दाङ– प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडाका ३४ वर्षीया केशव थापा दाङको लमहीस्थित लमही सामुदायिक डायलासिस सेन्टरमा भेटिए। उनी मिर्गौलाको डायलासिसका लागि आएका थिए। चार वर्षदेखि उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ। मिर्गौला प्रत्यारोपणका लागि उनीसँग पर्याप्त रकम छैन। डायलासिसका लागि आफन्तको घरमा बसेका छन्।
मिर्गौलाले काम गर्न छाडेको थाह पाएपछि उनी निकै आत्तिए। उपचारका लागि धेरै अस्पताल धाए। भएको रकम सबै सकियो। अहिले उनलाई सातामा तीन पटक डायलासिस गर्नुपर्छ। ‘धन्न डायलासिस निःशुल्क छ। नत्र त्यो पनि गर्न सक्दिनथेँ होला। अन्य औषधि महंगो छ’, उनले भने।
मिर्गौला फेल भएपछि घरबारी सबै सकिने भएका कारण सबै उपचार राज्यले निःशुल्क गर्नुपर्ने उनको माग छ। उपचारका लागि थापा प्युठानबाट केही दिनअघि लमही आएका हुन्। ‘स्वास्थ्यले साथ दिँदैन। डायलासिसका लागि धाउन टाढा पर्छ। त्यसैले भालुवाङमा रहेका आफन्तसँग बसेको हुँ’, उनी भन्छन्।
चार वर्षको अवधिमा औषधिमै उनको सबै सम्पत्ति सकिएको छ। ‘अब त औषधि किन्ने पैसा पनि छैन। अस्पतालमा जाँदा हामीजस्ता विपन्नलाई यति ठूलो रोग लागेपछि राज्यले निःशुल्क उपचार गर्नुपर्छ भनेर सोध्छु। तर, त्यहाँ पनि औषधिका लागि सरकारले बजेट नदिने भएकाले निःशुल्क गर्न नसकिएको जवाफ आउँछ’, थापाले भने।
यस्तै, सल्यान कपुरकोटकी डिला चौधरी पनि १८ वर्षीया बहिनी गोमा थापामगरलाई लिएर लमहीस्थित डायलासिस सेन्टरमा आएकी छन्। गोमाको पनि दुवै मिर्गौलामा समस्या आएको तीन महिना भयो। ‘तुलसीपुरस्थित एक मेडिकलमा गएर उपचार गरायौं। त्यहाँ–मिर्गौलामा समस्या देखिएको छ, बुटवल लैजानुस् भनेपछि बुटवल लगेका थियौं’, डिलाले भनिन्।
बुटवल अस्पतालमा चेकजाँच गर्दा बहिनीको दुवै मिर्गौलामा समस्या देखियो। त्यसयता उनले तुलसीपुरमा बहिनीको डायलासिसमा सहज होस् भनेर कोठा भाडामा लिएकी छिन्। ‘तीन महिनामैै घरमा भएको सबै रकम सकियो। तर, रोग निको हुँदैन। हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ’, उनी भन्छिन्।
यस्तै दाङको शान्तिनगर गाउँपालिका–५ का २२ वर्षीय प्रताप चौधरी पनि मिर्गौलाको रोगबाट पीडित छन्। एक वर्षअघि उनी रोजगारीका लागि काठमाडौं गएका थिए। काम गर्दैगर्दा एक्कासी समस्या देखिएपछि उनी अस्पताल गए। त्यहाँ उनको मिर्गौलामा समस्या भएको रिपोर्ट आयो।
‘एक वर्ष भयो, मैले पनि कहिले बुटवल त कहिले अन्य अस्पतालमा गएर डायलासिस गर्दै आएको छ। अहिले लमहीमै डायलासिस सेन्टर भएपछि भने सहज भयो’, उनी भन्छन्।
हुन त उनले समस्या देखिएपछि काठमाडौंमा पनि डायलासिस गरिरहेका थिए। तर, काठमाडौंमा भीड धेरै हुने, भनेको समयमा पालो नआउने भएपछि उनी घर फर्किए। यस्तै घोराहीकी ६६ वर्षीया नीमकुमारी बुढाथोकी पनि तीन वर्षदेखि मिर्गौलाको समस्यासँग जुधिरहेकी छन्। अहिले उनलाई हातखुट्टा सुनिने, टाउको दुख्ने लगायतमा समस्याले ग्रस्त पारेको छ। ‘अहिले स्वास्थ्य धेरै नै बिग्रिएको छ। त्यसैले हप्तामा तीनपटक डायलासिस गर्ने गरेकी छु’, उनले भनिन्।
अहिले अस्पतालमा उपचारका लागि आउने अधिकांशमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखिने गरेको चिकित्सक बताउँछन्। अझ स्वास्थ्य सम्बन्धी सामान्य ज्ञान नभएका मानिसमा मिर्गौलाको समस्या बढी देखिएको सामुदायिक डायलासिस सेन्टर लमहीका डाक्टर अब्दुस सबुद खानले बताए।
