काठमाडौं– सरकारले ऐनविपरीत चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा विजयराज न्यौपानेलाई नियुक्त गर्न लागेको छ।
डा न्यौपानेलाई अध्यक्ष नियुक्ती गर्ने सिफारिससहितको फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ। सोमबार बस्ने मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार डा न्यौपानेलाई नियुक्त गर्न सम्भावना रहेको छ।
सरकारले डा न्यौपानेलाई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३ विपरीत अध्यक्ष नियुक्त गर्न लागेको हो। ऐन अनुसार क्यान्सर अस्पतालको अध्यक्ष हुन चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि (एमडी÷एमएस) हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वरिष्ठ चिकित्सक हुनुपर्छ।
यदि क्यान्सरको क्षेत्रमा काम गरेको छैन भने चिकित्साशास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गरी स्वास्थ्य क्षेत्रमा २० वर्ष काम गरेको चिकित्सक हुनुपर्छ।
डा न्यौपाने क्यान्सर अस्पतालमा नै कार्यरत चिकित्सक हुन्। उनले एनेस्थेसियोलोजीमा स्नातकोत्तर गरेका छन्। तर, उनले ऐनमा भएअनुसार एनेस्थोसियोलोजिस्टका रूपमा १५ वर्ष भने काम गरेका छैनन्।
नेपाल मेडिकल काउन्सिलका अनुसार डा न्यौपानेले २०६१ माघ १४ गते (सन् २००५ को जनावरी २७) एनेस्थेसियोलोजिस्टका रूपमा परीक्षा पास गरेका छन्। यो आधारमा हेर्दा डा न्यौपानेले स्नातकोत्तर उपाधि हासिल गरी हालसम्म काम गरेको अवधि १४ वर्ष ३ महिना मात्र हुन्छ। अर्थात् ऐनअनुसार अध्यक्ष हुनका लागि उनीसँग अझै ९ महिना काम गरेको अनुभव हुनुपर्छ।
काउन्सिलमा दर्ता नभई एमडीका रूपमा सेवा प्रवेश
डा न्यौपानले क्यान्सर अस्पतालमा एमडी चिकित्सकको रुपमा २०६० साल साउनमा नियुक्त भएका हुन्। तर, उनी क्यान्सर अस्पतालमा नियुक्ती हुँदा मेडिकल काउन्सिलमा एमडी चिकित्सकको रुपमा दर्ता थिएनन्।
डा न्यौपाने २०६१ माघ १४ गते मात्र काउन्सिलमा एमडी चिकित्सकको रूपमा दर्ता भएका हुन्। उनले करिब ६ महिना नियमविपरीत अस्पतालमा काम शुरु गरेका थिए। काउन्सिलमा दर्ता नभई चिकित्सकीय अभ्यास गर्न पाइँदैन।