विश्वकै दोस्रो ठूलो व्यक्तिपरक उपचार पद्धति होमियोप्याथिक उपचार प्रभावकारी वैकल्पिक उपचार हो । 11 संगठनले विश्वको दोस्रो ठूलो चिकित्सा पद्धतिको रुपमा स्वीकार गरेको यसलाई जीडीपी (कुल ग्राहस्थ उत्पादन) १५ हजार डलर भन्दा बढी हुने देशमा सबैभन्दा बढी प्रयोग हुने वैकल्पिक चिकित्सा पद्धति मानिन्छ भने जीडीपी (कुल ग्राहस्थ उत्पादन) १५ हजार डलर भन्दा कम हुने देशमा हर्वल मेडिसिन पछि सबैभन्दा बढी प्रयोग हुने वैकल्पिक चिकित्सा पद्धतिको रुपमा विकास भएको 11 संगठनले प्रकाश पारिसकेको छ ।
सन् १७९६ मा जर्मनीका प्रसिद्ध एलोप्याथिक विशेषज्ञ डा. क्रिश्चियन फेडेरिक स्यामुयल हेनिमेनले लामो समयको खोज अनुसन्धान पश्चात् चिकित्सा क्षेत्रमा प्रतिपादन गरेको यो विज्ञानलाई रोगको स्थायी रुपमा (जराबाटै) समाधान गर्न सक्ने उत्तर आधुनिक समयमा विकास भएको चिकित्सा विज्ञानको रुपमा हेरिने गरिन्छ ।
पहिलो पटक जवरजस्त सफलता सन् १८१२ मा जर्मनी देशको लेप्जिग प्रान्तमा भएको टाइफस महामारीमा गरिएको प्रयोगबाट भएको थियो । हेनिमेनले २६ प्रकारका होमियोप्याथिक औषधि प्रयोग गरी १ सय ८० बिरामी हेरेका थिए । जसमा औषधि प्रयोग गरिएको २ जना बिरामीहरुको मात्रै मृत्यु भएको इतिहास छ।
दोस्रो पटक सन् १८३१ म असाइटिक कोलेरा भारतबाट फैलिएर युरोपसम्म पुगेको थियो । त्यस समयको रेकर्डअनुसार होमियोप्याथिक उपचारको क्रममा मृत्यु हुनेको संख्या २० प्रतिशत भन्दा कम थियो जुन अन्य उपचार पद्धतीको तुलनामा अत्यन्तै न्यून थियो । जुन सफलताको कारणले होमियोप्यथिको प्रभाव अमेरिका र युरोपका देशहरुमा पुग्यो । सन् १८४९ मा अमेरिकाको ओहायो राज्यमा भएको कोलेराको महामारीमा होमियोप्याथिक उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ३ प्रतिशत थियो । त्यसैको प्रभावले २० औं शताब्दीको शुरुवातमा अमेरिकामा जम्मा २२ होमियोप्याथिक मेडिकल स्कूल, एकसय होमियोप्याथिक अस्पताल, एक हजारभन्दा बढी होमियोप्याथिक फार्मेसीहरु सञ्चालनमा आएका थिए भने वोस्टन युनिभर्सिटी, स्टान्डर्ड युनिभर्सिटी, न्यूयोर्क युनिभर्सिटीहरुले होमियोप्याथिको शिक्षा प्रदान गरेका थिए । सन् २००२ मा गरिएको अध्ययनमा अमेरिकामा पछिल्लो ७ वर्षमा होमियोप्यथिक औषधि प्रयोग ५ सय प्रतिशतले बढेको र २ सय ३० मिलियन डलर होमियोप्याथिक औषधिमा खर्च गरेको नेशनल सेन्टर अफ होमियोप्याथी भर्जिनियाले देखाएको छ ।
