काठमाडौं - पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी स्वास्थ्यखबरलाई दिए। उनका अनुसार पूर्वमन्त्री आज बिहान ३ बजे अस्पताल आइपुगे पनि भर्ना गरिसक्दा भने बिहानको करिब ८ बजेको थियो। अस्पताल ल्याउनासाथ उनको उपचार सुरु गरिएको थियो।
अरु वार्डमा बेड अभावका कारण हाललाई अर्थाे वार्डमा राखेर उपचार गरिएको सूचना अधिकारी रोस्याराले जानकारी दिए। मेडिसिन वार्डमा राख्नुपर्ने केश भएपनि हाललाई अर्थाे वार्डमा राखिएको र विस्तारै ट्रान्सफर गर्ने तयारी रहेको उनी बताउँछन्। वान्ता र पखालाको समस्याका कारण अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।
हाल दिसाको रुटिन परीक्षण सम्पन्न गरी उपचार प्रक्रिया अगाडि बढाइएको रोस्याराले जानकारी दिए।
भदौ २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित अनुसन्धानका क्रममा खड्काको घरमा भेटिएको जलेको रकमको विषयमा छानबिन भइरहेको छ।
उक्त घटनाबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ, जसअन्तर्गत जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरिएको थियो।जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनी पनि हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।