लामखुट्टेबाट सर्ने रोग जसलाई गम्भीर शरीर दुखाइका कारण ‘हाड भाँच्ने ज्वरो’भनेर पनि चिनिन्छ, अब केवल मौसमसँग सम्बन्धित सानो समस्या मात्र रहेन। यो वर्षभरि देखिने विश्वव्यापी चुनौती बन्दै गएको छ र नेपालजस्ता निम्न तथा मध्यम आय भएका देशहरूमा यसको भार झनै बढ्दो छ।
स्थिति गम्भीर बन्दै गएको छ। सन् २००० देखि २०१९ सम्ममा, विश्वभर डेंगुका घटना दश गुणा बढेका छन्। २०२३ मा ८० भन्दा बढी देशमा ६५ लाखभन्दा बढीमा संक्रमण र ७३००को मृत्यु भएको थियो। २०२४ मा नेपालमा मात्रै २८,२१२ संक्रमित र १२ जनाको मृत्यु भएको थियो भने ७७ मध्ये ७६ जिल्लामै संक्रमण फैलिएको थियो। बंगलादेश र थाइल्यान्ड जस्ता छिमेकी देशहरूले अझै धेरै भयावह अवस्था भोगेका छन्।
किन डेंगु यति चाँडो फैलिँदैछ?
विज्ञहरूका अनुसार, तीव्र शहरीकरण र जलवायु परिवर्तनले डेंगुको मुख्य वाहक एडिस एजिप्टाई लामखुट्टेलाई नयाँ ठाउँहरूमा बस्न अनुकूल वातावरण दिइरहेको छ।
खोपको आशा
हालसम्म डेंगुका लागि कुनै विशेष उपचार छैन।डेंगुको हेरचाह भनेकैलक्षण व्यवस्थापन र गम्भीर असर रोक्नेहो। लामखुट्टे नियन्त्रण उपायहरू छन् तर पर्याप्त प्रभावकारी छैनन्। यस्तोमा खोप नै विकल्प बन्न सक्ने आशा गरिएको छ।
हाल उपलब्ध दुई खोपहरू
डेङ्गभ्याक्सिया- सन् २०१९ मा स्वीकृत, ६–१६ वर्षका पहिले डेंगु भइसकेका बालबालिकाका लागि तीन मात्रा एक वर्षको अन्तरमा दिइन्छ। तर, डेंगु नभएकाहरूमा गम्भीर असर देखिएकाले यो सिफारिस गरिएको छैन। यही कारण अमेरिका लगायत धेरै देशमा यसको प्रयोग कम हुँदै गएको छ।
क्युदेंगा - ताकेदा कम्पनीको यो नयाँ खोप मे २०२४ मा विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भएको हो। चारै प्रकारका डेंगु विरुद्ध प्रभावकारी मानिएको यो खोप दुई मात्रा तीन महिनाको अन्तरमा दिइन्छ। यो पहिले डेंगु भइसकेका व्यक्तिमा बढी प्रभावकारी देखिएको छ, तर डेंगु नभएकाहरूका लागि पनि केही मात्रामा सुरक्षा दिन्छ।
क्युदेंगाअहिले ब्राजिल, थाइल्यान्ड, इन्डोनेसिया आदि देशहरूमा प्रयोग भइरहेको छ। तर समस्या के छ भने यसको मूल्य धेरै महँगो छ। नेपालको सन्दर्भमा हेर्दा, प्रतिव्यक्ति वार्षिक आम्दानीलगभग १ हजार ३२४ डलर छ। यस्तो अवस्थामा क्युदेंगाको एउटा खोप कोर्सको लागत, औसत व्यक्तिको वार्षिक आम्दानीको ७.४प्रतिशत देखि २२.६६ प्रतिशत सम्म हुन जान्छ। अझ, धेरै मानिस दैनिक २ डलर भन्दा कम आम्दानीमा गुजारा गरिरहेकाले यो खोप साधारण जनताका लागि पहुँच बाहिरको कुरा हुन्छ।
विगतबाट सिक्नुपर्ने
सन् २०१६ मा फिलिपिन्सले पहिलोपटक राष्ट्रव्यापी डेंगु खोप कार्यक्रम सुरु गर्यो२। तर, पहिले डेंगु नभएका बालबालिकामा प्रतिकूल असर देखिएपछि एक वर्षमै कार्यक्रम रोकिनु पर्यो। यसले जनविश्वासमा गम्भीर चोट पुर्यायो भने चेतावनीको रुपमा पनि काम गर्यो. खोपहरू बलियो एवम् सुरक्षित डेटा र स्पष्ट सञ्चारका साथ सावधानीपूर्वक लागू गरिनुपर्छ ।
अब के गर्नुपर्छ?
डेंगु खोपले नेपालजस्ता देशहरूमा हजारौँ जीवन बचाउन सक्छ। तर सरकारी कार्यक्रम, अनुदान वा अन्तर्राष्ट्रिय सहयोग बिना, यो मानिसहरुको पहुँचबाट अझै बाहिर रहन्छ।
स्वास्थ्य विज्ञहरू भन्छन्, 'सफल खोप कार्यान्वयनका लागि देशअनुसार फरक योजना आवश्यक हुन्छ। त्यसमा स्वास्थ्य प्रणालीको क्षमता, रोगको बोझ र खोपको लागत–प्रभाव सबै विचार गर्नुपर्छ। साथै, अन्तर्राष्ट्रिय साझेदारी र सहायता पनि अनिवार्य हुनेछ।
डेंगु रोकिएको छैन । बरु फैलिँदै छ। यदि हामी साँच्चै सबैभन्दा जोखिममा रहेकाहरुलाई सुरक्षित राख्न चाहन्छौं भने, यी जीवनरक्षक खोपहरूलाई सस्तो र पहुँचयोग्य बनाउनैपर्छ।
यो लेख सन् २०२४ मा अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिनमा प्रकाशित ‘डेंगु खोप: कम र मध्यम आय भएका देशहरूमा उपलब्धता र सान्दर्भिकता’ नामक अनुसन्धान लेखमा आधारित छ।