काठमाडौं– स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संगठनहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुनः समायोजन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्।
समायोजन ऐन र स्वास्थ्य सेवा ऐनको मर्म र मापदण्डविपरीत कर्मचारीको समायोजन गरिएको भन्दै स्वास्थ्यका ट्रेड युनियन र संगठनहरुले विधि र प्रक्रियाबाट पुनः समायोजन गर्न सरकारको ध्यानकर्षण गराएका हुन्।
नेपाल स्वास्थ्यकर्मी संघका तर्फबाट अध्यक्ष रामजी घिमिरे, राष्ट्रिय स्वस्थ्यकर्मी संघ, नेपालका तर्फबाट अध्यक्ष भक्तिमान सुब्बा, मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर यादव, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका अध्यक्ष चित्रजंग शाही, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरिबहादुर कुँवर, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका क्षेत्रराज कार्की, नेपाल स्वास्थ्यकर्मी युनियनका वरिष्ठ उपाध्यक्ष नानीमैंया दहाल, र नेपाल नर्सिङ संघका तर्फबाट लक्ष्मी केसीले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
संगठनहरुले ऐनको भावनाविपरीत समायोजन गरिएको, स्वास्थ्य सेवाको छुट्टै सफ्टवेयर निर्माण नगरी समायोजन गरिएको, आवेदनका लागि पर्याप्त समय नदिइएको, अन्तिम सूची प्रकाशित नगरी समायोजन गरिएको, दरबन्दी यकिन नगरी समायोजन गरिएकोजस्ता त्रुटि औल्याएका छन्।
त्यसैगरी श्रीमान्श्रीमती, अवकाश हुनै लागेको, गम्भीर प्रकृतिका बिरामी, बसोबास स्थानदेखि सुत्केरी गर्भवतीसमेत ख्याल नगरी समायोजन गरिएकोले पनि सच्याउनुपर्ने माग उनीहरुको छ। यस्ता त्रुटिका कारण समग्र स्वास्थ्य सेवा प्रभावित हुने, स्वास्थ्य क्षेत्रबाट प्राप्त गरेको उपलब्धिसमेत गुम्ने खतरा भई स्वास्थ्य सेवा प्रवाह गर्नै समस्या देखिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
यदि स्वास्थ्यकर्मीलाई जबरजस्ती समायोजन गरेमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी उनीहरुले दिएका छन्।
