मिडवाइफ: प्रजनन स्वास्थ्यको संरक्षक र सुरक्षित मातृत्वको आधारस्तम्भ, तर राज्यको प्राथमिकताबाट टाढा!
माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यू,
आज मे ५, अन्तर्राष्ट्रिय मिडवाइफ दिवस। यस अवसरमा म नेपालमा मिडवाइफ पेशाको अवस्था, समस्या, चुनौती, अवसर र अगाडि गर्नुपर्ने महत्वपूर्ण आवश्यकताबारे यहाँलाई अवगत गराउँदै ध्यानाकर्षण गराउन चाहन्छु।
यस दिवसलाई सन् १९९२ मा अन्तर्राष्ट्रिय मिडवाइफ संघ (ICM) द्वारा स्थापना गरिएको हो। यो दिवस आज विश्वभर मिडवाइफ पेशाको प्रवर्द्धनका लागि मनाइन्छ। यस वर्षको सन्देश “One Million More Midwives” ले विश्वभर अझै लाखौं मिडवाइफको अभाव रहेको यथार्थ देखाउँछ। तर विडम्बना, हाम्रो देशमा भने अझै मिडवाइफ को हुन् भन्ने बुझाइ नै कमजोर छ।
विकसित देशहरूमा महिला तथा नवजात शिशुको स्याहारका लागि मिडवाइफ पहिलो रोजाइमा पर्छन्। तर नेपालमा यो पेशाको महत्व अझै व्यापक रूपमा स्थापित हुन सकेको छैन। अझै पनि “मिडवाइफ” लाई “wife” सँग जोडेर बुझ्ने र डेलिभरी गराउने नर्स भन्ने गलत धारणा पाइन्छ। जबकि मिडवाइफ भनेको महिलासँग रहने, उनको जीवनको सबैभन्दा संवेदनशील क्षणमा साथ दिने दक्ष स्वास्थ्यकर्मी हुन्।
आजको विश्वमा मिडवाइफ केवल स्वास्थ्यकर्मी मात्र होइनन्, उनीहरू महिला अधिकारका संरक्षक र सुरक्षित प्रसूति सेवाको मेरुदण्ड हुन्।
मिडवाइफको भूमिका केवल प्रसूति गराउनेसम्म सीमित छैन। किशोरावस्थादेखि गर्भावस्था, प्रसूति र सुत्केरी अवस्थासम्म सुरक्षित, सम्मानजनक, गुणस्तरीय र महिला-केन्द्रित सेवा प्रदान गर्नु उनीहरूको मूल जिम्मेवारी हो। उनीहरू केवल स्वास्थ्यकर्मी होइनन्, उनीहरू आत्मबल हुन्, भरोसा हुन्, र सुरक्षित मातृत्वका आधारस्तम्भ हुन्।
नेपालमा २०७३ सालदेखि मिडवाइफ उत्पादन सुरु भएको झण्डै एक दशक भइसकेको छ। तर आजसम्म पनि मिडवाइफका लागि स्पष्ट संरचना, दरबन्दी र कार्यक्षेत्र सुनिश्चित गरिएको छैन। अहिलेसम्म सरकारी स्थायी दरबन्दीका लागि एक सीट पनि खुलाइएको छैन।
नेपाल सरकारकै ‘नेपाल स्वास्थ्य जनशक्ति रणनीति (२०७७/७८–२०८६/८७)’ अनुसार २०८६/८७ सम्म ६,४१० मिडवाइफ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ। तर हाल केवल करिब १९५ जना मात्र दर्तावाला मिडवाइफ कार्यरत छन्। तिनीहरूलाई समेत यहाँ राम्रो अवसर र रोजगारी सुनिश्चितता नहुँदा धेरै मात्रामा विदेशिने सम्भावना छ। त्यसकारण नयाँ पुस्तामा समेत यो पेशामा आउने आकर्षण कम हुँदै गएको छ। यो अवस्थाले राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव जस्तै देखिन्छ। यस्तो अवस्थालाई मनन गर्दै उपयुक्त कदम चाल्नका लागि माननीयज्यूलाई अनुरोध गर्दछु।
मातृ तथा नवजात मृत्युदरको तथ्यांक झन् चिन्ताजनक छ। नेपालको १६ औं योजनाले मातृ मृत्युदर १५१ बाट ८५ मा र नवजात मृत्युदर २१ बाट १३ मा झार्ने लक्ष्य राखेको छ। तर यथार्थ के छ भने ग्रामीण र दुर्गम क्षेत्रमा, जहाँ सबैभन्दा बढी मृत्यु हुन्छ, त्यहीँ दक्ष मिडवाइफको उपस्थिति छैन। यस्तो अवस्थामा, मन्त्रीज्यू, यी लक्ष्यहरू कत्तिको यथार्थपरक छन्? यी केवल कागजमै सीमित हुने होइनन् र?
