काठमाडौं– थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बालरोग उपचार सेवालाई थप विस्तार र सुदृढ गर्दै पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा सञ्चालन गरेको छ।
अस्पतालले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई एकै छानामुनि सम्पूर्ण उपचार सेवा प्रदान गर्न बाल सघन उपचार कक्ष (पीआईसीयु) सहितको सेवा विस्तार गरेको हो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले बालरोगको सम्पूर्ण उपचार सेवा एकै ठाउँबाट दिनेगरी नर्भिकले बाल सघन उपचार कक्ष तथा रोगविशेष बालरोग चिकित्सकसहितका जनशक्ति थप गर्दै पूर्ण बालरोग उपचार सेवा विस्तार गरेको हो।
‘नर्भिकले दक्ष तथा विज्ञ चिकित्सकमार्फत आकस्मिक तथा ओपीडी, बाल सर्जरी सेवा, नवजात तथा बाल सघन उपचार कक्ष सहितको विशिष्टीकृत बाल उपचार सेवालाई विस्तार गरेको छ,’ सीईओ मिश्रले भन्नुभयो।
बालबालिकासँग जोडिएका सबै प्रकारका उपचार सेवा नर्भिकबाटै उपलब्ध हुनेगरी बालरोग उपचार केन्द्रलाई विस्तार गरिएको सीईओ मिश्रले बताउनुभयो।
‘हामीकहाँ नवजात शिशुहरूका लागि एनआईसीयु सहितको सेवा पहिलेदेखि नै थियो। अब सबै उमेरका बालबालिकालाई सम्पूर्ण सेवा प्रदान गर्न अत्याधुनिक उपकरण र प्रविधि भएको पीआईसीयु सहितका सेवाहरू थप गरेका छौं,’ सीईओ मिश्रले भन्नुभयो, ‘बालबालिकाको उपचारका लागि हामीसँग दक्ष र विज्ञ विशेषज्ञ र तालिमप्राप्त नर्सिङ जनशक्ति सहितको पूर्ण बालरोग सेवा उपलब्ध छ।’
नर्भिक अस्पतालमा सामान्य बालरोग सेवादेखि विशेषज्ञ चिकित्सकमार्फत पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजी, पेडियाट्रिक ¥युम्याटोलोजी, पेडियाट्रिक पल्मनोलोजी, पेडियाट्रिक न्युरोलोजी, पेडियाट्रिक हेमाटोलोजी, क्रिटिकल केयर, पेडियाट्रिक अर्थोपेडिक तथा पेडियाट्रिक सर्जरी लगायतका विशिष्टीकृत सेवा सञ्चालनमा रहेका छन्।
यी सेवा प्रदान गर्न अस्पतालमा बालरोग विशेषज्ञ तथा बालरोग बहुविशेषज्ञ चिकित्सक सहित १३ जना चिकित्सक रहेकोमा नवजात शिशु विशेषज्ञसहित ७ जना चिकित्सक पनि थप गरिएको छ।