धनगढी– सुदूरपश्चिम प्रदेशका व्यवसायीले पशुपक्षी तथा पशुपक्षीजन्य वस्तु आयातका लागि आवश्यक स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्न थालेका छन्।
संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पशुपक्षी तथा पशुपक्षीजन्य सामग्री आयात वा निर्यात गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षणसहितका कागजपत्र पेस गर्न निर्देशन दिएपछि व्यवसायीले प्रमाणपत्र पेस गर्न थालेको जनाइएको छ।
पशु क्वारेन्टाइन कार्यालय, कैलालीका अनुसार पछिल्लो पा“च दिनमा भारतबाट पशुपक्षी तथा पशुपक्षीजन्य वस्तु आयात गरिएका ९ वटा गाडीका लागि प्रमाणपत्र पेस भएका छन्। पशु क्वारेन्टाइन कार्यालयले गत ३ गतेदेखि आइतबारसम्म पशु दानामा प्रयोग हुने सोया–डक÷लेसिथिन र पशु दानाको क्वारेन्टाइन प्रमाणपत्रका लागि पेस भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार के सप्लायर्सको एक, डल्फिन आधुनिक दाना उद्योग लम्कीको दुई र वेस्टर्न फिड प्रालि धनगढीको ६ गरी ९ वटा मालबाहक गाडीलाई गुणस्तरको प्रमाणपत्रको आधारमा परीक्षण गरी छोडिएको छ।
पशु क्वारेन्टाइन कार्यालय, कैलालीले आइतबार पत्रकार सम्मेलन गर्दै “प्रक्रिया पूरा गरेका मालबाहक गाडीहरूलाई नरोकेको” जनाएको छ। ‘गुणस्तरको प्रमाणपत्र सहित आएका कुनै पनि मालबाहक गाडीलाई अनावश्यक ढंगले रोकिएको छैन,’ कार्यालयका चेकपोस्ट प्रमुख तथा पशु क्वारेन्टाइन अधिकृत डाक्टर भरत शाहले भने, ‘हामीले कानुन अनुरुप सेवा प्रवाह गरिरहेका छौं।’ उनले कैलालीको त्रिनगर भन्सार नाकामा रोकिएका गाडीले प्रक्रिया पुरा नगरेको बताए।
पशु क्वारेन्टाइन अधिकृत डाक्टर शाहले भने, ‘व्यवसायीलाई कागजपत्र माग गर्दा भारतबाट पशुपक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध गरियो भनेर गलत प्रचार गरियो। तर, आयातकर्ताले आवश्यक कागजपत्र पेस नगरेका कारण समस्या भोगिरहेका छन्।
कार्यालयका अनुसार त्रिनगर भन्सार नाकामा अहिले दुई वटा कम्पनीका मालबाहक गाडीले पशुपक्षी तथा पशुपक्षीजन्य सामग्री भित्र्याउन पाएका छैनन्। गुणस्तर प्रमाणपत्र माग गर्दा ल्याउन नमानेका कारण ती गाडी त्यहीं रोकिएको जनाइएको छ। पशु क्वारेन्टाइन कार्यालय, कैलालीका अनुसार विवेक फिड र नवीन प्यालेट दाना उद्योगले आवश्यक प्रमाणपत्र ल्याउनुभन्दा पनि प्रमाणपत्र बिना नै आयात गर्न खोजिरहेको छ।
यसैबीच, शनिबार कैलाली उद्योग वाणिज्य संघको टोलीले पशु क्वारेन्टाइन कार्यालयमा तालाबन्दी गरेका थिए। व्यवसायीले पशुपक्षी आयातमा क्वारेन्टाइन कार्यालयले अनावश्यक ढंगले दुःख दिन लागेको भन्दै तालाबन्दी गरेका थिए। व्यवसायीहरूले तालाबन्दी गरेपछि प्रहरीले बल प्रयोग गरेर ताला खोेलेको थियो।
पशुपक्षी तथा पशुपक्षीजन्य वस्तु आयात गर्दा संक्रामक रोग समेत भित्रिने तथा सर्ने जोखिम हुने भएकाले ऐनको प्रभावकारी कार्यान्वयन गरिएको पशु क्वारेन्टाइन अधिकृत डाक्टर शाहले बताए।
भारतबाट धनगढीको त्रिनगर भन्सार नाका हु“दै गाईगोरु, खसी, बोका, घोडा, खच्चर, झुपु, झुमा, बंगुर, सु“गुर, खरायो, अंगोरा, माछा तथा माछाका भुरा, पिना, मकै, चना (दाना), भटमास, राइसब्रान, फिड सप्लिमेन्ट लगायतका वस्तु आयात हुने गरेको पशु क्वारेन्टाइन कार्यालयको तथ्यांकमा उल्लेख छ।
चालू आर्थिक वर्ष २०७५÷०७६ को पहिलो आठ महिनामा भारतबाट माछा एक सय ३६ दशमलव नौ मेट्रिक टन, भटमासको पिना सात हजार नौ सय सात दशमलव ६८ मेट्रिक टन, मकै पा“च हजार चार सय ८८ दशमलव ४८ मेट्रिक टन तथा एनिमल फिड सप्लिमेन्ट तीन सय १३ दशमलव नौ मेट्रिक टन आयात भएको छ।
त्यस्तै, यो अवधिमा भारतबाट राइस ब्रान एक सय ७२ दशमलव ५२ मेट्रिक टन, फिस फिड ९० दशमलव ६६ मेट्रिक टन तथा चना एक सय ५४ दशमलव पा“च मेट्रिक टन आयात भएको क्वारेन्टाइन कार्यालयको तथ्यांकमा उल्लेख छ।
भारतबाट पशुजन्य वस्तु आयात गर्दा स्वास्थ्य परीक्षणसहितको कागजपत्र बनाउन दिल्ली पुग्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ। भारतमा ६ र नेपालमा ८ वटा वटा पशु क्वारेन्टाइन कार्यालय रहेका छन्।