नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहका पाँच रानीमध्ये प्रिय उपरानी इच्छावतीलाई क्षयरोग लाग्यो। उनी पृथ्वीनारायण शाहकी 'मैजुरानी' थिइन्। पृथ्वीनारायण शाह युवराज अवस्थामै भक्तपुरका राजा रणजीत मल्लका छोरा वीरनरसिंह मल्लसँग मित लगाएर भक्तपुर दरबारमा पाहुना भई बसेका थिए।
सोही समयमा पृथ्वीनारायण शाहका मितबा राजा रणजीत मल्लले मित छोराका लागि एउटी नेवारी कन्या जुटाइदिए। कतिपयको भनाइमा यी कन्या ललितपुरबाट भक्तपुर झिकाइएकी थिइन्। यिनै नेवार कन्या पृथ्वीनारायण शाहकी 'भित्रिनी' रानी भइन्। उनी क्षयरोगबाट संक्रमित भएकी थिइन् र उनमा क्षयरोगका लक्षणहरू देखिन थाले।
त्यस समयमा क्षयरोगको खासै औषधि पत्ता लागेको थिएन। दरबारमा रहेका राजवैद्यहरूले बिरामीहरूको उपचार गर्थे। क्षयरोगको निश्चित औषधि नभएको हुँदा त्यस समयमा उपचारमा संलग्न हुने वैद्य, कविराज, तान्त्रिक, गुभाजुहरूले रोगको लाक्षणिक उपचार गर्थे। बिरामी अवस्थामा रहेकी मैजुरानी पृथ्वीनारायण शाहसँगै नुवाकोट दरबारमा बसिन् र त्यहीँ उनको उपचार सुरु भयो। उनको तर्फबाट रणसिंह भन्ने छोरा र चार छोरी जन्मिएका थिए।
वैद्यहरूले नियमित उपचार गरे तापनि उनको रोग निको हुने छाँट देखिएन। उनलाई रोगले झन्झन् च्याप्दै लग्यो। बाँच्ने आशा कम हुँदै गएपछि आफ्नो अन्तिम अवस्थाका लागि रानीले काशीवास जाने इच्छा व्यक्त गरिन्। राजा पृथ्वीनारायण शाहले उनलाई काशीवास पठाउने निर्णय गरे। त्यसबेला जीवनको अन्तिम अवस्थामा मोक्षका लागि काशीवास जाने प्रचलन थियो।
नुवाकोट दरबारबाट देवघाटको बाटो हुँदै डोलीमा चढाएर बिरामी रानीलाई काशीतर्फ पठाइयो। त्यही बेला तनहुँ राज्यका राजा त्रिविक्रम सेनले डोलीमा बोकिएर हिँडेकी बिरामी रानीलाई अपमान गर्दै घुम्टो उगारी हेरेर काशीतर्फ जान दिए। यो खबरले पृथ्वीनारायण शाहलाई आक्रोशित बनायो। यसरी काशीवास हिँडेकी क्षयरोगबाट ग्रसित राजा पृथ्वीनारायण शाहकी प्रिय मैजुरानी फेरि कहिल्यै नेपाल नफर्कने गरी काशीमै अस्ताइन्।
शक्तिशाली महारानी राजेन्द्र लक्ष्मीलाई पनि क्षयरोग
राजा प्रताप सिंह शाह पृथ्वीनारायण शाहका जेठा छोरा हुन्। २६ वर्षको युवा अवस्थामै रगतमासी पखालाका कारण उनको मृत्यु भयो। कतिपय इतिहासकारहरूले उनलाई पनि क्षयरोग लागेको थियो भनी लेखेका छन्। राजा प्रताप सिंह शाहको मृत्यु हुँदा उनका छोरा रणबहादुर शाह अढाई वर्षका थिए।
अढाई वर्षका दुधे बालक राजा रणबहादुर शाहको नायबी लिएर उनकी आमा, प्रताप सिंह शाहकी महारानी राजेन्द्र लक्ष्मीले शासन गर्न थालिन्। ससुरा पृथ्वीनारायण शाहले अधुरै छाडेर गएको नेपाल एकीकरणको कामलाई दरबारीय अन्तरद्वन्द्वका बीचमा पनि उनले बहादुरीका साथ अगाडि बढाइन्। करिब नौ वर्षको उनको नायबी कालमा लमजुङ, कास्की, तनहुँ, पश्चिम चार नम्बर नुवाकोट, पैयूँजस्ता चौबिसे राज्यहरू नेपालमा गाभिए। नेपालको सिमाना पश्चिममा कालीगण्डकीसम्म पुग्यो।
देवर बहादुर शाहसँगको द्वन्द्वका बीच आफैँ सैनिक पोशाक लगाएर घोडा चढेर आफ्ना सुसारेहरूलाई पनि सैनिक पोशाकमा सजाएर हिँड्ने यी साहसी रानीलाई अचानक क्षयरोगका लक्षण देखिन थाले। छिटोछिटो लक्षणहरू बढ्दै जाँदा उनी हतास हुन थालिन्। राजवैद्यहरूको उपचारले रोग कम हुने संकेत नदेखिएपछि उनको मनोबल गिर्न थाल्यो, उत्साहमा कमी आयो।
