“समयमै पहिचान र सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार” भन्ने मूल नाराका साथ देशभर यही बैशाख १५ देखि ३० सम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन भइरहेको छ। यस अभियानको मुख्य उद्देश्य ६ देखि ५९ महिनाका बालबालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषण (SAM र MAM) को समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्नु हो।
बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता, शारीरिक वृद्धि, शारीरिक अंगहरू र प्रणालीहरूको परिपक्वता जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुरा साथै सम्पूर्ण अंगहरूको जाँच गरी गणितीय मानाङ्कको आधारमा रेकर्ड गरिनुलाई पोषण लेखाजोखा एवं वृद्धि अनुगमन भनिन्छ।
वृद्धिः वृद्धि भन्नाले उमेर अनुसारको शारीरिक परिपक्वता हो, जसले शरीरको वृद्धि जस्तै तौल, उचाइ, टाउको, छाती र पाखुरालाई जनाउँछ।
विकासः उमेर अनुसार शारीरिक अंगहरू र प्रणालीहरूको परिपक्वताका साथै सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमता देखिनुलाई विकास भएको मानिन्छ।
बच्चाको वृद्धि अनुगमन गर्ने भनेको के हो ? यसमा के के जाँचिन्छः
बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता तथा शरीरको वृद्धि जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको जाँच गरी गणितीय मानाङ्कको आधारमा रेकर्ड गरिनुलाई वृद्धि अनुगमन भनिन्छ।
वृद्धि थाहा पाउने सूचकहरूः
१. तौल लिएर
२. उचाइ नापेर
३. टाउकाको परिधि
४. छातीको परिधि
५. MUAC (Mid Upper Arm Circumference) नापबाट
यसमा निम्न कुरा हेरिन्छ। वृद्धि का प्रचलित सूचकाङ्कहरूः
क. उमेर अनुसारको तौल
ख. उचाइ अनुसारको तौल
ग. उमेर अनुसारको उचाइ
घ. छातीको परिधि
ङ. टाउकाको परिधि
च. मध्य पाखुराको नाप (MUAC)
बच्चा जन्मेदेखि २ वर्षको हुँदासम्म प्रत्येक महिना तौल लिनु पर्दछ। २ वर्षमा २४ पटक तौल लिएको रेकर्ड हुनुपर्दछ।
उमेर अनुसार बच्चाको विकास भए नभएको निम्न कुरा हेरेर थाहा पाउन सकिन्छः
१. ३ देखि ४ महिनामा बच्चाले आफ्नो टाउको अड्याउन सक्छ।
२. ६ महिनामा बच्चा कसैको सहायताले बस्न सक्छ।
३. ६ देखि ८ हप्तामा बच्चा मुस्कुराउँछ।
४. ९ महिनामा बच्चा कसैको सहायता बिना बस्न सक्छ।
५. १२ महिनामा बच्चा आफै उभिन सक्छ।
६. १५ महिनामा बच्चा हिँड्न सक्छ।
पोषण लेखाजोखा एवं वृद्धि अनुगमन गर्नुको आवश्यकता र महत्व के छ तः
१. बच्चाको पोषण स्थिति थाहा पाउन।
२. उमेर अनुसार तौल र उचाइ बढेको छ/छैन भनेर थाहा पाउन।
३. बच्चालाई कुनै रोग लागेको छ कि छैन भनेर समयमै थाहा पाउन।
४. रोग लागेको भए समयमै उपचार गर्न।
बालबालिकाको वृद्धि र विकासमा प्रभाव पार्ने तत्वहरू के के छन् ?
१. पोषण
२. भौतिक वातावरण (घाम, पानी, हावा)
३. सामाजिक वातावरण
४. वंशानुगत तत्व
५. परिवारको संख्या
६. अन्तःस्रावी ग्रन्थी
७. आमाको प्रसवको अवस्था
८. जन्मजात विकृति आदि
MUAC टेपले ६ महिनादेखि माथि र ५ वर्ष (५९ महिना) मुनिका बच्चाहरूको पोषण स्थिति बारे बताउँछः
१. हरियो – राम्रो
२. पहेँलो – पोषण स्थिति राम्रो छैन
३. रातो – गम्भीर, उपचार आवश्यक
पाखुराको नाप १३.५ से.मी. भन्दा माथि भएमा पोषण राम्रो मानिन्छ। १२.५ देखि १३.५ से.मी. सम्म भएमा थप स्याहार आवश्यक हुन्छ। १२.५ से.मी. भन्दा कम भएमा गम्भीर जोखिम मानिन्छ।
बच्चा जन्मँदा तौल २.५ के.जी. भन्दा माथि हुनु पर्दछ। जन्मँदा उचाइ ४२ देखि ५७ से.मी. हुनु पर्दछ। जन्मँदा टाउकाको परिधि ३५ से.मी. र छातीको परिधि ३२ से.मी. हुनु स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिन्छ।
बच्चाको वृद्धि अनुगमन कहाँ कहाँ गरिन्छ ?
हरेक महिना स्वास्थ्य संस्थामा वा स्वास्थ्य संस्था अन्तर्गत चल्ने गाउँघर क्लिनिकमा अनिवार्य रूपमा स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू द्वारा बालबालिकाको तौल लिइन्छ।
२०८३ बैशाख १५ देखि ३० सम्म देशभरिका ७५३ वटै स्थानीय तहहरूमा अभियानका रूपमा कार्यक्रम सञ्चालन हुँदैछ। पोषण लेखाजोखा गर्ने स्थानहरूमा स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन, प्रारम्भिक बालविकास केन्द्र तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूका बैठक स्थलहरू समावेश छन्।
निरन्तर रूपमा बच्चाको पोषण स्थिति थाहा पाउन हरेक महिना बच्चालाई तौल गराई वृद्धि अनुगमन कार्ड भर्नु आवश्यक हुन्छ। यस कार्यका लागि नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरूले आफ्नो सेवा क्षेत्रभित्रका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत सूचना प्रवाह गरी २४ महिनासम्मका बालबालिकालाई सम्बन्धित स्थानमा ल्याई तौल लिने, स्वास्थ्य अवस्था बुझ्ने र अभिभावकलाई परामर्श दिने कार्य गर्छन्।
त्यसैले हरेक आमा-बुबाले आफ्नो बच्चालाई नजिकको स्वास्थ्य संस्था वा गाउँघर क्लिनिकमा लगेर नियमित रूपमा तौल जाँच गराउनु अत्यन्त आवश्यक छ। बच्चा २४ महिनाको हुँदासम्म २४ पटक तौल लिँदा विभिन्न रोगको समयमै पहिचान र रोकथाम गर्न सकिन्छ।
यस कार्यको महत्वपूर्ण जिम्मेवारी प्रत्येक अभिभावक स्वयंले लिनु आवश्यक छ।