युरोपका ४० देशहरुमा फैलिएको यो उपचार पद्धतीमा २९ प्रतिशत युरोपियनहरु होमियोप्याथिक औषधिको प्रयोग गर्छन् भने ४ जना युरोपियन मध्ये ३ जनालाई होमियोप्याथिको बारेमा जानकारी रहेको भेटिन्छ । सन् १८२० देखि बेलायती शाही परिवारमा भित्रिएको यस उपचार पद्धतीको लोकप्रियता अझै उतिकै रहेको छ । बेलायती महारानीद्वारा आफ्नो यात्रामा ६० होमियोप्याथिक औषधि रहेको होमियोप्याथिक किट बक्स साथमा लैजाने गरेबाट पनि हामियोप्याथि प्रतिको लगाव थाहा पाउन सकिन्छ । ब्रिटिस मेडिकल जर्नलकाअनुसार ४२ प्रतिशत ब्रिटिस चिकित्सकद्वारा, विरामीलाई हामियोप्याथिक चिकित्सक कहाँ रेफर गर्ने गरेको र बेलायतमा होमियोप्याथिक औषधिको व्यापार प्रत्येक वर्ष २० प्रतिशतले वृद्धि भइरहेको छ । फ्रान्समा भएको सर्वेअनुसार, लगभग ४० प्रतिशत फ्रान्सेली नागरिकले होमियोप्याथिको प्रयोग गरेको गर्ने गरेको र प्राथमिक स्कूलमा होमियोप्याथिबारे जानकारी तथा मेडिकल स्कूलद्वारा होमियोप्याथिको अध्यायन गर्ने गरेको छ।
विश्वका ८० भन्दा बढी देशमा प्रयोग र वैधानिक मान्यता प्राप्त होमियोप्याथिक उपचार पद्धतीलाई छिमेकी देश भारतले होमियोप्याथिको ग्लोवल लिडरको रुपमा पहिचान बनाएको छ । सन् २०१४ सम्ममा ५२ युनिभर्सिटी ले होमियोप्याथि अध्यापन गराइरहेको, १ सय ८३ होमियोप्याथिक मेडिकल कलेजबाट स्नातक तहको अध्यापन गराइरहेको, सन् २०१४ जनवरी १ सम्म २ लाख ७९ हजार ५ सय १८ रजिष्ट्रर होमियोप्याथिक चिकित्सक रहेको (कुल चिकित्सकको २० प्रतिशत होमियोप्याथिक चिकित्सक रहेको र १२,००० होमियोप्याथिक चिकित्सक प्रत्येक वर्ष थपिदै) भारतले प्रत्येक वर्ष आयुर्वेदिक पद्धती सरह बजेट लगानी गर्दै स्थानिय तह, प्रदेश र राष्ट्रिय स्तरमा सरल, सुगम र सस्तो तरिकाबाट स्वास्थ्य सेवा दिदै आइरहेको छ ।
कुल जनसङ्ख्याको १० प्रतिशतले केवल होमियोप्याथिक औषधि मात्र प्रयोग गर्ने भारतमा होमियोप्याथिक सेवामा लाग्ने खर्च एलोप्याथिको तुलनामा लगभग आधा भन्दा कम रहेको छ । एम्समा होमियोप्याथिक विभागको व्यवस्था तथा दरबन्दी रहेको, राष्ट्रपति भवनमा होमियोप्याथिक क्लिनिकको व्यवस्था रहेको छिमेकी देश भारतको मोदी सरकारले भर्खरै मात्र सेनाको टुकुडीहरुमा पनि होमियोप्याथिक युनिटको सेवा कार्यान्वयन गरेको छ भने रेल्वे अस्पतालहरुमा होमियोप्याथिक युनिट राख्ने योजनामा समेत रहेको छ । आफ्नो देशको जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा समेत खपत गरेको भारतले होमियोप्याथिक चिकित्सा विस्तारका लागि इजरायलमा लगानी गर्ने सम्झौतामा दुबै देशका सरकार प्रमुखहरुले हस्ताक्षर गरिसकेका छन् ।
दक्षिण एशियामा भारत बाहेक पाकिस्तान, श्रीलंका र बङ्गलादेशमा पनि अत्यन्त लोकप्रिय र उक्त देशहरुमा छुट्टै होमियोप्याथिक काउन्सिल रहेको छ । पछिल्लो समय अरब देशहरु, नर्थ अफ्रिका, जापान, कोरिया, मलेसिया, थाइल्याण्ड र चीनमा लोकप्रियता बढ्दै गइरहेको होमियोप्याथिक उपचार पद्धती नेपालमा वि.सं. १९७० सालतिरै जुद्ध शमशेर राणाको पालामा भित्रिएको मानिन्छ । राणा प्रधानमन्त्रीको हात्तीलाइ उपचार गर्न भारतबाट झिकाइएका एक पशु चिकित्सकले होमियोप्याथिक औषधी प्रयोग गरेका थिए । त्यस पश्चात् ती पशु चिकित्सकले सर्वसाधारणलाई पनि होमियोप्याथिक उपचार गर्ने स्वीकृती पाएका थिए ।
