१) मानसिक स्वास्थ्य समस्या कसलाई हुन्छ? जोसुकैलाई हुन्छ?
जोसुकैलाई हुन सक्छ। महिला र पुरुषलाई बराबरी। धनी, गरिब, पढेलेखेको, जानेको नजानेको सबैलाई बराबरी। धेरैजसो समस्या सुरु हुने उमेर १४ देखि २४ वर्ष हो। एकै कारणले नभई धेरै कारणहरूको मिश्रणबाट समस्या आउने हुन्छ। प्रमुख कारणहरूमा बायोलोजिकल, जेनेटिक कारण, जीवनका कठिन घटनाहरू, लागू पदार्थहरूको दुर्व्यसन आदि पर्दछन्।
२) मानसिक स्वास्थ्य समस्या भएको कसरी थाहा पाउने?
दुई हप्ताभन्दा बढी समयदेखि सोचाई, व्यवहार र मुडमा उल्लेख्य परिवर्तन देखिएमा मानसिक स्वास्थ्य समस्या भएको हुन सक्छ।
सोचाई — दोधार, अत्यधिक डर र चिन्ता, नभएका कुराहरू देख्ने र सुन्ने, अस्वाभाविक विचार र विश्वास आउने।
भावना र मुड परिवर्तन — लगातार दुःखी भइरहने, निराश हुने, इच्छा–चाहना हराउने, मुड स्विङ भइरहने, रिसाउने, सानो कुरामा झर्किने।
व्यवहार — एक्लै बस्ने, कसैसँग खुलेर कुरा नगर्ने, पढाइ वा कामकाज आदिमा देखिने गरी समस्या आउने, बोलीचालीको ढाँचा, हिँडाइ, स्फूर्ति, पहिरन आदिमा देखिने गरी परिवर्तन आउने।
आत्महत्याको विचार आएको वा तयारी गरेको थाहा पाउनेबित्तिकै कडा निगरानीमा राखेर उपचार गर्नुपर्छ।
३) मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिलाई आफूलाई समस्या भएको थाहा हुन्छ?
एकथरी समस्याहरूमा पीडा वा असहजता थाहा हुन्छ, महसुस हुन्छ। जस्तै: एन्जाइटी, पिटीएसडी (PTSD), डिप्रेसन, ओसिडी (OCD), प्यानिक अट्याक आदि, जसलाई 'न्युरोटिक' भनिन्छ। यसमा समस्या भएका व्यक्तिले प्रत्यक्ष महसुस गर्छन् र समाधानका उपायहरू खोजी गर्दछन्। अर्कोथरी समस्याहरूमा बिरामी आफूलाई थाहा हुँदैन तर समस्या अरूले थाहा पाउँछन्। जस्तै: साइकोसिस, बिपिएडी (BPAD), जसलाई 'साइकोटिक' भनिन्छ। यी समस्या भएका बिरामीले आफूलाई थाहा भएर वा ढाँटेर त्यस्तो गरेका हुँदैनन्। ह्यालुसिनेसन र डिलुजन बिरामीका लागि शतप्रतिशत सत्य हुन्छन्।
४) मानसिक स्वास्थ्य समस्यामा काउन्सिलिङले राम्रो गर्छ, औषधि खाइहाल्नु राम्रो होइन, के यो सत्य हो?
मानसिक स्वास्थ्य समस्याको उपचारका लागि औषधि र काउन्सिलिङ उत्कृष्ट छन्। कुन ठीक भन्दा पनि कुन समस्याका लागि के भन्ने महत्त्वपूर्ण छ। कुनै समस्याका लागि काउन्सिलिङले राम्रो गर्छ, कुनैमा गर्दैन। जटिल मानसिक समस्यामा औषधिको भूमिका अतुलनीय हुन्छ। अधिकांश अध्ययनहरूले काउन्सिलिङ र औषधिको कम्बिनेसनको राम्रो नतिजा देखाएका छन्। काउन्सिलिङ र साइकोथेरापीले राम्रो काम गर्छन् किनकि तिनले समस्याको कारणसम्म पुगेर त्यसलाई ठीक पार्न मेहनत गर्छन् र भविष्यमा आउने समस्यासँग जुध्ने सीप सिकाउँछन्, अभ्यास गराउँछन्। मध्यम खालका एन्जाइटी, पिटीएसडी, डिप्रेसन, ओसिडी, प्यानिक अट्याक आदिमा यी बढी लाभदायक हुन्छन्।
औषधिले ब्रेनको रसायनलाई फरक पारेर समस्याको सुधारका लागि काम गर्दछन्। सबै साइकोटिक र कडा खालका न्युरोटिक समस्याको औषधिबाट उपचार अनिवार्य आवश्यक हुन्छ। कुन समस्या छ र के गर्ने भन्ने निर्णय बिरामी र आफन्तहरूले विज्ञको सल्लाहमा लिनु राम्रो हुन्छ। त्यसका लागि सबैभन्दा पहिले समस्याको सही पहिचान महत्त्वपूर्ण छ।
५) मानसिक स्वास्थ्य समस्याको पहिचान कसरी हुन्छ?