उनले किशोरकिशोरीमा पनि मिर्गौला ड्यामेजको समस्या देखिएको बताए। ‘बढी मदिरा पिउनको मात्रै मिर्गौला ड्यामेज हुन्छ भन्ने छैन। उक्त रक्तचाप, मधुमेहको मात्रा बढी हुनेलाई पनि यो समस्या देखिएको छ,’ उनी भन्छन्, ‘लामो समयसम्म चर्को घाममा काम गर्ने, पर्याप्त पानी नखाने, स्वास्थ्य चेकजाँच नगर्ने मानिसमा अझ बढी समस्या देखिन्छ।’
मिर्गौला फेल भएपछि उपचार गर्न नसकेर घरमै थलिएका धेरै छन्। यस्तैमध्येका एक हुन् लमही नगरपालिका–४ का २२ वर्षीय दिनेश चौधरी। उपचारका गर्दागर्दै आफूसँग भएको रकम सकिएपछि उनी जीवनमरणको दोसाँधमा छन्। ‘बाँच्ने रहर त छ नि, तर उपचार गर्ने पैसा छैन,’ दिनेश भन्छन्, ‘थोरै पैसाले पुग्दै, सम्पत्ति भए पनि बेचौं भन्नुहुन्थ्यो, त्यो पनि छैन।’
पहुँच र पैसा नहुनेका लागि ठूलो रोग लाग्दा मृत्यु कुर्नुको विकल्प नहुने प्युठानको स्वर्गद्वारीका सुकबहादुर बढा बताउँछन्। लामो समयदेखि मिर्गौलाले काम नगर्ने भएपछि उनी थलिएका छन्। ‘म जस्ता कमजोर आर्थिक अवस्था भएका कति होलान्। धन्न अहिले डायलासिस भए पनि निःशुल्क बनाएको छ। राज्यले आफ्ना नागरिकप्रति कर्तव्य सम्झिने हो भने मिर्गौलाको उपचार सबै निःशुल्क बनाउनुपर्छ’, उनी भन्छन्।
दुई वर्षको अवधिमा डायलासिस सेन्टरमा १६० जना उपचारका लागि आएका छन्। तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ। २३ जना भने आफूलाई पायक पर्ने स्थानमा रेफर भएर गएका छन्। अहिले ६५ जनाको नियमित डायलासिस भइरहेको छ।
आफूलाई पायक पर्ने स्थानमा रेफर भएर गएकाहरु पनि अहिले डायलासिस सेन्टरको सम्पर्कमा छैनन्। मिर्गौला डायलासिस गरेर केहि वर्ष बाच्ने बिरामीहरु थोरै मात्रामा छन्। तर, यस्ता बिरामी पनि कति छन् भन्ने अस्पतालसँग तथ्यांक छैन।
दाङको राजपुर बेला गाउँपालिका–७ की देवकुमारी खत्रीले केही वर्षअघि दुवै मिर्गौला फेल भएर युवा अवस्थाका छोरा गुमाइन्। छोराको ज्यान बचाउनका लागि उनले मिर्गौला दानसमेत दिइन्। तर, बाँच्न सकेनन्।
लमहीमा डायलासिस सेन्टर खुलेपछि त्यहाँका बिरामीलाई काठमाडौं, बुटवल या भारतसम्म जानुपर्ने बाध्यता भने टरेको छ। तर, बाहिरका जिल्लाबाट आउने बिरामीका लागि त्यहाँ बस्न समस्या छ। पहिला रोग पत्ता लगाउनै धेरै रकम खर्च भइसकेको हुन्छ। रोग पत्ता लागिसकेपछि महंगो औषधि। कहिलेकाहीँ त मुस्किलले गाडीभाडा मात्रै बोकेर भए पनि डायलासिस सेन्टरसम्म आउने गरेको बिरामीका आफन्तले बताएका छन्।
बिरामीको चाप बढ्दो छ– अध्यक्ष भण्डारी
डायलासिस सेन्टर खुलेदेखि नै बिरामीको धमाधम उपचारका लागि आउन थालेका थिए। अहिले पनि ६५ जना उपचाररत छन्। बिरामीको संख्या बढ्दै जाँदा बेड अभाव हुन थालेको सामुदायिक डायलासिस सेन्टरका अध्यक्ष बसन्तकुमार भण्डारीले बताए।
‘संख्या बढेकाले, केहीलाई पालोमा राखेर सेवा दिनुपर्ने बाध्यता छ’, उनले भने। अहिले अस्पतालमा १२ वटा बेड राखेर उपचार हुँदै आएको छ। बिरामीको चापलाई मध्यनजर गर्दै अझै पाँचवटा बेड थप्नुपर्ने देखिएको उनको भनाइ छ।
सकेसम्म सबै बिरामीलाई एकैपटक राखेर उपचार दिनसक्नेगरी व्यवस्थापन गर्न आफूले कोशिस गरिरहेको अध्यक्ष भण्डारीले बताए। ‘अहिले सबैभन्दा ठूलो समस्या त बिरामीका कुरुवालाई बस्न नै हो। भएको पैसा जति पहिल्यै अन्यत्र उपचार गर्दै सकिएको हुन्छ। यहाँ डायलासिसका लागि ल्याउँदा उनीहरुसँग खाने–बस्नेसमेत पर्याप्त रकम हुँदै। होटलमा बस्न बाध्य छन्,’ उनले भने, ‘हामीले कुरुवाको समस्या समाधानका लागि पनि केही गर्ने योजना बनाएका छौं।’
जिल्ला वा जिल्ला बाहिर डायलाइसिस गराएको शुल्क फरक–फरक छ, दाङको घोराहीमा एक पटक गराएको ६ हजार पाँच सय लिने गर्दछन् भने बाँकेको नेपालगन्जमा एक पटक डायलाइसिस गराएको ७ हजार पाँच सयसम्म शुल्क लिने गरेको बिरामीको भनाइ छ।