काठमाडौं- काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गतको दमक बाल अस्पातालले औपचारिक रुपमा स्वास्थ्य सेवामा एआई प्रविधिको प्रयोग शुरु गरेको छ। एम्बिएण्ट लिसनिङ (बिरामी र चिकित्सकको परिवेशका कुराकानीको सुन्ने) प्रविधिको प्रयोग गर्ने माइ क्लिनिको नामक ‘एआई टुल’ सञ्चालनमा ल्याएको हो।
उक्त ‘एआई टुल’ले बिरामी र चिकित्सकको संवाद सुनेर त्यसलाई सिधै मेडिकल नोटमा परिणत गरि रेकर्ड सुरक्षित राख्न सहयोग गर्दछ। यो प्रविधि नेपालको स्वास्थ्य क्षेत्रमा पहिलो पटक व्यावहारिक रूपमा प्रयोगमा आएको किओचका अध्यक्ष डा भगवान कोइराला बताउँछन्।
‘किओच’ केन्द्रीय कार्यालय काठमाडौंमा उक्त एआई प्रयोगको डेमो देखाइएको थियो। जहाँ यस एपमार्फत भेटघाट (अपोइन्टमेन्ट)का क्रममा बिरामी र डाक्टर बीचको संवाद संवाद सुन्ने, रेकर्ड र अन्त्यमा एआईले उक्त संवादलाई संक्षेपमा परिणत गरेको थियो। उक्त संक्षेपलाई एआई एपले नै स्तरीय मेडिकल नोटको ढाँचामा परिवर्तन गर्छ।
संवादका आधारमा बिरामीको सम्भावित समस्या, त्यसका लागि तत्काल गर्नुपर्ने औषधि उपचार, थप परीक्षणका लागि सिफारिस र अन्य चिकित्सकीय नोटहरू तयार हुन्छन्।
अमेरिकाको युनिभर्सिटी अफ म्यासाच्युट्समा कार्यरत क्लिनिकल इन्फर्मेटिक्स र इन्टरनल मेडिसिन विशेषज्ञ डा प्रकाश पौडेलको पहलमा किओच पार्टनर्स अफ अमेरिका (के-पाल्स)को आर्थिक सहयोगमा यो सफ्टवेयर नेपालमा ल्याइएको हो। के-पाल्स अमेरिकाको गैरनाफामुलक संस्था हो।
मेडिकल क्षेत्रमा विकसित हुँदै गरेको, धेरै ठाउँमा प्रयोग प्रमाणित भइसकेको यो प्रणाली अमेरिकाका केहि ठूला एकाडेमिक अस्पतालहरूमा प्रयोग हुँदै आएको छ। व्यापक रूपमा प्रयोग अझै भइनसकेको भएपनि केपाल्सका संस्थापक अध्यक्ष डा पौडेलको संयोजनमा किओचले यसको पहुँच पाएको डा भगवान कोइरालाले बताए।
किओच अन्तर्गत काम गर्ने सबै क्लिनिकल चिकित्सकहरुले यो प्रविधिको प्रयोग गर्नेछन्। किओच दमक बाल अस्पतालमा कार्यरत डा जयमानी श्रेष्ठले यसको प्रारम्भिक प्रयोगबाट आफू एकदमै सन्तुष्ट र सकारात्मक रहेको कुरा आन्तरिक समुह सँग साटेकी छिन्।
डा पौडेलका अनुसार एआइ टूलले चिकित्सक र बिरामीबीचको कुराकानीलाई रियल टाइम रेकर्ड सुन्छ।
यस्तो छ प्रक्रिया
एम्बिएण्ट लिसेनिङ्ग (परिवेश श्रवण) प्रविधि प्राकृतिक भाषा प्रशोधन (एनएलपी) मा निर्भर हुन्छ। यो प्रविधिले बिरामी र स्वास्थ्य सेवा प्रदायकबीचको संवादलाई विश्लेषण गरी संरचित क्लिनिकल नोटमा रूपान्तरण गर्छ। यसले चिकित्सकलाई दस्तावेज तयार पार्ने झन्झटबाट मुक्त गराई बिरामीको हेरचाहमा ध्यान केन्द्रित गर्न सहयोग पुर्याउँछ।
सुरुमा, वाक पहिचान प्रणाली (speech recognition system) ले बोलेको शब्दलाई पाठमा रूपान्तरण गर्छ। त्यसपछि एनएलपी एल्गोरिदमले उक्त पाठको अर्थ बुझ्ने, सन्दर्भ पहिचान गर्ने, र महत्वपूर्ण जानकारी छुट्याउने काम गर्छ। संवादबाट लक्षण, रोग पहिचान, औषधि र उपचार योजना जस्ता क्लिनिकल विवरणहरू निकालिन्छन्। अन्ततः प्रणालीले ती विवरणहरू प्रयोग गरी ड्राफ्ट क्लिनिकल नोटहरू स्वतः तयार गर्छ, जुन चिकित्सकले समीक्षा र परिमार्जन गर्न सक्छन्।
देखाइएको डेमोअनुसार परामर्शको सुरुमा यो टुलले डाक्टर र बिरामीको कुराकानीलाई अडियोको रूपमा रेकर्ड गर्छ र रेकर्ड गरिएको अडियोलाई लिखितमा परिणत गर्दछ । त्यसपछि त्यो लिखित विवरणलाई विश्लेषण गरी मुख्य-मुख्य जानकारीहरू छुट्याउँछ।
सुरुमा बिरामीको रोगको इतिहास राखेको हुन्छ। जहाँ बिरामीसँग रहेका अन्य स्वास्थ्य समस्या वा विगतमा भएका समस्या, शल्यक्रिया, औषधिको एलर्जी आदिबारे उल्लेख हुन्छ।
