बुटवल- रुपन्देही क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा निकटतम प्रतिस्पर्धीभन्दा ५० हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।
थापाले कुल ५८ हजार ८ सय १४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। ३६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको उक्त निर्वाचनमा उनले ५० हजार ३ सय ८९ मतान्तरले विजय हात पारेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गरेका छन्। त्यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएका छन्। यो जानकारी निर्वाचन अधिकृत अशोककुमार बस्नेतले दिएका हुन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा कुल १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ मत खसेको थियो।
डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन्। हाल उनी काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरको न्युरोलोजी विभाग प्रमुख रहेका छन्। साथै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन्।