काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको धड्कन बढेपछि उनलाई आज पनि अस्पतालमै राखिने भएको छ।
हिजो (शनिबार) बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई त्रिवी शिक्षण अस्पताल पुर्याइएको थियो। सुरुमा रगत परीक्षण तथा भिडियो एक्सरे पश्चात् नेफ्रोलोजी विभागमा भर्ना गरेर उपचार सुरु गरिएको थियो।
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईका अनुसार हिजो राती मुटुको धडकन बढेकोले अस्पतालमा नै राखेर उपचार गर्नुपरेको हो।उनलाई २४ घन्टा निगरानीमा राख्नुपर्ने डा सेढाईंले जानकारी दिए। उनको पित्त थैलीमा पनि पत्थरी देखिएकोले चिकित्सकको सल्लाहमा अन्य निर्णय लिइने डा सेढाईंको भनाई छ।
ओलीलाईअहिले मुटु रोग विशेषज्ञहरुले जाँच गरिरहेको डा सेढाईंले जानकारी दिए। उक्त परीक्षण पश्चात् जोखिमको अवस्थाबारे जानकारी हुने उनी बताउँछन्।
ओलीलाई २२ एमएमको पत्थरी देखिए पनि सबै अवस्थामा आकारले फरक नपार्ने डा सेढाईंको दाबी छ। हालसम्म पत्थरीको शल्यक्रियाका लागि योजना चिकित्सकको टोलीले नबनाई सकेको उनले जानकारी दिए ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि उनलाई नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले हिजो उनकै निवासबाट पक्राउ गरेको थियो।