उनले छोरा रणबहादुर शाहलाई गोर्खाको पुरानो दरबारमा लगेर हतार-हतारमा व्रतबन्ध गराइदिइन्। आफ्नो अनुपस्थितिमा छोरा रणबहादुर शाहलाई राजा हुनबाट वञ्चित नगरियोस् भन्ने चिन्ता उनलाई थियो। त्यही बीचमा छोरा रणबहादुर शाह ११ वर्षको हुँदा राजेन्द्र लक्ष्मीको क्षयरोगको जटिलताका कारण वि.सं. १८४२ साउन २ गते हनुमानढोका दरबारमा देहान्त भयो। नेपाल एकीकरणको अभियानमा सक्रियतापूर्वक योगदान पुर्याएकी वीरांगनाको क्षयरोगका कारण लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा असामयिक निधन भयो।
महारानी कान्तिवतीलाई पनि क्षयरोग
राजा रणबहादुर शाहले पशुपतिनाथ दर्शनका लागि जनकपुरतिरबाट आएकी मिश्र ब्राह्मणकी छोरी, बालविधवा कान्तिवतीसँग विवाह गरे। उनी अति नै सुन्दरी भएकाले राजा उनीप्रति मोहित भएका थिए। तिनै कान्तिवतीबाट वि.सं. १८५४ असोज १९ गते गिर्वाणयुद्ध विक्रम शाहको जन्म भयो। सुत्केरी भएको केही समयमै उनलाई क्षयरोगका लक्षणहरू देखा पर्न थाले।
कतिपयले सुत्केरी अवस्थामा खाएका अपाच्य खानेकुराले क्षयरोग निस्किएको पनि बताए। रानीलाई क्षयरोग देखिएपछि रणबहादुर शाह आत्तिनु स्वाभाविकै थियो। त्यसबेला क्षयरोग लागेको मानिस १ हजार दिनभन्दा बढी बाँच्न सक्दैन भन्ने आम बुझाइ थियो।
रानीको उपचारका लागि राजवैद्यदेखि तान्त्रिक तथा ज्योतिषहरू सबैको सहयोग लिइयो। रोग कम नभएपछि भारतबाट औषधिसहित हाकिम वैद्यसमेत झिकाइएको थियो। हाकिम वैद्यको उपचारले पनि रोगका लक्षण कम नभएपछि देउपाटनका मिलहम भन्ने राजवैद्यका सल्लाहअनुसार पशुपति देउपाटन जंगलको छेउमा स्वास्थ्य निवास निर्माण गरी त्यहीँ एकान्तवासमा उपचार सुरु गरिएको थियो। एकान्तवासमा पनि गेरुवस्त्रधारी स्वामी महाराजले गेरु वस्त्र पहिरेरै बसेकी रानीलाई छाडेनन्। ब्रह्मचार्यमा बस्न सकेनन्।
वैद्य, तान्त्रिक, गुभाजु, ज्योतिष, हाकिम, टुनामुना जान्ने सबैबाट लाखौँ खर्च गरेर उपचार गर्दा पनि रोग निको भएन। क्षयरोगको उपचारकै क्रममा उनलाई बिफरको संक्रमण समेत भयो। रानीलाई देउपाटनको स्वास्थ्य निवासबाट पाटन पुलचोक दरबारमा ल्याइयो। पाटनबाट काठमाडौं सार्दै अन्तिम अवस्थामा आर्यघाटमा लगियो। वि.सं. १८५६ कात्तिक १९ गते आर्यघाटमै उनको जीवन समाप्त भयो।
रानीको मृत्युबाट विक्षिप्त भएका राजाले उपचारमा संलग्न मिलम वैद्य, लक्ष्मीनारायण दाहाललगायतलाई अमानवीय तथा कठोर सजाय दिए। कतिपय स्वास्थ्यकर्मीलाई देश निकाला गरियो भने कतिपयको हत्या समेत गरियो।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहकी रानीदेखि सुरु भएको सरुवा रोग क्षयरोगबाट मृत्यु हुने दरबारीया बडामहारानी, महारानी, रानी, उपरानी, मैया, छोराहरुको फेहरिस्त निकै लामो हुनसक्छ। यिनै विवरणका आधारमा पनि त्य समयको नेपाली समाजमा क्षयरोग प्रमुख जनस्वास्थ्यको समस्याका रूपमा रहेको सहजै अनुमान गर्न सकिन्छ।
तत्कालीन अवस्थाको शक्तिशाली दरबारभित्र प्रवेश गरेको क्षयरोगले शक्तिशाली छोरा र रानीहरुको तीन पुस्तालाई क्रमश: अल्पायुमै चुँडेर लग्यो। इतिहासको गर्भमा लुकेर बसेका यस्ता सरुवा रोगसम्बन्धी तथ्यहरूलाई अध्ययन–अनुसन्धानका माध्यमबाट सर्वसाधारणसम्म पुर्याउनु आवश्यक देखिन्छ।