विज्ञले मुख्यतया बिरामी तथा बिरामीको नजिकको व्यक्तिसँगको कुराकानी (हिस्ट्री) बाट समस्या पहिचान गर्छन्। सोचाईहरू कस्ता छन्, मन कस्तो छ (खुसी, खिन्न, दुःखी आदि) अनि व्यवहार, काम, खानपान, निद्रा, रुटिन, अरूसँगको सम्बन्ध आदिको बारेमा सोधपुछबाट समस्या पहिचान हुन्छ। अरू शारीरिक समस्याले त्यस्तो भएको छैन भनी निक्र्यौल गर्न आधारभूत टेस्टहरू पनि आवश्यक हुन्छन्। कुनै–कुनै अवस्थामा सिटी स्क्यान वा एमआरआईबाट ब्रेनमा कुनै परिवर्तन वा 'मास' छ कि भनी हेर्नुपर्ने हुन्छ। मूलतः समस्याको पहिचान बिरामी तथा परिवारका सदस्यहरूसँगको कुराकानीबाटै गरिन्छ।
६) मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई झारफुक, धामी, झाँक्री, हेराउने–देखाउने गर्छन्, त्यसले फाइदा गर्छ? किन त्यसो गर्छन् मानिसहरू?
मानसिक स्वास्थ्य समस्या भएकाको संगत गर्ने परिवारका सदस्य, छिमेकी आदिलाई व्यवहार सामान्य लाग्दैन। देवी–देउता, भूत–प्रेत वा अदृश्य शक्तिले त्यस्तो भएको लाग्नु अस्वाभाविक होइन। देखाउने, हेराउने, फुकाउने आदि गर्नाले समस्या समाधानमा काम गर्छ कि गर्दैन भन्ने प्रश्नमा त्यसको कुनै भरपर्दो आधार छैन। उपचारमा ढिला हुने, अनावश्यक खर्च बढ्ने र रोग झन् कडा वा जटिल हुने जोखिम चाहिँ रहन्छ।
७) आफूलाई मानसिक समस्या भएको कुरा बिरामी तथा परिवारका सदस्यले स्वीकार गर्न र खुलेर सहयोग लिन किन अप्ठ्यारो मान्छन्?
पागल भयो भन्ने दाग (Stigma) बाट बच्न। समुदाय, काम गर्ने ठाउँ आदिबाट अपहेलित हुने डर र तिरस्कृत हुने त्रास।
जागिरबाट निकालिने वा बहिष्करणमा परिने त्रास।
भावनात्मक रूपमा अरूले कमजोर ठान्लान्, इज्जत जाला भन्ने डर।
मलाई ठुलो समस्या होइन, सामान्य रूपमा तनाव मात्र हो भनेर आफूले आफैँलाई स्वीकार गर्न मन नलाग्ने।
अपरिचित व्यक्तिसँग समस्या भन्न असहज महसुस गर्ने, अति व्यक्तिगत कुरा भन्न धक लाग्ने।
साइकोटिक समस्याहरूमा आफूलाई समस्या भएको लाग्दै नलाग्ने।
मानसिक स्वास्थ्य समस्या भएको स्वीकार गर्न नसक्दा वा खुलेर सहयोग लिन नसक्दा उचित उपचारमा जान ढिला हुने, दुर्घटनाको जोखिम रहिरहने, बिरामी र परिवारका सदस्य प्रताडित भइरहने र रोग झनै कडा हुने हुन्छ।
-(माधव भुसाल स्टेप्स टु केयर न्युरो साइकियाट्री, ललितपुरमा कार्यरत छन्।)