीलाई सेवा लिन अग्रिम समय लिन बाध्य बनाउने, भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक सेवा र औषधि उपलब्ध नगराउने जस्ता गुनासाहरू आएका छन्। यस्ता गतिविधि स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत भएको बोर्डले जनाएको छ।
परिपत्रमार्फत सबै स्वास्थ्य संस्थाहरूलाई प्रचलित ऐन, नियमावली तथा कार्यविधिको पूर्ण पालना गर्न निर्देशन दिइएको छ। साथै अनुगमनका क्रममा कुनै पनि संस्थाले नियम उल्लंघन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई प्रभावकारी, समान र गुणस्तरीय बनाउन यस्तो कदम चालिएको स्पष्ट पारेको छ।