त्यसपछि बिरामीले भोगेको स्वास्थ्य समस्या र उसले अनुभव गरेका लक्षणहरु उल्लेख हुन्छन्। त्यस्तै ल्याब परीक्षणका नतिजा वा सिफारिस बुँदागत उल्लेख गर्दछ ।
यी सबै जानकारीलाई आधार मानेर एआईले एउटा संक्षिप्त र व्यवस्थित क्लिनिकल नोट वा रिपोर्ट तयार पार्छ। यसमा बिरामीको रोगको सम्भावित निदान, सिफारिस गरिएका उपचार प्रक्रिया र औषधिको प्रेस्क्रिप्सन समेत समावेश हुन्छ। जसलाई चिकित्सकहरुले हेरेर 'इन्डोर्स'गरेपछि मूल सफ्टवेयरमा राखिन्छ।
उपचारका लागि लाभ
डा पौडेल स्वास्थ्य सेवामा चुस्तता र गुणस्तर सुधार्नका लागि यसका विभिन्न लाभ रहेको बताउँछन्। उनका अनुसार पहिलो लाभ त चिकित्सकलाई हुन्छ, जसको समय वचत हुन्छ । ‘डाक्टरले परामर्शको समयमा क्लिनिकल नोट बनाउनमा धेरै समय खर्चनु पर्दैन। यसले उनीहरूलाई बिरामीसँग सीधा कुरा गर्न र ध्यानपूर्वक सुन्न पर्याप्त समय दिन्छ,’ उनले भने, ‘प्रशासनिक काम जस्तै कागजात बनाउने, रिपोर्ट लेख्ने जस्ता काममा लाग्ने समय न्युन बनाउँदा डाक्टरले थप बिरामी हेर्न वा आफ्नो अनुसन्धानको काममा ध्यान केन्द्रित गर्न समय पाउँछन्।‘
मानवले नोट बनाउँदा केही कुराहरू छुट्ने सम्भावना रहन्छ तर टुलले कुराकानीका हरेक महत्त्वपूर्ण पक्षलाई समेट्ने भएकाले रिपोर्टहरू यथार्थ हुन्छन्। यदि केहि सच्याउनु परे थप्ने अवसर पनि चिकित्सकलाई उपलब्ध हुन्छ। बिरामीले र स्वास्थ्य सेवा प्रदायकले आफ्नो सबै स्वास्थ्य रेकर्ड र प्रेस्क्रिप्सन डिजिटल रूपमा पाउन सक्छन्।
सरलीकृत बुझाइको लागि यसलाई ‘स्मार्ट सुगा’का रुपमा अर्थ्याउँदै डा पौडेलले भने, ‘यसको प्रयोग जति बढ्दै गयो, त्यति यसले नेपाल सन्दर्भअनुसार रिपोर्ट निर्माण गर्नेछ।’
त्यसैगरी यसमा सबै कुरा रेकर्डेड हुन्छ । जसले यसको डाटा विश्लेषण प्रविधिको उपयोग गरेर अनुसन्धान गर्न पनि सहज बनाउने उनको भनाइ छ। नेपाली र अंग्रेजी दुवै भाषा यसको प्रणालीमा रहेको बताइएको छ। यसको प्रयोग बढ्दै जाँदा मसिन लर्निङको विधिबाट यसको नेपालीमा शुद्धता अझै राम्रो बन्दै जाने डा पौडेलको विश्वास छ। आइसिडी कोड अनुसारको रोगको विवरण नोटमा राख्न समेत यो टुलले सहज बनाउँछ।
'माइ क्लिनिको' एपले किओचले प्रयोगमा ल्याएको इलेक्ट्रोनिक मेडिकल रेकर्ड सँग सिधै समन्वय र जानकारी आदान प्रदान गर्ने हुँदा यसको चुस्तता अझ प्रभावकारी हुनेछ। मेडिकल रेकर्डलाई सम्पूर्ण रुपमा डिजिटल बनाउने किओचको निरन्तर प्रयासमा यसले विशेष भूमिका खेल्ने छ।
डा पौडेलका अनुसार समय सँगै बढ्ने उपलब्ध प्रविधिहरुको प्रयोग नैतिक जिम्मेवारी, बिरामीको हितको लागि प्रयोग, नियमन, नियन्त्रण, र सुरक्षामा विशेष ध्यान दिनु अत्यन्त महत्वपूर्ण पक्ष हो। यस्ता प्रविधिहरुको समुचित प्रयोग समयको माग मात्र नभएर उत्कृस्ट सेवा प्रवाहको लागि आवश्यक कुरा हो।
यो प्रणाली अहिले मुख्यतया ओपीडी र वार्ड राउन्डमा उपयोगी गरिने डा कोइराला बताउँछन्। यसरी विकसित देशरुमा समेत व्यापक प्रयोग हुने क्रममा रहेको प्रविधि नेपाल मा शुरुवात भएको छ। उनले यसलाई नेपालमा स्वास्थ्य क्षेत्रमा एआईको पहिलो व्यावहारिक प्रयोग भएको बताए।
उनले डा पौडेलको प्राविधिक तथा अवधारणात्मक सहयोगप्रति आभार प्रकट गर्दै स्वास्थ्य सूचना प्रविधिको विकासमा यस कदमलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको उल्लेख गरे। 'यो प्रविधि नेपालको स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगमा कोशेढुंगा बन्ने छ,' उनले भने।