काठमाडौं- नेपाल मेडिकल काउन्सिलको स्थलगत अनुगमन टोलीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न डेन्टल क्लिनिकहरूमा गम्भीर अनियमितता फेला पारेको छ।
काउन्सिलका सदस्यहरू डा. अस्मिता पोखरेल, डा. सारिका गोइत, डा. निना राई, डा. योविन कुमार यादव तथा विज्ञ सदस्यहरू डा. भुमेश काफ्ले र डा. हरी वली सम्मिलित टोलीले बिहीबार बिहान ११ बजेदेखि रामहिटी–जोरपाटी क्षेत्रमा रहेका चार वटा डेन्टल क्लिनिकहरूको अनुगमन गरेको हो।
अनुगमनमा पदमा स्माईल डेन्टल क्लिनिक, मेन्डु डेन्टल केयर सेन्टर, रामनगर क्लिनिक एण्ड डाइग्नोस्टिक तथा पलाटिनियम डेन्टल क्लिनिक प्रालि समेटिएका थिए।
अनुगमनका क्रममा विशेषगरी मेन्डु डेन्टल केयर सेन्टर र रामनगर क्लिनिक एण्ड डाइग्नोस्टिकमा जनस्वास्थ्यका न्यूनतम मापदण्डसमेत पूरा नगपबdeरेको पाइएको काउन्सिलले जनाएको छ। यी क्लिनिकहरू सम्बन्धित निकायमा दर्ता नभई सञ्चालनमा रहेको, योग्य दन्त चिकित्सक तथा हाइजिनिस्ट बिना सेवा दिइरहेको, तथा अत्यन्तै फोहोर र अस्वस्थकर वातावरणमा उपचार भइरहेको भेटिएको हो।
त्यसैगरी, उपकरणहरूको उचित स्टेरिलाइजेशन नगरेको, बिरामीहरूको अभिलेख नराखिएको र एक्स–रे मेसिनसमेत बिग्रिएको अवस्थामा रहेको तथ्य पनि उजागर भएको छ। मेन्डु डेन्टल केयर सेन्टरमा त झन् कुनै निकायमा दर्ता नभएको व्यक्तिबाट उपचार गराइएको र म्याद सकिएका दन्त सामग्री प्रयोग गरिएको पाइएको छ।
पदमा स्माईल डेन्टल क्लिनिक र पलाटिनियम डेन्टल क्लिनिकमा पनि विभिन्न कमजोरीहरू देखिएका छन्। पदमा स्माईल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको, दुवै क्लिनिकमा नियमित चिकित्सकको अभाव रहेको र दिउँसो २ बजेपछि मात्र चिकित्सक उपलब्ध हुने गरेको पाइएको छ।
यस्तै, सम्बन्धित चिकित्सकसँग औपचारिक सम्झौता पत्र नभएको, चिकित्सकहरूको नामावली सार्वजनिक रूपमा नटाँसिएको तथा नागरिक बडापत्रसमेत प्रदर्शन नगरेको अनुगमन टोलीले जनाएको छ।
अनुगमन टोलीले प्राप्त तथ्यहरूको आधारमा मेन्डु डेन्टल केयर सेन्टर र रामनगर क्लिनिक एण्ड डाइग्नोस्टिकलाई तत्काल बन्द गरी सिल गर्न सम्बन्धित निकायमा सिफारिस गरेको छ।
त्यसैगरी, पदमा स्माईल डेन्टल क्लिनिकलाई तत्काल दर्ता प्रक्रियामा ल्याउन तथा पलाटिनियम डेन्टल क्लिनिकलाई काउन्सिलमा दर्ता भएको दन्त चिकित्सक नियुक्त गर्न निर्देशन दिइएको छ। सबै क्लिनिकहरूलाई चिकित्सकसँग औपचारिक सम्झौता गर्न, नामावली सार्वजनिक गर्न तथा नागरिक बडापत्र अनिवार्य रूपमा प्रदर्शन गर्न पनि भनिएको छ।
काउन्सिलका अनुसार यस्ता लापरबाहीहरूले सर्वसाधारण नागरिकहरूको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिम पुर्याउने भएकाले तत्काल कानुनी दायरामा ल्याउनु आवश्यक देखिएको छ।