वि.सं. २००४ सालमा ज्ञानेन्द्र मोहन मेमोरियल डिस्पेन्सरी स्थापना भएसँगै नेपालमा औपचारिकरुपमा होमियोप्याथी शुरु भएको मानिन्छ । झन्डै सात दशकभन्दा अगाडि नै नेपालमा भित्रिएको यो उपचार पद्धतिको समुचित विकास र विस्तारका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पटक–पटक भएको सम्झौता कार्यान्वयन नहुनु दुःखद् कुरा हो । नेपालको भौगोलिक बनावट, नेपाली नागरिकको आर्थिक स्तरसँग ठ्याक्कै मेल खाने, नकारात्मक असर नभएको, रोगको जराबाटै निर्मुल गर्न सक्ने, सस्तो र बच्चादेखि सुत्केरी महिला र वृद्ध सम्मलाई प्रभावकारी रहेको उपचार पद्धतीलाई एन्टिबायोटिक दवाइको कुप्रभावबाट आक्रान्त नेपाली समाजमा राज्यबाटै स्वस्फूर्त रुपमा लगानी गर्दै वैकल्पिक उपचारको रुपमा बिकास विस्तार गर्न अत्यान्तै आबश्यक रहेको छ ।
अहिले नेपालमा २ सय ५० दक्ष चिकित्सक रहेको र झन्डै दुई हजारको हाराहारीमा होमियोप्याथिक चिकित्साकर्मीहरु रहेका छन् भने ५० भन्दा बढी विद्यार्थीहरु छिमेकी देश भारतमा अध्ययन गरिरहेका छन् । होमियोप्याथिक उपचारमा सर्वसाधारणहरुको आकर्षण बढिरहेकाले अब प्रदेश सरकारबाटै यो चिकित्सा पद्धतीको विकास हुन आबश्यक देखिन्छ । होमियोप्याथिमा कुनै रोगको नाममा मात्र औषधि उपलब्ध गराइदैन । यस्तो चिकित्सा पद्धतिमा बिरामीका लक्षणका आधारमा उपचार गरिन्छ । त्यसैले निको हुने न्युन अपेक्षा गरिएका बिरामीलाई पनि होमियोप्याथिले ठीक गरेका उदाहरण प्रशस्त छन् । फेरि होमियोप्याथी र आयुर्वेद एउटै हो भन्ने भ्रम राजनीतिकर्मी, सरकारी कर्मचारी लगायतमा हुनुले पनि होमियोप्याथिक उपचार पद्धती छाँयामा परेको र वेवास्ता भएको तितो यथार्थ रहेको छ ।
यो उपचार पद्धतीको दिगो विकासका लागि होमियोप्याथिक जनशक्तिबाटै होमियोप्याथिक मूल्य, मान्यता र सिद्धान्त अनुरुप रेखदेख गर्न होमियोप्याथिक विभाग आवश्यक रहेको छ भने जनचेतना बढाउनका लागि विद्यालयका पाठ्यक्रममा नै होमियोप्याथी सम्बन्धि जानकारी समावेश हुन आबश्यक रहेको छ । सरकारले ल्याउन लागेको एकद्वार स्वास्थ्य नीतिमा होमियोप्याथीलाई प्राथमिकताका साथ समावेश गरी कार्यान्वयन गर्न सके हाम्रोजस्तो विकासोन्मुख देशका लागि सरल, सहज र सस्तो रुपमा गरिव नागरिकले स्वास्थ्य सेवा लिन सक्छ भन्ने कुरामा दुई मत छैन ।
अन्त्यमा होमियोप्याथिक चिकित्सा पद्धति एक सरल, सुगम र सस्तो तरिकाको चिकित्सा पद्धति हो भन्ने कुरा निर्विवाद भैसकेकोले यस पद्धतिबाट सरल, सुगम र सस्तो तरिकाबाट घर–घरमा स्वास्थ्य उपचार सेवा भएमा हाम्रो प्रयत्न सफल भएको सम्झिन्छौं । हाम्रो जस्तो अति कम विकसित मुलुकको निमित्त धेरै सुहाउँदो होमियोप्याथिक चिकित्सा विज्ञानको स्तर वृद्धि हुनुपर्ने हो ।