काठमाडौं- त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो थोरासिक, भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा डा उत्तमकृष्ण श्रेष्ठ दोहोरिएका छन्।
हालै ४ वर्षे कार्यकाल पुरा गरेका उनलाई अर्को ४ वर्षका लागि निर्देशकको जिम्मेवारी दिइएको हो।
अस्पतालको निर्देशकमा लागातार दुई कार्यकाल निर्देशकको जिम्मेवारी पाउने उनी पहिलो व्यक्ति हुन्। मनमोहन सेन्टरको विकास र विस्तारमा उनको भुमिका महत्वपूर्ण रहेको भन्दै उनलाई पुनः निर्देशकमा नियुक्त गरिएको हो।
त्रिवि र आइओएमले आफूमाथि गरेको विश्वासमा खरो उत्रने उनले बताए। ‘अघिल्लो कार्यकालमा मैले सक्दो मिहेनत गरेको थिएँ,’ उनले भने, ‘अहिले फेरि जिम्मेवारी दिइएको छ। मेरो तर्फबाट यसलाई थप उचाईमा पुर्याउन सक्दो प्रयास गर्नेछु।’