काठमाडौं- प्रदेश सरकार मातहतका अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब भत्ताका लागि संघीय सरकारले रु ७० करोड २१ लाख ७८ हजार वित्तीय हस्तान्तरण स्वीकृत गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावका आधारमा अर्थ मन्त्रालयले मिति २०८२ माघ १५ गते उक्त रकम स्वीकृत गरी सातै प्रदेश सरकारअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्रालयहरूमा प्रविष्ट गरिसकेको जनाएको छ।
मन्त्रालयले सम्बन्धित प्रदेश सरकारलाई उक्त रकमबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब भत्ता व्यवस्थापन गर्न, आवश्यक समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको स्वास्थय मन्त्रालयका प्रवक्त डा प्रकाश बुढाथोकीले जानकारी दिए।
स्वीकृत रकममध्ये सबैभन्दा बढी कर्णाली प्रदेशलाई रु १९ करोड ७० लाख र बाग्मती प्रदेशलाई रु १९ करोड ५० लाख विनियोजन गरिएको छ। अन्य प्रदेशहरूमा कोशीलाई रु ७ करोड ३ लाख, गण्डकीलाई रु ७ करोड ९८ लाख ३६ हजार, लुम्बिनीलाई रु ६ करोड २५ लाख ५५ हजार, मधेशलाई रु ५ करोड ४९ लाख ८७ हजार र सुदूरपश्चिमलाई रु ४ करोड २५ लाख निकासा गरिएको छ।