पटक-पटक बिरामी हुनु शरीरको सामान्य कमजोरी मात्र नभई रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) कमजोर भएको संकेत हुन सक्छ। डा. धर्मागत भट्टराईका अनुसार बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएमा त्यो 'इम्युन' रोगको संकेत पनि हुन सक्छ।
प्रतिरक्षा प्रणाली कमजोर हुँदा बारम्बार संक्रमण, एलर्जी, ज्वरो र निमोनियाजस्ता गम्भीर स्वास्थ्य समस्या देखिन सक्छन्। उनी भन्छन्, "यदि कुनै व्यक्ति बारम्बार रुघाखोकी, ज्वरो, संक्रमण वा थकानबाट ग्रस्त भइरहन्छ भने त्यो शरीरको इम्युन सिस्टम कमजोर भएको संकेत हुन सक्छ। यस्तो अवस्थामा जीवनशैली, खानपान र आवश्यक परे स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्छ।"
प्रतिरक्षा प्रणाली कमजोर भएको कसरी थाहा पाउने?
जब यो प्रणाली कमजोर हुन्छ, शरीरमा बाह्य कीटाणुको आक्रमण बढ्छ। 'जेफ्री मोडेल फाउन्डेसन'को मापदण्डअनुसार यदि कुनै व्यक्तिलाई वर्षमा पटक-पटक कान पाक्ने, पिनास हुने, निमोनिया हुने, छालामा पिप जम्ने वा मुखमा घाउ आउने समस्या दुई पटकभन्दा बढी दोहोरिन्छ भने त्यो 'इम्युन' कमीको संकेत हुन सक्छ।
किन कमजोर हुन्छ इम्युन प्रणाली?
पोषणको कमी।
पर्याप्त निद्राको अभाव।
धेरै तनाव हुनु।
धूम्रपान वा मदिरा सेवन।
दीर्घरोग (जस्तै: मधुमेह, थाइराइड आदि)।
के गर्ने?
सन्तुलित आहार (फलफूल, सागसब्जी, प्रोटिनयुक्त खाना) सेवन गर्ने।
दैनिक ७-८ घण्टा सुत्ने।
नियमित व्यायाम गर्ने।
प्रशस्त पानी पिउने।
आवश्यक परे चिकित्सकसँग जाँच गराउने।