मिडवाइफ उत्पादन भएको एक दशक बितिसक्दा पनि दरबन्दी, परिचालन र नीतिको कार्यान्वयनमा देखिएको सुस्तताले सुरक्षित मातृत्वका लक्ष्यहरू अझै चुनौतीपूर्ण अवस्थामा छन्। नयाँ नेपालको संकल्पसहित आएको अहिलेको सरकार र मन्त्रीज्यूबाट ठोस योजना, नीतिसहित दरबन्दी सिर्जनामा यथाशिघ्र अग्रसरता लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौं।
विश्व अनुभवले प्रमाणित गरिसकेको छ—जहाँ मिडवाइफ प्रणाली बलियो हुन्छ, त्यहाँ मातृ तथा नवजात मृत्युदर उल्लेखनीय रूपमा घट्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार दक्ष मिडवाइफमा लगानी गर्दा ८०% भन्दा बढी मातृ तथा नवजात मृत्यु रोक्न सकिन्छ। यस्तो स्पष्ट तथ्य हुँदाहुँदै पनि नेपालमा मिडवाइफ प्रणाली किन प्राथमिकतामा पर्न सकेको छैन? यो एक अहम प्रश्न हो। मातृ तथा नवजात मृत्युदर घटाउने उच्च लक्ष्य भएको हाम्रो देशमा मिडवाइफ प्रणाली बलियो बनाउनुको विकल्प छैन। होइन भने लक्ष्यमा पुग्न असम्भव प्रायः छ।
माननीय मन्त्रीज्यू, हाम्रो देशको उच्च मातृ तथा नवजात शिशु मृत्युदर हुनुको एक प्रमुख कारण दक्ष मिडवाइफ र प्रसूतिकर्मीको अभाव हो। र यो तथ्यांक हाम्रो देशको स्वास्थ्य प्रणालीका लागि ठूलो चुनौती हो।
आजको मुख्य समस्या के हो भने मिडवाइफ उत्पादन भइरहेको छ, तर उनीहरूलाई काम गर्ने उचित स्थान दिइएको छैन। दरबन्दी स्पष्ट छैन, संरचना छैन, र नीति कार्यान्वयन कमजोर छ। फलस्वरूप, दक्ष जनशक्ति अन्य क्षेत्रमा बगिरहेको छ र हजारौं महिलाहरू अझै पनि सुरक्षित र सम्मानजनक सेवा पाउनबाट वञ्चित भइरहेका छन्।
केही अस्पतालहरूमा मिडवाइफद्वारा सञ्चालित सेवा सुरु भएको सकारात्मक संकेत देखिन्छ। तर यसको विस्तार सुस्त छ। योजना धेरै सुनिन्छ, तर कार्यान्वयनमा ढिलासुस्ती स्पष्ट देखिन्छ। यस्तो अवस्था रहिरहँदा नीतिहरू कागजमै सीमित हुने खतरा बढ्दै जान्छ।
सरकारले धेरै नीति, रणनीति र योजना बनाएको छ। तर ती कागजमै सीमित भइरहेका छन् भन्ने गुनासो आम नागरिक मात्र होइन, स्वास्थ्य क्षेत्रभित्रैबाट उठिरहेको छ। अबको आवश्यकता नयाँ नीति बनाउने होइन, पहिले बनेका नीतिहरू कार्यान्वयन गर्ने हो।
यस सन्दर्भमा हामी तपाईं र सरकारसँग केही स्पष्ट अपेक्षा राख्न चाहन्छौं:
- मिडवाइफका लागि स्वतन्त्र र स्पष्ट दरबन्दी सिर्जना गरियोस्।
- देशभरका स्वास्थ्य संस्थामा मिडवाइफ–नेतृत्वको सेवा विस्तार गरियोस्।
- उत्पादन भएका सबै मिडवाइफलाई तत्काल स्वास्थ्य प्रणालीमा समावेश गरियोस्।
- नीति कार्यान्वयनमा देखिएको ढिलासुस्ती अन्त्य गरियोस्।
मिडवाइफको भूमिका केवल सेवा प्रदान गर्नु मात्र होइन, उनीहरूले महिलाको जीवनको सबैभन्दा संवेदनशील क्षणलाई सकारात्मक अनुभवमा रूपान्तरण गर्छन्। प्रसव पीडामा आशा दिने हात, हौसला दिने आवाज, र सुरक्षित जन्म सुनिश्चित गर्ने साथ नै मिडवाइफको पहिचान हो।
स्वयं मिडवाइफको रूपमा, मैले हरेक आमाको पीडा, हरेक नवजातको पहिलो श्वास, र हरेक परिवारको आशा नजिकबाट अनुभव गरेको छु। हामी केवल सेवा दिँदैनौं, एउटी महिलालाई भरोसा, आत्मबल र जीवनको सुरक्षा दिने सारथी बनिदिन्छौं। मिडवाइफबाट सेवा लिएका धेरैले आफूलाई सुरक्षित महसुस गरेको र सेवाप्रति सन्तुष्टि व्यक्त गरेको प्रतिक्रिया हामीले पाएका छौं।
माननीय मन्त्रीज्यू, नेपाल सरकारले धेरै नीति, योजना र रणनीति बनाएको छ। तर ती कार्यान्वयनमा कमजोर देखिएका छन्। अब ती योजनाहरूलाई व्यवहारमा उतार्ने र कार्यान्वयनतर्फ अग्रसर हुने आवश्यकता छ।
अन्त्यमा, मिडवाइफमा लगानी गर्नु भनेको केवल स्वास्थ्य क्षेत्रमा लगानी गर्नु होइन, यो राष्ट्रको भविष्यमा लगानी गर्नु हो। यो केवल पेशागत माग होइन, यो हजारौं महिलाको जीवनसँग जोडिएको विषय हो। “One Million More Midwives” केवल विश्वको सन्देश होइन, यो नेपालका लागि पनि चेतावनी हो।
हामी तयार छौं, सिप, क्षमता र समर्पण लिएर हरेक जन्म सुरक्षित र सकारात्मक बनाउन।
के तपाईँ र सरकार तयार हुनुहुन्छ त हामीलाई स्वास्थ्य प्रणालीमा प्राथमिकता दिँदै हाम्रो हकअधिकार सुनिश्चित गर्न र देशमै बस्ने वातावरण दिलाउन?