काठमाडौं- दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले एक जना दन्त चिकित्सकलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको छ।
काउन्सिलको गत फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा. अजय कुमार साहलाई सात दिनका लागि सेवा गर्न नपाउने गरी निलम्बन गरेको हो।
काउन्सिलमा डाक्टर साहको दर्ता नम्बर २७०५ रहेको छ।
काउन्सिलका अनुसार डा. साहविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा उपचार प्रक्रियामा त्रुटि भएको निष्कर्षमा पुगिएपछि कारबाही गरिएको हो।
यस्तो थियो घटना?
यो घटना गत वर्ष चैत ५ गतेको हो। काठमाडौँको कुलेश्वर निवासी २६ वर्षीया एक महिला अत्यधिक दाँत दुखेपछि उपचारका लागि डेन्टल भिजन प्रालि पुगेकी थिइन्। उनले डा. साहसँग चार चरणमा उपचार गराएकी थिइन्।
तीमध्ये प्रारम्भिक तीन चरण सामान्य रहे पनि चौथो चरण अत्यन्त पीडादायक भएको उनले गुनासो गरेकी थिइन्। उजुरीमा उनले बिना एनेस्थेसिया उपचार गरिएको र पटक–पटक एक्स–रे गर्दा असह्य पीडा भएको उल्लेख गरेकी थिइन्।
उपचारपछि गिजामा संक्रमण, सुजन र असहजता देखिए पनि चिकित्सकले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप समेत उनले लगाएकी थिइन्।
पछि अन्य चिकित्सककहाँ जाँच गराउँदा आरसीटी (रुट क्यानल उपचार) अपुरो रहेको र त्यसका कारण अवस्था जटिल बनेको भन्दै अन्ततः दाँत नै निकाल्नुपर्ने अवस्था आएको पीडितको दाबी छ।
अपुरो उपचारका कारण आफ्नो स्वास्थ्यमा असर परेको, अध्ययन, काम तथा सामाजिक जीवनमा बाधा पुगेको र आत्मविश्वाससमेत घटेको उल्लेख गर्दै उनले काउन्सिलमा उजुरी दिएकी थिइन्।
काउन्सिलले अस्पतालका कागजात, उपचारमा संलग्न चिकित्सकको बयान तथा विषयविज्ञको रायका आधारमा उपचारमा त्रुटि भएको निष्कर्ष निकाल्दै एक साताको निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।