स्नातक तहको थेसिसका लागि गरिएको यो अनुसन्धान मेरो लागि सुरुदेखिनै अत्यन्त महत्वपूर्ण थियो। अनुसन्धानको मूल अवधारणा र प्रस्ताव तयार पार्ने क्रममा मैले यस्तो समुदायलाई अध्ययनमा समावेश गर्न चाहें, जसले शैक्षिक क्षेत्रमा सीमित ध्यान पाएको छ। स्वास्थ्यसम्बन्धी समस्यालाई केवल प्राविधिक दृष्टिकोणबाट मात्र होइन, मानवीय संवेदनाका दृष्टिले बुझ्ने प्रयत्नस्वरूप नै यो अध्ययनलाई अघि बढाइएको हो। यही सोच र चिन्तनको आधारमा अन्ततः मैले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीहरूलाई आफ्नो अध्ययनका उत्तरदाता रूपमा चयन गरेँ।
ट्राफिक सुरक्षाकर्मीहरूले अनुभव गर्ने समस्याहरू सडकमा हिँड्ने पैदलयात्री र सवारी चालकहरूले भोग्ने समस्याभन्दा फरक हुन्छन्। धुवाँयुक्त र आवाज–प्रदूषित वातावरणमा निरन्तर काम गर्नु, मौखिक दुर्व्यवहार र धम्की सहनु, सडक दुर्घटना व्यवस्थापन, आकस्मिक सडक अवरोध तथा भिआईपी आगमन–व्यवस्थापन जस्ता अप्रत्याशित परिस्थितिहरू सम्हाल्नु ट्राफिक कर्मचारीहरूको दैनिकी हो। त्यसैले ट्राफिक कर्मचारीहरूले भोग्ने थकान, निराशा, मानसिक दबाब (बर्नआउट सिन्ड्रोम) र परिस्थितिमा सुधारका सम्भावनाहरूलाई गहिराइमा बुझ्ने उद्देश्यसहित हामी यो अनुसन्धान यात्रामा अघि बढ्यौं।
यस अध्ययनमा मात्रात्मक तथा गुणात्मक दुवै विधि (mixed-method design) प्रयोग गरिएको थियो। काठमाडौँ उपत्यकामा कार्यरत १४६ जना ट्राफिक प्रहरीलाई quota sampling विधिबाट छनोट गरी वि.सं. २०७९ साउन २४ देखि ३० गतेसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो। सो क्रममा बर्नआउट, निद्राको गुणस्तर, जागिर सन्तुष्टि तथा रेजिलेन्स (संकट सामना क्षमता) सम्बन्धी प्रश्नावलीहरू प्रयोग गरिएका थिए। यसै क्रममा ३ जना मुख्य जानकारीदातासँग (एक एसएसपी, एक एएसआई र एक मनोचिकित्सक) अन्तर्वार्ता लिई अनुभव र रेजिलेन्स रणनीतिहरूबारे थीमेटिक विश्लेषण गरिएको थियो।
काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरीहरूमा मध्यम स्तरको बर्नआउट भेटिएको थियो। विशेषगरी जुनियर तहका प्रहरीहरूमा शारीरिक थकान र कामप्रति दूरी बनाउने प्रवृत्ति बढी देखिएको थियो भने वरिष्ठ अधिकारीहरूमा मानसिक थकान बढी पाइएको थियो।
बर्नआउटसँग सम्बन्धित प्रमुख कारकहरूमा कमजोर निद्रा गुणस्तर, अत्यधिक कार्य बोझ र रेजिलेन्स रणनीतिबारे सीमित ज्ञान रहेका थिए। यसका साथै धेरै प्रहरीहरूलाई ‘बर्नआउट’के हो भन्ने अवधारणाबारे नै जानकारी नभएको तथ्य पनि अध्ययनका क्रममा भेटिएको छ। रेजिलेन्स रणनीतिहरू व्यक्तिगत प्रयासमा मात्र सीमित थिए। जस्तै: समय व्यवस्थापन, आराम र साधारण 'कोपिङ' (सामना गर्ने) सीप।तर प्रहरीहरूद्वारा सरकारी सहयोग, संस्थागत परिवर्तन र जनताको सहयोग पनि अनिवार्य भएको प्रतिक्रिया दिएका थिए।
प्रहरीहरूको मानसिक स्वास्थ्य समस्याले उनीहरूको व्यक्तिगत जीवन मात्र होइन, सार्वजनिक सुरक्षामा समेत प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले बहुस्तरीय पहल आवश्यक देखिन्छ।व्यक्तिगत तहमा ट्राफिक नियमको पालना, संगठनात्मक तहमा मानसिक स्वास्थ्य प्रवर्द्धनसम्बन्धी तालिम र सचेतना कार्यक्रम तथा सरकारी तहमा सुरक्षित सडक निर्माण र प्रभावकारी यातायात व्यवस्थापन सुधार अत्यन्त महत्वपूर्ण छन्।
ट्राफिक सुरक्षाकर्मीहरूसँग प्रत्यक्ष कुराकानी गर्दा मैले पहिलो पटक उनीहरूको 'अदृश्य थकान'लाई गहिरोसँग महसुस गरेँ। कतिपयले खुलस्त भन्नुभयो—
“दैनिक तनावले राति राम्रो निद्रा लाग्दैन।”
“घर पुगेपछि पनि दिमाग एकछिन पनि शान्त हुँदैन।”
कतिपयले भने मुस्कुराउँदै मात्र भन्नुभयो—“काम नै हो, के गर्नु।”
अनुभव: यो अनुसन्धान अघि बढ्दै जाँदा मभित्र पनि उल्लेखनीय परिवर्तन आए। पहिले ट्राफिक जाममा फसिँदा झर्को लाग्ने गर्थ्यो, अहिले भने त्यहाँ उभिएका सुरक्षाकर्मीहरूको आँखामा देखिने थकान महसुस गर्न थालेको छु। यो अनुभवले मलाई पेशागत रूपमा मात्र होइन, व्यक्तिगत रूपमा पनि अझ संवेदनशील बनायो।
Reference: Aryal, S., Pudasaini, R., & Chaudhary, A. (2025). A Study on Burnout Syndrome and Resilience Strategies Among Kathmandu Valley Traffic Police Officers. Civil Medical Journal, 3(1), 28–35. https://doi.org/10.59338/cmj.43