सामान्यतया बालबालिकाले ५-६ महिनादेखि नै बोल्न सुरु गर्छन्। तर कसैको बच्चा २-३ वर्षसम्म पनि बोल्दैनन् भने यो स्वाभाविक होइन। बालरोग विशेषज्ञ डा. बाबुराम पाण्डेका अनुसार बच्चाले ६ महिनाबाट नै 'मा', 'बा' जस्ता शब्द बोल्न सुरु गर्छन्। एक वर्षको उमेरबाट भने आमा, बाबा जस्ता एउटा पूरा शब्द बोल्न थाल्छन्।
यदि बच्चाहरूमा यो प्रक्रिया अनुसार बोलीको विकास नभएमा बालरोग विशेषज्ञलाई भेट्नुपर्ने उनी बताउँछन्। यद्यपि, समयपूर्व जन्म भएका बच्चा, कानको संक्रमण, श्रवण क्षमता कमजोर, बढी स्क्रिन टाइम, अटिजम जस्ता समस्या भएका बच्चाहरू समयमा नै बोल्दैनन्।
पारिवारिक वातावरण, पर्याप्त कुराकानीको कमी वा पोषणको कमीले पनि बोलीमा ढिलाइ गराउन सक्ने बालरोग विशेषज्ञहरू बताउँछन्।
बच्चा ढिलो बोल्नुका कारणहरू:
सुनाइमा समस्या: बच्चाले नसुनेमा बोल्न सिक्न सक्दैन, त्यसैले पहिलो कारण सुनाइ परीक्षण हो।
अटिजम: यो एक न्युरोलोजिकल अवस्था हो जसले सञ्चार र सामाजिक अन्तरक्रियामा असर गर्छ।
वातावरणीय कारण: संयुक्त परिवारको तुलनामा सानो परिवारमा कम कुराकानी हुने भएकाले पनि ढिलो बोल्ने समस्या देखिन सक्छ।
न्युरो-विकास सम्बन्धी समस्या: मस्तिष्कको विकासमा ढिलाइ वा अन्य न्युरोलोजिकल समस्या।
पोषणको कमी: शरीरमा आवश्यक पोषक तत्वको कमीले पनि विकासमा अवरोध पुर्याउँछ।
अभिभावकले ध्यान दिनुपर्ने कुराहरू:
बच्चासँग धेरै कुरा गर्ने र खेल्ने गर्नुहोस्।
यदि २-३ वर्षको हुँदासम्म पनि बच्चा बोल्दैन भने डाक्टरलाई देखाउनुहोस्।
स्क्रिन टाइम (मोबाइल/टिभी) कम गराउनुहोस्।