काठमाडौं– उपत्यकाका अवैध रुपमा यौन शक्तिबर्द्धक औषधि बिक्रीका नाममा ठगी गरेको आरोपमा १५ वटा विभिन्न हर्बल होम तथा टेलिसेन्टरका सञ्चालकहरु पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ‘अप्रेसन इलुजन’ सञ्चालन गरी काठमाडौंका विभिन्न सपिङ मलमा सञ्चालित हर्बल तथा टेलिसेन्टरमा छापा हानेको हो। यौन शक्ति बढाउने, लिंग ठूलो पार्ने, महिलाहरुको स्तन बढाउन सक्ने भन्दै उनीहरुले 23 नै गरेर विभिन्न औषधि बिक्री गर्दैै आएका थिए।
उनीहरुले भ्रममा पारी धेरैलाई ठगी गरेको उजुरी आएपछि पक्राउ गरिएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए।
प्रहरीले स्वयम्भूस्थित ग्रिन हर्बल एन्ड फिटनेस सपका सञ्चालक मेजर सिंह, अनामनगरस्थित फस्ट डिल अनलाइन सपिङकी म्यानेजर लक्ष्मी कटेल, सुन्धारास्थित कान्तिपुर टेलिसपका सञ्चालक रत्न घिमिरे, बसपार्कस्थित गोर्खा हर्बल विजका कामदार सुदिल ढकाल, टेलि मार्केट नेपाल मीनभवनका सञ्चालक बसन्ता सम्बाहाम्फे र सुकेधारास्थित एसियन हबर्ल होमका सञ्चालक सुप्रभा केसीलाई पहरीले पक्राउ गरेको हो।
त्यस्तै, हर्बल सप कोटेश्वरका सञ्चालक सूर्यबहादुर रायमाझी, सोह्रखुट्टेस्थित टेलि वान हर्बलका सञ्चालक बाबुराम ढकाल, पुतलीसडकस्थित ग्लोबल टिभी प्रोडक्टका सञ्चालक कुमार भारती, कमलादीस्थित ग्लोबल टेलि सपका सञ्चालक यादव राजी भारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
तीनकुेस्थित टेलिसेन्टरका सञ्चालक विपिन बोलखे, सुकेधारास्थित नेचुरल टेप सपका सञ्चालक रविन खड्का, गोंगबुस्थित बिजी हर्बल सपका सञ्चालक यमनाथ पौडेल र इन्द्रचोकस्थित निकिता इम्पेक्सका सञ्चालक विकास गोयललाई पनि पक्राउ परेका छन्।
पक्राउ परेकाहरुबाट रिस्टोर फेमिनी वास आयल, भाजिनेक्स फिमेल क्रिम, डेभलपी सेक्स, पपना ब्रेस्ट इन्लार्जिङ, क्रिम, ब्रेस्ट फर्मिङ क्रिम टच मी, सुपर ड्रागन लगायत नाम गरेका औषधि बरामद गरिएको सिआइबीले जनाएको छ।